२०८३, १७ असार बुधबार

सबै पसलमा मूल्य सूचि राख्न प्रशासनको अनुरोध

सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले सबै पसलमा अनिवार्य रुपमा मूल्य सूचि राख्न व्यवसायीलाई आग्रह गरेको छ । बुधबार एक विज्ञप्ती प्रकाशित गर्दै कार्यालयले कालोबजारी बढिरहेको नागरिकको गुनासो बढिरहेको बताउँदै सो निर्देशन दिएको हो । कोरोना संक्रमणको जोखिमबाट बच्न सामाजिक दुरी कायम गर्दै उद्योग व्यवसाय र व्यापारीहरुलाई पसल खोल्न निर्देशन दिएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बुधवार बसेको बैठकले विहीवारदेखि लागु हुने गरी विहान ७ बजेदेखि साँझ ५ बजेसम्म पसल खोल्न निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले फलफुल, तरकारी, दुध, ग्याँस, औषधी पसल जस्ता अत्यावश्यक सेवा बाहेकका पसलहरु शनिवार बन्द गर्ने निर्णय भएको जानकारी दिए । लकडाउन खुकुलो भएपछि व्यापारिक क्षेत्रमा भीडभाड धेरै बढेको भन्दै प्रशासनले होटल, रेष्टुरेन्ट लगायतका खाजा, नास्ता पसलहरु, सैलुन तथा ब्युटी पार्लर पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी रेग्मीले सवारी साधन सञ्चालनको सम्बन्धमा जोर विजोर प्रर्णाली लागु गरी तीन पाङग्रे सवारी साधन पूर्ण रुपमा बन्द गरिएको जानकारी दिए । त्यस्तै, प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजत्वमा कोरोना नियन्त्रण समित बनाई हप्ता हप्तामा सचेतना कार्यक्रम गर्ने भएको छ ।