२०८१, १४ बैशाख शुक्रबार

सिपिएलमा सन्दीपले नयाँ टिम नाइट राइडर्सबाट खेल्ने

काठमाडौँ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२१ मा नयाँ क्लव ट्रीनबेगो नाइट राइडर्सबाट खेल्ने भएका छन् । सिपिएलले नेपाली युवा स्टार सन्दीपले साविक विजेता काइरन पोलार्डको कप्तानीमा रहेको नाइट राइडर्सबाट खेल्ने जानकारी दिएको छ । गतवर्ष प्रतियोगिता अवधिभर अपराजित रहँदै नाइट राइडर्सले उपाधि जितेको थियो ।

सन्दीपलाई जमैका तलावाजले टोलीबाट फुकुवा गरेको छ । गतवर्ष सन्दीपले जमैकाबाट सिपिएल खेल्दै ११ खेलमा १२ विकेट लिएका थिए । सन्दीपलाई अक्सनमा जमैकाले गतवर्ष ९० हजार अमेरिकी डलर अर्थात एक करोड ८ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो ।

जमैकाले २०२१ को लागि टोलीमा अलराउन्डर आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तीव्र गतिका बलर फिडेल एडवार्ड्स, विकेटकिपर चाडविक वाल्टन, स्पिनर वीरस्वामी पेर्माउल र अमेरिकी स्पिनर रयान पर्सौदलाई टोलीमा अनुबन्ध गर्दा अन्यलाई फुकुवा गरेको थियो । सन्दीप पनि फुकुवा सुचिमा परेका थिए ।

नाइट राइडर्समा कप्तान पोलार्ड सहित सुनिल नारायण, ड्वेन ब्राभो, कोलिन मुनरो, ड्वेन ब्राभो, अली खान, सिकन्दर राजा लगायतका खेलाडी छन् । ड्राफ्ट आगमी बुधबार हुने बताइएको छ । सिपिएल २०२१ आगमी अगष्ट २८ देखि १९ सेप्टेम्बर १९ सम्म सेन्ट किट्स एण्ड नर्भिसमा हुने छ ।