२०८१, १८ बैशाख मंगलवार

चामुण्डाविन्द्रासैनीमा नागरिक आरोग्य केन्द्र उद्घाटन

चामुण्डा (दैलेख) । स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनका लागि चामुण्डाविन्द्रासैनी नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन भएको छ । आईतबार एक कार्यक्रमका बीच चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाही र प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले संयुक्तरुपमा आरोग्य सेवा केन्द्रको उद्घाटन गरेको हुन ।

नगरमै आरोग्य सेवा केन्द्र स्थापना भएपछि अब स्थानीयले सेवा लिन जिल्ला सदरमुकाम धाउन नपर्ने भएको छ । नगरपालिकामा सेवा संचालनका लागि पहल गर्ने सबैप्रति चामुण्डाविन्द्रासेनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाीले आभार प्रकट गरेका छन् । उनले दुर्गममा रहेका सर्वसाधारण जनताका लागि गाउँमै संचालन भएको आयुर्वेद सेवा केन्द्रले धेरैको जीवनमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले राज्यले संविधानमा भएको अधिकार बमोजिम नागरिक स्वास्थ्य उपचार पहुँचलाई सहज बनाउनका लागि आरोग्य सेवा केन्द्र स्थापना भएको बताए । उनले भने, ‘औषधी आएर मात्र आरोग्य हुदैन, ‘आरोग्य हुनका लागि खानेकुरा ध्यानदिनु पर्छ ।’ बजारमा म्याद समाप्त भएका सामाग्रीहरुको दैनिक प्रयोग गर्दा रोगी हुने उनले बताए । उनले सामाग्री खरिद गर्दा म्याद हरेर मात्र खरिद गर्न अनुरोध गरे ।

आरोग्य सेवा केन्द्रले नगरपालिकाका जेष्ठ नागरिकलाई रसायन र सुत्केरीलाई दुग्धवतन औषधि वितरण गर्ने गर्नेछ । सेवा केन्द्रबाट निःशुल्क औषधि वितरण, विरामी चेकजाँच र पूर्वकर्म÷पञ्चकर्म सेवा दिने बताइएको छ ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दैलेख प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी नायव उपरीक्षक रञ्जनकुमार अधिकारी, दैलेखका प्रमुख अनुसन्धान अधिकृत डिगम्बर गिरि, जिल्ला आयुर्वेद चिकित्सक डा. प्रशन्त नेपाल, चामुण्डाविन्द्रासैनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक विक लगायत वडा अध्यक्ष, कार्यपालिकाका सदस्य र नागरिक समाजको उपस्थिति रहेको थियो । यसै बीच जिल्ला आयुर्वेद शाखा दैलेखको आयोजनामा जम्बुकाँधमा एक दिने निशुल्क आयुर्वेद सम्बन्धी शिविर सम्पन्न भएको छ ।