२०८०, १५ चैत्र बिहीबार

कर्णाली प्रदेश सरकार, बहुमत पुर्याउने कसरतमा प्रचण्ड–माधव पक्ष

सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को विवाद अन्य प्रदेशमा चर्कीरहेको बेला कर्णाली प्रदेशमा भने केहि स्थिर देखिएको छ । पछिल्लो समय संसद विघटनको प्रचण्ड–माधव पक्ष र प्रधानमन्त्री ओली पक्षले आ–आफ्नै तरिकाले विरोध तथा समर्थन गरेपछि प्रदेश सरकार पनि परिवर्तन हुने चर्चा चलेको थियो । पछिल्लो समय त्यो चर्चा तत्कालका लागि केहि तहसम्म सेलाएको छ । भने संख्यात्मक हिसाबले बहुमत देखिएको प्रचण्ड–माघव पक्षले स्पष्ट बहुमत पु¥याउने अन्तिम कसरतमा लागेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उनी निकट अन्य सांसदहरु ओली पक्षका सांसदहरु आफ्नो पक्षमा तान्ने प¥यासमा छन् ।

कर्णालीका कुल ४० सांसद मध्ये ३३ जना नेकपाका सांसद छन् । जसमा प्रचण्ड–नेपाल निकट १९ र बाँकी १४ ओली निकट मानिन्छन् । कर्णालीमा कांग्रेस ६ र राप्रपाका सांसद एक जना छन् । बहुमत पुर्याउनको लागि २१ सांसद चाहिन्छ । प्रचण्ड–माधव पक्षलाई बहुमतको लागि दुई जना सांसदको मात्रै आवश्यकता छ । त्यसैको कसरतमा प्रचण्ड–माधव पक्ष देखिन्छ ।
यदि ओली पक्षका सांसदहरु नआएको अवस्थामा मात्रै कांग्रेस र राप्रपा संग समन्वय गरिने प्रचण्ड–माधव पक्षका एक सांसदले बताए । ‘अहिले ओली पक्षका केहि साथीहरु संग प्रचण्ड–माधव पक्षमा आउने बारेका कुरा सकारात्मक रुपमा छलफल भइरहेको छ । यदि उहाँहरु संग कुरा मिलेको अवस्थामा नेकपाको एक पक्षले सरकार निर्माण गर्न सक्नेछ । यदि नमिलेको अवस्थामा कांग्रेस र राप्रपा संग छलफल हुनेछ ।’

प्रचण्ड–माधव पक्ष र ओली पक्षका सांसदहरु एक अर्कालाई आ–आफ्नो पक्षमा तान्ने कसरत गरिरहँदा पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संगको संवाद कम हुँदै गएको छ । ‘पछिल्लो समय सरकार निर्माण गर्ने कुरामा दुवै पक्षबाट कांग्रेसमा कनै संवाद भएको छैन,’ कांग्रेस सांसद दिनबन्दु श्रेष्ठले भने, ‘यदि आएको खण्डमा नेपाली कांग्रेसले पार्टीको निर्देशन नआउञ्जेल सम्म त्यस बिषयमा कुनै निर्णय लिने छैन ।’

प्रचण्ड–माधव निकट प्रदेशसभा सांसद विन्दमान बिष्टले अहिलेकै सरकार यथावत रहने बताए । ‘अहिले प्रदेश सरकार परिवर्तन गर्ने बिषयमा खासै कुरा भएको छैन,’ उनले भने, ‘यदि पार्टी नै विभाजन भएर फरक तरिकाले जानुपर्ने अवस्था आयो भने केहि छलफल हुन सक्ला । नत्र अहिले त त्यस्तो केहि छैन ।’

सरकार बनाउने कुरामा चासो छैन– शाह
यता ओली पक्षका सांसदहरुले अहिलेको अवस्थामा आफुहरुको सरकार निर्माण गर्ने कुरामा कुनै पनि ध्यान नगएको बताएका छन् । ओली पक्षका सांसद एवम् प्रदेशसभाका सदस्य गुलावजंग शाहले आफुहरु सरकार निर्माण गर्ने कुराको पछि नलागेको बताए । ‘प्रदेशसभामा दुवै पक्षको बहुमत छैन,’ उनले भने, ‘त्यसैले पनि यो बिषयमा हाम्रो ध्यान गएको छैन ।’ गुलावजंग शाह ति नै सांसद हुन जसलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टीको प्रमुख सचेतक पदबाट हटाएका थिए । गत असोजमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सहयोग गरेको भन्दै मुख्यमन्त्रीले पदबाट हटाएका हुन ।