२०८१, ३० आश्विन बुधबार

कर्णालीको कृषि मन्त्रालयको अभियान, ८५० रोपनी बाँझो जग्गामा खेति


सुर्खेत ।
कर्णाली प्रदेश सरकारले हरेक महिनाको एक र पन्ध्र गते मनाउँदै आएको श्रम दिवस सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले धान्दै आइरहेको छ । सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुरु सुरुमा झाडु लिएर सडकका नाला सफा गर्ने गरेपनि पछिल्लो समय उनले भूलि सकेका छन् तर सोही सरकारको भूमि मन्त्रालयले भने हरेक महिनाको एक र पन्ध्र गतेलाई नाला सफागर्ने नभई उत्पादन वृद्धि गर्ने दिवसको रुपमा अथ्र्याउँदै कृषि कर्ममा समय खर्चेर मनाउँदै आएको हो ।

कृषी मन्त्रालयले कर्णालीमा उत्पादन बढाउन र बाँझो जमिन नराख्न भन्दै कर्णालीका ७९ वटै पालिकालाई गत आर्थिक वर्षमा १७ लाख ४ हजारका दरले रकम पठाइसकेको छ । मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माका अनुसार कर्णालीमा साढे आठ सय हेक्टर बाँझो जमिनमा खेति गर्न मन्त्रालयले सो रकम पालिकालाई पठाएको हो ।

‘कर्णालीमा भारतबाट हजारौं नागरिक भित्रिएका छन् । अब भारत लगायत अन्य देशमा जाने युवाहरुको संख्यामा कमि आउन सक्ने र त्यसले खाद्य सुरक्षामा गम्भिर असर पर्न सक्ने ठानेर पालिकामा रहेका बाँझो जमिनमा खेति गर्न भनेर रकम पठाएका छौं । हामीले पठाएको रकमबाट ८५० हेक्टर बाँझो जमिनमा खेति भएको तथ्यांक आएको छ ।’ उनले भने, ‘त्यसबाट कम्तिमा ८०० मेट्रिक टन खाद्यान्न बाली, दुइ सय मे.टन. नगदेबाली र अन्य फलफुल गरि १२ सय मे.टन. उत्पादन हुने अपेक्षा गरेका छौं ।’ उनले कोरोनाका कारण कृषि क्षेत्रमा प्रभाव पारेको बताउँदै उत्पादन र उत्पादकत्वमा कमि आउन सक्ने अनुमानका कारण कृषिमा लगानी आवश्यक रहेको बताए ।

मन्त्री विमला केसीले सरकारले खेति ग¥यो भनेर आलोचना गर्नुको अर्थ नभएको बताईन । ‘सरकारले खेति नगरेका कारण विग्रिएको हो । राज्यले आफैं गर्न आवश्यक छ जहाँबाट नागरिकले सिकुन । पचास वर्ष भन्दा अगाडी देखि बाँझो रहेका जमिन प्रयोग गरेर उत्पादन गर्न सकिन्छ भनेर देखाउन यो काम सुरु गरेका हौं । कृषि कर्म मन्त्रीले, सचिवले गर्छन भने यो पेशा सम्मानित पेशा हो भन्ने देखाउन पनि खेति गरेका हौं ।’ मन्त्री केसिले भनिन, ‘सरकारका अन्य मन्त्रालयले, स्थानीय पालिकाले आफ्नै हिसाबमा श्रम दिवस मनाएका होलान तर हामी भने हरेक श्रम दिवसलाई उत्पादनसँग जोडन लागिरहेका छौं ।’

मन्त्री केसीले पचास वर्ष भन्दा बढि समयसम्म बाँझो रहेको सरकारी जग्गा जोत्नु र खेति गर्नु उदाहरणका रुपमा सुरु गरिएको र त्यसले समग्र कर्णालीभरि सकारात्मक नतिजा दिएको दाबी गरिन ।
‘हामीले भन्दा पालिका अझ धेरै काम गरेका छन् । सबै भन्दा बढि दैलेखमा रहेको बाँझो जमिनको सदुपयोग भएको पाएका छौं । अन्य जिल्लामा रहेको बाँझो जमिनपनि उत्पादनमा जोडिएको छ । यसले कर्णालीलाई खाद्य उत्पादनमा महत्वपूर्ण सहयोग पुग्ने हाम्रो अपेक्षा छ ।’ मन्त्री केसिले भनिन् ।