२०८१, १६ बैशाख आईतवार

कोरोनाको जोखिम बढेपछि डोल्पामा ५ दिन निषेधाज्ञा

सुर्खेत । जिल्ला प्रशासन कार्यालय डोल्पाले सदरमुकाम दुनै क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेको भन्दै प्रशासनले निषेधाज्ञा गरेको हो । पुस १९ गते (आइतबार) आज देखि पुस २३ गते सम्म ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो । शनिबार एक सुचना जारी गर्दै प्रशासनले सदरमुकाम दुनैको पूर्वमा लोचाखोला, पश्चिममा सुलिगार्ड, उत्तरमा भेरी पारीको सम्पूर्ण बस्ती र दक्षिणमा तिप्ला जानेबाटो क्षेत्रमा निधेधाज्ञा गर्ने जानकारी दिएको छ ।

अनावश्यक जमघट, भेटघाटबाट नै संक्रमण फैलने भएकाले जिल्लामा भित्र कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामूहिक जमघट नगर्न आग्रह गरिएको छ । सदरमुकाम दुनै बजार क्षेत्रका खाद्यबस्तु लगायतका सम्पूर्ण पसलहरु बिहान ९ बजे देखि दिउँसो १२ बजे सम्म मात्र खुला गर्न पाइने, होटल, रेष्टुरेन्ट, शैलुन, पुलहाउस जस्ता व्यवसायहरु पूर्ण रुपमा बन्द रहने बताइएको छ । अत्यावश्यक बाहेक अन्य समयमा सवारी साधनहरु सञ्चालन गनर्न अनुरोध गरिएको छ । भने घर बाहिर निस्किदा र किनमेल गर्दा अनिवार्य रुपमा मास्क लगाउने र सामाजिक दुरी कायम गर्न आग्रह गरिएको छ । यदि नियमको पालना नगरेको अवस्थामा प्रहरीले तत्काल नियन्त्रणमा लिने प्रशासनले जानकारी दिएको छ ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढकालले सदरमुकाम क्षेत्रमा कोरोना संक्रमणको दर बढ्दै गए पछि सबै सरोकारवालाहरुको सल्लाह सुझाव अनुसार निषेधाज्ञा जारी गरेको बताए । ‘हामीले पहिलो चरणमा कोरोना सम्बन्धी जनचेतना मुल प्रचार, कार्यक्रमहरु सबै गरौँ,’ उनले भने, ‘तर त्यो कुरामा स्थानीयको चासो नजाँदा पनि निशेषज्ञा जारी गर्नुपर्ने अवस्था आयो ।’ ५ दिन भित्र सबैको कन्ट्रायाक्ट टे«सिङ गर्ने त्यसको नतिजा अनुसार अन्य कार्यक्रमहरु अघि बढाउने उनको भनाई छ ।

डोल्पामा प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन भएपछि पछिल्ला दिनहरुमा राजनीतिक दलहरुले विरोध प्रदर्शन, तथा समर्थनमा ¥याली निकालीरहेका छन् । त्यस कारणले पनि डोल्पा सदरमुकाममा कोरोनाको जोखिम बढेको छ । यस अघि शुक्रबार मात्रै डोल्पाबाट कोरोना संक्रमित एक शिक्षक र वडा अध्यक्षको हेलिकप्टर चार्टर गरेर उद्धार गरिएको थियो । सडकको पहँच नभएका विकट डोल्पामा समूदाय स्तरमै कोरोना फैलिएको अवस्थामा सबैलाई हेलिकप्टरबाट उद्धार गर्न नसकिने भन्दै पहिले नै सचेत भएर निषेधाज्ञा जारी गरिएको प्रशासनले बताएको छ ।