कोरोना भाइरसको नयाँ भेरिअन्ट कस्तो र कति चिन्ताजनक हो ?
काठमाडौँ । नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्गलवार नयाँ भेरिअन्ट पुष्टि गरेको हो । मन्त्रालयका अनुसार भारतको एउटा प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा बी.१.६१७.२ भेरिअन्ट र बी.१.६१७.१ भेरिअन्ट पुष्टि भएको हो । हालसम्म नेपालमा यो परिवर्तित भाइरससहित तीन किसिमका भेरिअन्ट पुष्टि भएको मन्त्रालयद्वारा मङ्गलवार साँझ जारी विज्ञप्तिमा उल्लेख छ । विश्व स्वास्थ्य सङ्गठनले मे महिनामा त्यसलाई भेरिअन्ट अफ ग्लोबल कन्सर्न भनेर वर्गीकरण गरेको थियो । अरू भेरिअन्टको तुलनामा बी.१.६१७ को उत्परिवर्तन अझ सजिलै हुने प्रारम्भिक अध्ययनहरूबाट देखिएको र त्यसबारे थप अध्ययन आवश्यक रहेको मे ११ तारिखमा डब्ल्यूएचओले भनेको थियो ।
यो कस्तो भेरिअन्ट हो ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत वर्षको अक्टोबर महिनामा भारतमा पहिलो पटक बी.१.६१७ भेरिअन्ट पुष्टि भएको थियो डब्ल्यूएचओले मे १२ तारिखमा जनाएअनुसार त्यो दिनसम्म ४४ वटा देशमा उक्त भेरिअन्ट देखिएको थियो ।
भारतसँग खुला सिमाना रहेको नेपालमा पछिल्लो समय तीव्र गतिमा सङ्क्रमण बढ्न थालेपछि भारतमै देखिएको भेरिअन्ट भएको अमेरिकाको मिनसोटा राज्यस्थित एउटा चिकित्सा अध्ययन संस्थान तथा मेयो क्लिनिकमा कार्यरत भाइरोलोजिस्ट डा. सुदीप खड्काले बुधवार टेलिफोनमा जानकारी दिएको विविसीमा समाचार प्रकाशित छ । नेपालमा पूरै जिनोम सिक्वेन्सिङ गर्न सक्ने अवस्था नभएका कारण पुष्टि हुन समय लागेको उनी बताउँछन् ।
उक्त भेरिअन्टको प्रकृतिबारे डा. खड्काले थपे, “यो मानव शरीरमा अलि धेरै सङ्क्रामक हुनसक्छ र एन्टिबडी विकास भइसकेका मान्छेमा पनि एन्टिबडीले अलिकति कम काम गर्छ भन्ने देखिएको छ।“ “तर वास्तवमै यसको के कति प्रभाव छ भन्ने कुराको निर्क्योल हुन अझ बाँकी नै छ ।’
कुन उमेर समूहलाई बढी प्रभाव पार्छ ?
नेपालमा मङ्गलवार पुष्टि भएको नयाँ भाइरस सबै उमेर समूहमा धेरै सङ्क्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरूबाट पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि नेपालमा अझै पर्याप्त परीक्षण नगरिएकोले ठोकुवा गरेर भन्न गाह्रो हुने भाइरोलोजिस्ट खड्का बताउँछन् । “तर अहिलेसम्म यो भाइरसले सङ्क्रमित बनाएको उमेर समूहलाई हेर्दा १८ देखि ५० वर्षसम्मको समाजमा जुन चलायमान उमेर समूह छ सङ्ख्यात्मक रूपमा त्यही बढी सङ्क्रमित भएको देखिन्छ। तर मृत्यु चाहिँ ६० वर्षमाथि बढी छ ।’
के यो बढी सङ्क्रामक छ ?
यूकेमा पनि अहिले सङ्क्रमण फैलिनुका एक प्रमुख कारण यो भेरिअन्ट रहेको बताउँदै त्यहाँको सरकारले यो यूके भेरिअन्टभन्दा सजिलै सङ्क्रमण फैलिने देखिएको बताएको छ । यूके सरकारको वैज्ञानिक सल्लाहकारहरूले ’आफूहरू यूके भेरिअन्टभन्दा यो बढी सङ्क्रामक भएकोमा विश्वस्त रहेको र यसको सङ्क्रमणदर ५० प्रतिशतसम्म बढी हुन सक्ने’ बताएको छ । तर यो विषयमा निश्चित रूपमा भन्न सकिने अवस्था नरहेको ती वैज्ञानिकहरूले बताएका छन् ।
यो भेरिअन्टमाथि खोपले काम गर्छ ?
यो कुरा थाहा पाउने अझै समय भइसकेको छैन। यो भेरिअन्टलाई खोपले काम नगरेको भन्ने विषयमा तथ्याङ्कहरू उपलब्ध छैन। दक्षिण अफ्रिकी भेरिअन्टका सम्बन्धमा सुरुमा अनुमान गरिए भन्दा खोप बढी प्रभावकारी देखिएको छ ।
रोकथाम तथा नियन्त्रणका लागि के गर्ने ?
रोकथाम तथा नियन्त्रणका लागि परीक्षण बढाउनुका साथै खोप अभियानमा तीव्रता दिनुको विकल्प नरहेको भाइरोलोजिस्ट डा. खड्का बताउँछन् । ‘त्यसका साथै सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने लगायत जनस्वास्थ्यका जेजति मापदण्ड सुन्दै आएका छौँ त्यसलाई सबैले निरन्तरता दिनुपर्ने हुन्छ ।’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेल पनि सावधानी अपनाउनुको विकल्प देख्दैनन् । ‘जुनसुकै भेरिअन्ट भए पनि सबैभन्दा मुख्य कुरा जनस्वास्थ्यका मापदण्डको पालनामा सबैजना चनाखो सचेत र सजग हुनुपर्ने हुन्छ ।’ “यो भेरिअन्ट हकमा अब हामीले थप सतर्कता र होशियारी अपनाउनुपर्ने स्पष्ट भएको छ,“ उनले थपे। सङ्क्रमण रोकथाम तथा नियन्त्रणको प्रयासमा हाल देशका सबैजसो जिल्लामा निषेधाज्ञा लागु छ । (विविसिको सहयोगमा)

