२०८१, ३० कार्तिक शुक्रबार

न्यायालयमा त्रासको अवस्था सिर्जना हुने गरेको न्यायाधीश गुनासो

सुर्खेत । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायलयमा पनि त्रासको अवस्था सिर्जना हुने गरेको बताएका छन् । अदालतमा कुनै मुद्दा आउँदा आफुहरु माथीनै त्रासको अवस्था सिर्जना हुने गरेको गुनासो गरेका हुन् । मुद्दा संगै आउने विरोध जुलुस, राजनीतिक रुपमा हुने दवावका कारण त्रासको स्थिति आउने गरेको बताए ।

‘अदालतमा आफुहरु कुनै मुद्दा हेर्दै गर्दा बाहिर त्यसको पक्ष र विपक्षमा जुलुस प्रदर्शन भइरहेको हुन्छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा आफुहरु कानुन हेर्ने की जुलुस ?’ न्यायपालिकामा हुन सक्ने विकृति, विसंङगति र अनियमितता तथा विचौलियाबाट हुनसक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने प्रभावकारी उपायहरुको सम्बन्धमा विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गर्न गठित समितिका संयोजक समेत रहेका कार्कीले न्यायलयलाई प्रभावित पार्ने कुनै पनि खालका गतिविधिहरु नगर्न सबैलाई आग्रह गरे ।

समितिको प्रतिवेदन तयार पार्ने क्रममा सल्लाह सुझाव लिन सुर्खेत आएका ध्यायाधीश कार्कीले नागरिक स्तरबाट आउने सल्लाह, सुझावलाई ध्यानमा राखेर प्रतिवेदन तयार पार्ने बताए । देशै भरका विभिन्न क्षेत्रमा रहेका नागरिकहरुको सुझावलाई ध्यानमा राखेर आफुहरुले तयार पर्ने प्रतिवेदनले न्यायलयलाई सुद्धिकरण गर्न मदत गर्ने बताए ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाबारे आफूले बोल्न नमिल्ने प्रतिक्रया दिएका न्यायाधीश कार्कीले अदालत संविधानको व्याख्याता भएको बताए । न्यायाधीश कार्कीले भने, ‘अदालत संविधानको व्याख्याता मात्र हो । हाम्रो संविधानमा सबै क्लियर छ । क्लियर नभएको हकमा अन्यत्रको अभ्यासलाई आधार बनाएर फैसला हुनसक्छ ।

यसको मतलब संविधानमा लेखिएका बाहेक शब्द थप्ने र हटाउने काम अदालतले गर्दैन टेक्ने काम मात्र गर्छ ।’ न्यायालयलाई प्रभावित गर्नेतर्फ नभई सचेतना दिने काम गर्न र न्याय दिलाउन आवश्यक सल्लाह दिन न्यायाधीश कार्कीले आग्रह गरे ।