२०७८, ३१ जेष्ठ सोमबार

बजेट अधिवेशनको तयारी गर्दै प्रदेश सरकार, एक साता भित्र संसद बैठक बस्ने

सुर्खेत । कर्णाली प्रदेश सरकार बजेट (आठौँ) अधिवेशनको तयारीमा लागेको छ । हिँउदे अधिवेशनमा केहि बैठक बसी कोरोनाका कारण रोकिएको संसद बैठक पुनः सुरु गर्ने तयारी गरेको हो ।

संविधानतह प्रदेश सरकारले असार एक गते बजेट, नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्नुपर्छ । बजेट ल्याउनुपूर्व एक महिना अगाडी नै प्रि–बजेट छलफल गर्नुपर्ने संवैधानिक प्रावधान छ । तर कोरोनाका कारण प्रि–बजेट छलफल सुरु हुन नसके पनि बजेट, नीति तथा कार्यक्रम संसदबाट ल्याउने प्रदेश सरकारको तयारी छ ।

प्रदेश सरकारकी प्रवक्ता एवम् आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्री सिता नेपालीले अबको केहि दिनमै बजेट अधिवेशन सुरु हुने बताइन् । ‘बजेट अधिवेशनको तयारी भइरहेको छ,’ उनले भनिन, ‘यहि दिन बैठक भनेर निर्णय भइसकेको छैन, तर बजेट संसदबाटै आउँछ ।’ साथै प्रवक्ता नेपालीले कोरोना भाइरसको जोखिमका कारण प्रि–बजेट छलफल गर्न नसकिएको समेत बताइन् । ‘परिस्थिति सहज नहुँदा बैठक हाल सम्म बस्न सकेन,’ उनले भनिन ।

यता प्रदेशसभाको बजेट अधिवेशन बोलाउने बिषयमा बिहीबार सर्बदलिय छलफल समेत भएको छ । छलफलमा सहभागि नेताहरुले प्रदेश सरकारलाई तत्काल अधिवेशन आह्वान गर्न अनुरोध गरेका छन् । सभामुख राजबहादुर शाहीको संयोजकत्वमा बसेको बैठकले अधिवेशन अविलम्ब बोलाउन प्रदेश सरकारलाई आग्रह गरेको प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले बताए ।

बैठकमा सहभागी दलका नेताहरुले असार १ गतेभित्र प्रदेश सरकारले बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था रहको भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अविलम्ब अधिवेशन बोलाउन आग्रह गरेका थिए ।

दलहरुको आग्रहपछि मुख्यमन्त्री शाहीले छिटै अधिवेशन बोलाउने बताएका थिए । आगामि आर्थिक बर्ष २०७८÷०७९ को लागि प्रदेश सरकारले करिव ३० अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक बर्षका ३३ अर्ब बढिको बजेट ल्याएको प्रदेश सरकारले यो बर्ष केहि कम बजेट ल्याउने बताएको छ ।

सम्बन्धित समाचार