सल्यानका कोरोना पोजिटिभ लिन रुकमले ग¥यो अस्विकार, बजेट माग्ने, विरामी नराख्ने !
शेरबहादुर थापा
सुर्खेत, १८ जेठ ।
सल्यान जिल्लाको बन्गाड कुभिण्डे नगरपालिकाका कोरोना संक्रमित २५ जनामा १३ जनालाई रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालले लिन नमानेको खुलेको छ । जिल्ला अस्पताल खलंगामा १२ जनालाई आइसोलेसनमा राख्ने भन्दै एम्बुलेन्सले दिउसो दुइ बजे लगेपनि अन्य १३ जनालाई भने सुर्खेत ल्याउने तयारी गरिएको श्रोतको भनाई छ । ‘बन्गाड कुभिन्डे नगरपालिकामा हाल १२ सय भन्दा बढि नागरिक क्वारेन्टाईनमा राखिएको छ, क्वारेन्टाईन अस्तव्यस्त रहेका छन् ।’ क्वारेन्टाईनमा बसिरहेका एक युवाले भने, ‘हामी २४३ जनाको कोरोना जाँच गर्न भन्दै स्वाव संकलन जेठ १३ गते भएको थियो । ती मध्ये २५ जनामा कोरोना देखिएको छ । हाम्रो रिर्पोट आइसकेको छैन ।’ उक्त दिन जम्मा ३९३ जनाको स्वाव संकलन गरि जाँचका लागि प्रदेश अस्पताल कालागाउँमा ल्याइएको थियो ।
बनगाड क्याम्पसमा बस्दै आइरहेका १५० जना र प्रभाकर माविमा बस्दै आइरहेका २४३ जना मध्ये ८० जनाको स्वावको रिर्पोट आइसकेको छ त्यो बाहेक अरुको आउन बाँकी रहेको छ ।
जेठ पन्ध्र गते १६६ जनाको स्वाव संकलन भएको छ । जेठ १८ गते तिन बजेसम्म ७१ जनाको स्वाव संकलन भइसकेको छ । अन्यको स्वाव संकलन गर्ने कार्य तीव्र रुपमा गरिएको छ ।
बन्गाड नगरपालिकामा ती नागरिकहरु जेठ आठ गते आएका थिए । आज उनीहरु क्वारेन्टाईनमा बसेको एघारौं दिन पुग्दा पनि स्वाव जाँचको रिर्पोट नआउँदा आत्तिएका छन् । ‘कसमा कोरोना छ कसमा छैन डर लागिरहेको छ ।’ अर्का एक व्यक्तिले भने, ‘कोरोना पोजेटिभ देखिएको रिर्पोट आइसकेपनि कोरोना लागेका व्यक्तिलाई समयमै अलग नबनाउँदा हामीमा थप त्रास बढेको छ ।’
यता, रुकुम पीश्चममा रहेको कोरोना विशेष अस्पताल चौरजहारी सामुदायिक अस्पतालले विरामी राख्न नमानेको श्रोतको दाबी छ । ‘प्रदेश सरकारबाट बजेट कुम्ल्याउने बेलामा मात्रै हामी सक्छौं भन्ने तर अहिले पहिलो चरणका कोरोना संक्रमितहरुलाई राख्न नदिने प्रथा गलत छ ।’ बन्गाड कुभिण्डे नगरपालिका ६ का रमेश शाहीले भने, ‘प्रदेश सरकारले मनलाग्दी बजेट दिएका कारण यस्तो भएको हो । अब केहि अस्पताल मात्रै होइन सबै जिल्ला अस्पतालाई भौतिक पूर्वाधार सम्पन्न गराएर अघि बढनुको विकल्प छैन । सरकारको ध्यान त्यता जान आवश्यक छ ।’
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले अस्पतालले कोरोना संक्रमितलाई रुकुम लैजान नदिइएको बताए । ‘त्यहाँ ति विरामी लैजान ब्लक गरिएको छ ।’ उनले भने, ‘१२ जनालाई सल्यान जिल्ला अस्पताल पठाइएको र बाँकी १३ जनालाई सुर्खेत ल्याउन लागिएको छ ।’ प्रदेश सरकारले उक्त अस्पतालकालागि पचास लाख सुरुमै दिइसकेको थियो । उक्त अस्पतालले रुकुम पीश्चम, सल्यान र जाजरकोट हेर्ने जिम्मा पाएको थियो ।
