आफ्ना नेताहरुलाई तत्काल रिहा गर्न नेमकिपाको माग
सुर्खेत । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पक्राउ परेका आफ्ना नेताहरुलाई बिना सर्त रिहाईको माग गरेको छ । मालपोत कार्यालय सुर्खेतमा जनताका काममा ढिलासुस्तीको बिषयमा खबरदारी गर्दा नेताहरुलाई पक्राउ गरिएको भन्दै तत्काल रिहाईको माग गरेको हो ।
मालपोतमा खवरदारी गर्ने क्रममा नेमकिपा सुर्खेतका कोषाध्यक्ष गोविन्दनाथ योगी, सदस्य गशेण खड्का, यामनाथ योगी र सिर्जु शाहीलाई प्रमुख जिल्ला अधिकारीको ठाडो आदेशमा गिरप्तार गरी पक्राउ पुर्जी थमाई अभद्र व्यवहारको मुद्दा चलाइएको प्रति नेमकिपाले खेद व्यक्त गरेको छ ।
‘विगतका केहि घटनाहरुको प्रतिशोध लिन झुटो मुद्दा लगाएर आफ्ना कार्यकर्ता फसाउन खोज्ने प्रवृतिको पार्टीले घोर मत्र्सना गर्दछ,’ विज्ञप्तीमा भनिएको छ । रिहा नगरे पार्टीले कडा आन्दोलनमा उर्तिन बाध्य हुने नेपाल मजदुर किसान पार्टीका जिल्ला सचिव धकेन्द्र वि.क.ले बताए ।
नेताहरु पक्राउ गरेर मुद्दा चलाईएको विरोधमा मंगलबार जुलुस प्रदर्शन समेत गरिएको छ । विरोध प्रर्दशनमा नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले प्रमुख जिल्ला अधिकारीले आफ्नो गतिविधि नसुधारे जनतासंगै माफी माग्नुपर्ने दिन आउन सक्ने बताए । जनताको काम भएन भनेर आवाज उठाउँदा पक्राउ गरेर मुद्दा चलाउने तर अपराधीहरु सडकमा खुलेआम हिँड्दा पनि केहि नगर्नु कसैले संरक्षण गरेको प्रष्ट देखिने बताए ।