२०८१, ८ बैशाख शनिबार

सरकारमा जाने मन्त्रीका लागि काँग्रेसमा १३ बुँदे आचारसंहिता

सुर्खेत । नेपाल काँग्रेस कर्णाली प्रदेशसभा दलले प्रदेश सरकारमा जाने मन्त्रीहरुको लागि आचारसंहिता बनाएको छ । सरकारमा सहभागि हुने औपचारिक निर्णय गरे संगै सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढा क्षेत्री र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई पठाउने सिफारिस गरेको छ ।

काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना महामारी नियन्त्रण गर्न, नागरिकका दैनिक जिवीकासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरु सम्बोधन गर्न, सुखी, समृद्ध र सम्मुनत कर्णालीको निर्माणका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सहभागी हुने निर्णय भएको बताए ।

१३ बुँदे आचारसंहितामा भ्रष्टाचारमा शून्य सहनशिलताको नीतिलाई अवलम्वन गर्ने, आर्थिक अनुशासन, स्वच्छता, मितव्ययिता, शादा जीवनशैली अपनाउने उल्लेख छ ।

यस्तै सरकारमा सहभागीहरुले दान, उपहार, पुरस्कार, चन्दावानिजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइने उल्लेख छ । यस्तै मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यवसायिक साझेदार, सहयोगी बन्न तथा व्यवसाय गर्दा गर्न पनि कांग्रेसले प्रतिवन्ध लगाएको छ ।

सरकारमा सहभागी हुने मन्त्रीहरुले नागरिकहरु प्रति समान व्यवहार गर्नुपर्ने उल्लेख छ । ‘कसैको स्वाभिमान र अस्तित्वमाथि खलल हुने कुनै पनि कार्यलाई निरुत्साहित गर्नुपर्ने छ,’ आचारसंहितामा भनिएको छ, ‘कानुनले बर्जित गरेका कुनै पनिआचरण विपरित हुने कार्यहरु गर्न पाइने छैन ।’ एमालेले समर्थन फिर्ता लिँदा माओवादी नेतृत्वको सरकारलाई साथ दिएको काँग्रेस झण्डै डेढ महिना पनि सरकारमा जान लागेको हो ।

४० सदस्यीय प्रदेश सभामा पाँच सांसद निलम्बनमा परे संगै हाल ३५ सांसद छन् । जसमा काँग्रेसका ६ र मामओवादीमा १२ जना सांसद रहेका छन् । यस्तै एमालेका सभामुख सहित १६ जना सांसद रहेका छन् । यस अघि पार्टीको ह्रवीप उल्लंघन गरेको भन्दै एमालेका चार र माओवादीका एक जना सांसदको पद गइसकेको छ ।