२०८१, २८ फाल्गुन बुधबार

कर्णालीमा कोरोना: ३ जनाको मृत्यु, संक्रमित ५८७ जना, ९ जिल्लामा पुग्यो

 

सुर्खेत । कर्णाली प्रदेशमा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा कर्णालीका सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र होम क्वारेन्टाइनमा मृत्यु भएका डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरूषसहित ९८ जनालाई कोरोना संक्रमण देखिएको हो ।

शुक्रबारसम्म कर्णालीमा जम्मा ४ सय ८९ जना कोरोना संक्रमित थिए । योसंगै कर्णालीमा कोरोना संक्रमितको संख्या ५८७ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

शनिबार (आज) संक्रमण पुष्टि हुजेहरूमा डोल्पाको जगदुल्लाका १ जना पुरूष, सल्यानको बनगाड कुपिण्डेका ३८ जना, दैलेखको दुल्लु नगरपालिकाका ३ जना र महाबु गाउँपालिकाका ४३ जना, सुर्खेतका ९ जना, जाजरकोटका ४ जना तथा डोल्पाका १ जना रहेका छन् ।
हालसम्म कर्णालीमा कोरोनालाई जितेर ७ जना घर फर्किसकेका छन् । शुक्रवार द‌ैलेख र सुर्खेतका ७ जना कोरोनालाई परास्त गरि प्रदेश अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

अहिलेसम्म कर्णालीमा कोरोना संक्रमित ३ जनाको ज्यान गइसकेको छ । दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षिय पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिकाका ३५ वर्षिय पुरुष र डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

कर्णालीका १० जिल्लामध्ये रूकुम पश्चिमबाहेक ९ जिल्लामा कोरोना संक्रमण पुगिसकेको छ ।