२०८३, १८ असार बिहीबार

कर्णालीमा सक्रिय संक्रमितको संख्या साढे ५ हजार पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ४ सय ९८ पुगेको छ । यो संख्या दिन प्रतिदिन बढिरहेको छ । ति मध्ये अधिकांश होम आइसोलेसन सेन्टरमा रहेका छन् । तथ्याङ्क अनुसार ५ हजार ५७ जना संक्रमित होम आइसोलेसन सेन्टरमा रहेका छन् भने ४ सय ४१ जना संक्रमित मध्ये सरकारी क्षेत्रले निर्माण गरिएका कोभिड आइसोलेसन सेन्टर, अस्पतालहरुमा रहेका छन् ।

कर्णाली प्रदेशका सबै भन्दा ठूला अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बिरामीको चाप अत्याधिक छ भने अन्य अस्पतालहरुमा त्यो संख्या केहि कम रहेको छ । जिल्ला अस्पतालहरु पनि संक्रमितले भरिने अवस्थामा पुगेका छन् । तर स्थानीय तहले निर्माण गरिएका आइसोलेसन कक्षमा भने न्यून मात्रामा संक्रमितहरु रहेका छन् । त्यो भन्दा धेरैजसो बिरामीहरु घरमै बसेका छन् ।

थप ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कर्णालीमा थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतका ४, सल्यान, कालिकोट र दैलेखका एक÷एक जना रहेका छन् । यो संगै कुल संक्रमित मध्ये हाल सम्म एक सय ४९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप तिन सय ४९ जना संक्रमित उपचार पछि निको भएका छन् ।

यो संगै संक्रमित मध्ये निको हुनेको संख्या १० हजार २ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट गरिएको परिक्षणमा ३ सय ३५ र एन्टिजेन विधिबाट ९२ जनामा संक्रमण पुष्टी भएको छ । यो संगै कर्णाली प्रदेशमा पिसिआर विधिबाट गरिएको परिक्षणमा कुल १३ हजार २ सय ६५ पुगेको छ । भने एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ३ हजार ४ सय ८० पुगेको छ ।