२०८१, ३० आश्विन बुधबार

कर्णाली सरकारमा काँग्रेसको इन्ट्री, बिसीलाई सामाजिक र श्रेष्ठ जलस्रोत मन्त्रालयको जिम्मेवारी

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेस जाने भएको छ । काँग्रेसले दुई मन्त्रालयको जिम्मेवारी सहित सरकारमा जाने निर्णय गरेको हो । काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सरकारमा सहभागि हुने निर्णय गरेको हो ।

यस अघि बिहीबारको बैठकले नै काँग्रेसले आफ्नो तर्फबाट सरकारमा सहभागी हुने दुई मन्त्रीको नाम सिफारिस गरिसकेको छ । संसदीय दलका नेता जीवनबहादुर शाहीका अनुसार सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठको नाम सिफारिस गरिएको छ ।

जुम्लाका सांसद दीनबन्धु श्रेष्ठले आइतबारदेखि आफूहरू सरकारमा सहभागी हुने बताइसकेका छन् । ‘विभिन्न कामहरूले गर्दा सरकारमा सहभागी हुन ढिलाई भइरहेको थियो । आज दलको बैठकबाट हामीले आधिकारिक रूपमा सरकारमा सहभागी हुने निर्णय गरेका छौं ’, उनी भन्छन्, ‘बजेट, नीति तथा कार्यक्रम तयारी गर्नुपर्ने अवस्था आएकाले तत्काल सरकारमा सहभागी हुने निर्णय गरेका हौँ ।’ काँग्रेसले आधिकारीक निर्णय गरे संगै प्रदेश सरकारको मन्त्रीमा नियुक्त गर्ने छ । मन्त्रीमा नियुक्त भए पछि आइतबार सपथ ग्रहण हुने बताइएको छ ।

कर्णाली प्रदेशसभामा काँग्रेसका ६ जना सांसदहरु रहेका छन् । यस अघि एमाले र माओवादी मिलेर बनेको नेकपाले पूर्ण बहुमतमा चलाएको सरकार नेकपा फुट्दा काँग्रेसले माओवादीलाई समर्थन गर्दै सरकारमा जाने मौका पाएको हो । हाल ३५ सदस्य रहेको प्रदेश सभामा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् ।

यस अघि माओवादीका १३ र एमालेका सभामुख सहित २० जना सांसद थिए । तर एमाले माओवादी भित्रको विवादका कारण माओवादीका एक र एमालेका चार जना सांसद निरम्बनमा परिसकेका छन् । विशेष गरी एमालेमा माधव कुमार नेपाल पक्ष र प्रधानमन्त्री ओली पक्ष बिच चरम विवाद छ । सोहि विवादका कारण यस अघि बैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सांसदमा विश्वासको मत माग्दा एमालेको फ्रोर क्रस गरेर चार जना सांसदले मुख्यमन्त्री शाहीलाई मतदान गरेका थिए । त्यसपछि शाही नेतृत्वको सरकार जोगिएको थियो । हाल एमालेका फ्रोरक्रस गर्ने मध्ये तिन जना मन्त्री भइसकेका छन् ।