२०८१, ७ बैशाख शुक्रबार

सिमान्तकृतको आवाज उठाउनेको व्यस्त दैनिकी

दैलेखबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पार्वती विसुन्के समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएकि हुन् । उनले हाम्रो नयाँ नेपाल दैनिकको आइतबारिय स्तम्भ दैनिकीमा आफ्नो दैनिकी यसरी बताइन्ः

मर्निङ वाक गर्न भ्याउँदिन, योगा गर्छु
म बिहान करिब पाँच बजे उठ्छु । करिब साढे पाँच बजेसम्म सरसफाइ गर्छु । करिब आधा घण्टा योगा गर्छु । म मर्निङ वाक गर्न भ्याउँदिन । योगा चाहिँ गर्छु ।

समाचार सुन्दै तातोपानी पिउँछु
६ बजे समाचार सुन्छु रेडियोमा । समाचार सुन्दै तातोपानी पिउँछु । काठमाडौं पोष्ट पत्रिका पढ्छु । अनलाइनमा समाचारहरू पढ्छु ।

स्थानीय खानातिर मेरो ध्यान जान्छ
सामान्य खाना खान्छु । ननभेजिटेरियन हुँ । म विहान खाजा प्राय खाँदिन । सकभर स्थानीय खानातिर मेरो ध्यान जान्छ ।स्थानीय चामल, दाल, सिन्की, भटमास, गोलभेडाको अचार जस्ता लोकल खानेकुराहरूमा मेरो ध्यान जान्छ ।

दिउँसो सुत्ने बानि छैन । र दिउँसो सुत्न समय पनि त हुँदैन । धेरै समय भयो दिउँसो सुतेको छैन । दिउँसो बैठक छ भने बिहान उक्त बैठकको तयारी गर्छु । यदि बैठक नभएको दिन कितनबहरू पढ्ने गर्छु ।

जिल्लामा सम्पर्क गर्छु
किताब पढ्न जाँगर चलेन भने जिल्लामा सम्पर्क गर्छु । नेतन कार्यकर्ता र जनप्रतिनिधिहरूसंग त्यहाँको अपडेट लिन्छु । उनिहरूसंग टेलिफोन वार्ता गर्छु ।

फोनमा व्यस्त हुन्छु
म धेरै फोनमा व्यस्त हुन्छु । विशेषगरी सिमान्तकृत समुदाय, कार्यकर्ता आम नागरिक र जिल्लाका जनप्रतिनिधिहरूसंग फोनमा कुरा बढि हुन्छ । । बैठकमा भएको समयमा फोन आएको जरूरी फोनहरू कलब्याक गर्छु ।

आफन्तसंग फोनमा कुरा गर्न समय मिल्दैन
परिवार तथा आफन्तजनहरूले फोनमा का नगरेको भनेर गुनासो गर्नुहुन्छ । फोनमा उहाँहरूसंग प्रायःजसो कुरा गर्ने फुर्सद नहुने र कुरा गरेपनि छोटो समय कुरा गर्छु ।
विकास, पार्टी, सिमान्तकृत समुदायको आवाज उठाउने, महिलाका कुराहरू सुन्ने अधिकारका लागि पैरवी गर्नेजस्ता विषयहरूमा म अलि बढि व्यस्त हुन्छु ।

स्थानीय विषय संसदमा बोल्छु
मैले जिल्लाका विषय र समस्या, अधिकार लगायतका कुराहरू संसद बैठक चलेको समयमा प्रतिनिधिसभा बैठका उठाउँछु । बैठक नचलेको समयमा सार्वजनिक कार्यक्रम र सम्बन्धित निकायमा आवाज राख्ने गर्छु ।

सिमान्त समुदायअनुकुल नितिनिर्माणका लागि प्रस्ताव गर्छु
संसदमा छलफलमा आएका विभिन्न विधेयकहरूमा संशोधन पनि राख्ने गर्छु । सिमान्तकृतहरूको आवाज बनेर जहाँतहि गुन्जिने गर्छु । उनिहरूको प्रतिनिधित्व गर्ने भएकोले सिमान्त समुदायअनुकुल नितिनिर्माणका लागि विधेयकमा संशोधन प्रस्ताव पनि गर्छु ।

सुचनाको लागि फेसबुक र ट्विटरमा बेलाबेला अपडेट भइराख्नुपर्छ
सामाजिक संजाल फेसबुक र ट्विटर चलाउँछु । विभिन्न सुचनाको लागि फेसबुक चलाउँछु । घण्टा घण्टामा अपडेट हुन्छु सकेसम्म । विभिन्न घटना जानकारी र सुचनाको लागि फेसबुक र ट्विटरमा बेलाबेला अपडेट भइराख्नुपर्छ जस्तो लाग्छ ।

धेरैजस्तो रेडियो सुन्छु
मैले धेरैजस्तो रेडियो सुन्छु । रेडियोमा सुचनामुलक, समाचार र जानकारीमूलक सामाग्रीहरू सुन्ने गर्छु । म सानैदेखि गाउँमा हुँदा पनि रेडियो असाध्यै सुन्ने गर्थें । सानो छँदा रेडियो नेपाल सुन्थेँ ।
सिमान्तकृत समुदायको आवाज उठाएका फिल्म हेर्न मन लाग्छ
फिल्म हेर्न रहर मान्छु । इतिहास, वर्तमान सामाजिक परिवेशका फिल्महरू हेर्छु । सामाजिक रूपान्तरण र सिमान्तकृत समुदायको आवाज उठाएका फिल्म हेर्न मन लाग्छ । पुराना गितहरू सुन्छु । देशभक्ति गित पनि सुन्छु ।

समाजसंग सम्बन्धि किताबहरू पनि पढ्छु
राजनैतिक किताबहरू पढ्छु । संसदका, संसदिय समितिका विषयमा कानुनहरू विधेयकहरू पढ्ने गर्छु । नीति तथा कार्यक्रम वजेट लगायतका विभिन्न कानुनका किताबहरू पढ्छु । कम्युनिष्ट विचारसंग सम्बन्धित किताबहरू पढ्छु । सामाजिक रूपान्तरणका लागि गर्नुपर्ने कामहरू सुल्झाउने खालका, समाजसंग सम्बन्धि किताबहरू पनि पढ्छु । सिमान्तकृत समुदायको दृष्टिकोणबाट लेखिएका किताब पढ्न प्राथमिकतामा राख्छु ।
संसद वा अन्य ठाउँमा सिमान्त समुदायको अधिकार र अन्य विषयमा बोल्दै गर्दा शुरूमा संविधान पढ्छु । त्यसमा रहेको व्यवस्थालाई याद गर्छु । अन्य कानुनलाई पनि याद राख्छु ।
जिल्लाका विषयमा बोल्दा स्थानीय नागरिक, पार्टी कार्यकर्ता, नागरिक समाज र जनप्रतिनिधिहरूबाट त्यहाँका उठान गर्नुपर्ने विषयहरू बुझ्छु ।

सत्यतथ्य तथ्यांक लिएर मात्रै बोल्ने गर्छु
संसद बैठकमा बोल्नुपर्ने कुराहरू घरमा तयारी गरेर जान्छु । विषयवस्तुको बारेमा बुझेर, ऐन कानुन आदि पढेर जिल्लाका सम्बन्धित निकायसंग सत्यतथ्य तथ्यांक लिएर मात्रै बोल्ने गर्छु। पढिसकेपछि मनमा लागेका र चित्त नबुझेका कुरा टिपेर संसद् बैठकमा बोल्छु ।
म आफ्नो जीवन व्यस्त ठान्छु । मैले आफुले आफुलाई नै बिर्सेिएको ठान्छु ।