२०८१, ३० कार्तिक शुक्रबार

अख्तियारमा ६ महिनामा ४ सय ३० उजुरी दर्ता

सुर्खेत । चालु आर्थिक बर्षको ६ महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा ४ सय ३० वटा उजुरी दर्ता भएका छन् । अख्तियारले सार्वजनिक गरेको पुस मसान्त सम्मको अर्धवार्षिक प्रतिवेदनमा प्रदेश स्थानीय तथा संघ सरकार संग सम्बन्धीत गरी ८ सय ९७ वटा उजुरी दर्ता छन् । ती मध्ये ४ सय ६७ गत आर्थिक बर्षबाट जिम्मेवारी सरेर आएका हुन भने ४ सय ३० चालु आर्थिक बर्षमा थपिएका हुन । जसमा १ सय ९६ वटा उजुरी फछर्यौट भएका छन् भने ७ सय १ वटा उजुरी फछर्यौट हुन बाँकी रहेका छन् ।

आयोगमा सबै भन्दा बढि स्थानीय तहका उजुरी परेका छन् । जनताको घर नजिकको सरकारको रुपमा हेरिदै आएको स्थानीय सरकारका विरुद्धमा भ्रष्टाचार गरेको भन्दै अत्याधिक मात्रामा उजुरी दर्ता भएका हुन ।

कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पुस मसान्त सम्म स्थानीय तह संग सम्बन्धित ४ सय ६३ वटा उजुरी दर्ता भएका छन् । ती मध्ये जम्मा ९८ वटा फछर्यौट भएका छन् भने ३ सय ५६ वटा मुद्धा फछर्यौट हुन बाँकी रहेका छन् ।

जसमा सुर्खेतको भेरीगंगा नगरपालिकाका सबै भन्दा बढि २८ वटा उजुरी रहेका छन् । भने वीरेन्द्रनगर नगरपालिकाका २३ र दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका १९, मुगुको सोरु गाउँपालिकामा १६ वटा, दैलेखको भैरवी गाउँपालिकामा १३ वटा उजुरी दर्ता भएका छन् । ती संगै कर्णालीका अधिकांश स्थानीय तहका उजुरी दर्ता भएका छन् ।

प्रत्येक बर्ष स्थानीय तहका उजुरीहरु बढ्दै गएको अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख नारायण प्रसाद रिसालले शिक्षा, स्वास्थ्य तथा निर्माण संग सम्बन्धित उजुरीहरु धेरै दर्ता भएको जानकारी दिए ।

जिल्लागत तथ्याङ्क अनुसार सुर्खेतमा १ सय ८३ वटा उजुरी दर्ता भएका छन् भने ५१ वटा फछर्यौट र १ सय ३२ वटा बाँकी रहेका छन् । यस्तै दैलेखमा १ सय ६० उजुरु दर्ता हुँदा ३५ फछर्यौट र १ सय २५ वटा बाँकी रहेका छन् ।

कालिकोटमा १ सय ७ दर्ता २२ फछर्यौट ८५ बाँकी, जाजरकोटमा ९३ दर्ता, १८ फछर्यौट ७५ बाँकी, हुम्लामा ७४ उजुरी दर्ता, ११ फछर्यौट ६३ बाँकी, मुगुमा ६६ उजुरी दर्ता, ७ वटा फछर्यौट ५९ बाँकी, जुम्लामा ६५ उजुरी दर्ता, ९ वटा फछ्र्यौट ५६ बाँकी, सल्यानमा ५८ उजुरी दर्ता, १३ फछर्यौट ४५ बाँकी, रुकुम पश्चिममा ४६ दर्ता १९ फछर्यौट २७ बाँकी र डोल्पामा ४५ उजुरी दर्ता ११ फछर्यौट र ३४ बाँकी रहेका छन् । अख्तियारमा प्रदेश सरकारका २ सय २७ वटा उजुरी दर्ता भएका छन् । ती मध्ये ५३ वटा फछर्यौट भएका छन् भने १ सय ७४ वटा मुद्दा फछर्यौट हुन बाँकी रहेका छन् ।