लकडाउनको तीन महिनामा १२४ जना महिला बलात्कृत, महिला हिंसाको संख्यामा बढोत्तरी
सुर्खेत, ३० असार ।
लकडाउनको अवधिमा देशैभर (२०७६ चैत ११ गतेदेखि २०७७ असार १० गतेसम्म) एक सय २४ जना महिला बलात्कृत भएको अनौपचारिक सेवा केन्द्र इन्सेकले जनाएको छ । बलात्कारका घटनाका १ सय २४ जना, बलात्कार प्रयासका घटनामा ३६ जना, यौन दुव्र्यवहारका घटनामा १७ जना, घरेलु हिंसाका घटनामा २ सय ५४ जना, बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा चार जना र कथित बोक्सीको आरोपमा एक जना महिला पीडित भएको इन्सेक कर्णाली संयोजक नारायण सुवेदीले बताए ।

‘ लकडाउनका तीन महिनामा राज्य पक्षबाट तीन जना महिलासहित ६४ जना र अन्य पक्षबाट ८ सय ४१ जना महिलासहित १ हजार ५५ जना गरी १ हजार १ सय १९ जना पीडित भएका छन् । अभिलेखित घटनामध्ये महिलामाथि भएका ज्यादतीका घटनामा ४ सय ७६ जना र बालबालिकामाथि भएका ज्यादतीका घटनामा २ सय ८४ जना पीडित भए ।’ उनले भने, ‘त्यसैगरी, यो अवधिमा ११ जनालाई अमानवीय व्यवहार गरिएको, पाँच जनालाई धम्की दिइएको, १ सय १२ जना घाइते भएको, १ सय २ जनालाई कुटपिट गरिएको, ६ जनालाई अपहरण गरिएको, ३१ जनालाई गिरफ्तार गरिएको, ७२ जनाको हत्या भएको, दुई जनालाई प्रहरी हिरासतमा यातना दिइएको र जातीय विभेदका घटनामा १२ जना पीडित भएका छन् ।’

लकडाउनका तीन महिनामा २५ जना स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएका घटना इन्सेकले अभिलेख गरेको उनको भनाई छ । अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने स्वास्थ्यकर्मी दुव्र्यवहार हुँदा पनि प्रहरी प्रशासनबाट समयमा नै सुरक्षा प्रदान नगरिएको भनी आलोचना भएको उनले बताए । ‘लकडाउनका कारण लामो समय विद्यालय जान नपाएको र शैक्षिक गतिविधि अवरुद्ध हुँदा बाल अधिकारका सवालमा समस्या भएको पाइयो । तीन महिनाको अवधिमा १ सय ८७ बालिकामाथि बलात्कार, ७५ बालिकामाथि यौन दुव्र्यवहार र बेचबिखन तथा ओसारपसार घटनामा चार जना बालिका पीडित भए ।’
