एक नम्बरले डाक्टर बन्न नसकेपछि…
सुर्खेत, १८ जेठ ।
हरेक व्यक्तिले सफलता पाउन अनेकन संघर्ष गरेका हुन्छन् । कतिले सफलता पाएका छन भने कतिले सफलता पाउनै खोज्दा पनि असफलता चाखेका नेपाली समूदायमा अनेकौं उदाहरण छन् । लामो र कठिन संघर्षका कारण हाल करिब साढे दुइ सय नागरिकलाई रोजगारी दिइ उनीहरुको भविष्य सुनिश्चित गर्दै आइरहेका छन्, सुर्खेती निर्माण व्यवसायी पदमबहादुर खड्का । विद्यालय देखि हरेक क्षेत्रमा लगानी गर्दै आइरहेका खड्का दैलेख जिल्लाको साविकको छिउडी पुसाकोटमा हालको दुल्लु नगरपालिका ४ दैलेखमा २०३६ सालमा जन्मेका हुन । छिउडी डाँडामा रहेको जयदेवी प्राविमा अक्षर चिनेका खड्का २०३९ सालमा बुवा (शंकरबहादुर खड्का) सँग सुर्खेत बसाइँ सरे ।
उतिबेला गाउँमा साथीहरुसँग गुच्चा खेल्ने, डन्डिवियो खेल्ने काम हुने गरेको उनी स्मरण गर्छन । सानै उमेरमा सुर्खेत झरेपछि खड्काको बाँकी पढाइको यात्रा रोजल्याण्ड बोर्डिङ्गबाट शुरु गरे । ४ कक्षासम्म सुर्खेतमै पढे पनि बाँकी पढाई काठमाडौंस्थित भानुभक्त मेमोरियल बोर्डिङ्ग स्कुलबाट शुरु भयो ।
‘मध्यम वर्गिय परिवारमा हुर्किएकाले पढ्नमा कुनै समस्या थिएन’ खड्का भन्छन, ‘बुवाको पुख्र्यौली व्यापार र दाजुले शुरु गर्नुभएको निर्माण व्यवसाय ऊ बेला राम्रै थियो । जति उहाँहरुले संघर्ष गर्नुभयो त्यो बेला मैले केही गर्नै पर्थेन् । त्यसैले मलाई दाजुले जहिले पनि भन्नुहुन्थ्यो एसएलसीमा राम्रो नम्बर ल्याइस भने डाक्टर पढाउँछु पदम ।’

घरको कान्छो छोरा भएकाले परिवारको माया ममता बढी पाउने उनी एसएलसीमा राम्रै नम्बर ल्याउने गरी पढिराखेका थिए । अफसोच ! डाक्टर पढ्न एक नम्बर मात्रै अपुगहुँदा सपना सदाको लागि अन्त्य भयो । दाजुको सपना पूरा गर्न नसकेकोमा दुःख लाग्छ, तर कोशिस गरेकै थिए राम्रो नम्बर ल्याउन नसकेको खड्का बताउँछन् । वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा थप पढाई शुरु गरेका उनले प्लस टू सकेपछि पढाईमा ब्रेक लाग्यो ।
‘हजुरबुवा छिउडीमा प्रधानपञ्च हुँदादेखि नै व्यवसाय थियो । सुर्खेत बसाईँ सरेपछि पनि वीरेन्द्रनगरमा शंकर स्टोर २०५३ सालबाट शुरु भइसकेको थियो । दाजु त्यो बेला निर्माण व्यवसायमा लागिरहेकाले बुवाले सञ्चालन गरेको व्यवसाय मैले नै हेर्दै आइरहेको थिएँ ।’ उनी भन्छन्, ।
२०६३ सालसम्म त्यहीँ व्यवसायमा आवद्ध भएका उनी त्यो बिचमा देशमा चलेको सशस्त्र द्वन्द्वको मारमा व्यवसाय परेको थियो । ‘प्रत्यक्ष रुपमा द्वन्द्व आँखै अगाडी नियाले । वीरेन्द्रनगरमा रहेको बुलबुले आयल स्टोर परिसरमा रहेको तेल, चामल र पिठो उद्योगमा बम विष्फोट भयो विस्तारै गति लिदै गरेको व्यवसाय त्यहीँ घटनाले सदाका लागि बन्द गरिदियो’ उनले थपे, ‘द्वन्द्वका कारण भौतिक संरचनामै ठूलो क्षति पु¥याएको थियो । सबै सपना एकाएक उडायो । संसार नै धमिलो देख्न थालेको थिएँ ।’
२०५९ सालमा स्थापना भएको बुलबुले आयल स्टोर पनि द्वन्द्वका कारण प्रभावित भयो । व्यापार व्यवसाय प्रायः बन्द हुने अवस्थामा पुग्यो तर शंकर स्टोर्स भने जेनतेन चलिरहेकै थियो । २१ वर्षकै उमेरमा बुवा गुमाएपछिको अभिभाकत्व दाजु (सूर्य) को काँधमा थियो । उनकै प्रेरणाबाट बाँकी जीवनले सार्थकता पाइरहेको थियो । परिवारमा खुसी नै थियो ।
‘संयुक्त परिवारमै हुर्केको म एक्कासी दुई भाइ अलग बाटोमा लागेपछि के गर्ने कसरी अघि बढ्ने भन्ने अन्यौलता छायो । हिजोसम्म संयूक्त हुने योजना अब एक्लै तय गर्नु थियो । सम्बन्ध भए पनि योजनाहरु तय गर्ने आधार र मार्ग दर्शन दिने व्यक्तित्व थिएन् । जे गर्नु थियो अब एक्लै जानी नजानी अघि बढ्नु बाहेक अन्य विकल्प पनि त थिएन् नि ।’
दाजुबाट अलग भएपछि उनले ठेक्कापट्टाको काम आरम्भ गरे । २०६३ सालमा नेपाली सेना, नेपाल प्रहरीको रासन ढुवानी गर्ने ठेक्का लिए । एकल लगानीमै निर्माण व्यवसायी बन्ने अठोट लिए । काम गर्दै जाँदा २०६७ सालमा बुवाको नामबाट शंकर कन्ट्रक्र्सन फर्म शुरु गरे ।
‘निर्माणको काम पाएपछि अनुभव हुँदै जाँदा २०७० सालमा फर्मलाई बढाउँदै श्याम एण्ड शंकर कन्ट्रक्र्सन बनाएँ । हाल त्यहीँ कामलाई निरन्तरता दिएको छु । अहिले फर्मलाई जेभीमा पु¥याएर निर्माणको काम गरिरहेका छु । जिन्दगीको यो रफ्तार आइपुग्नमा श्रीमतिको ठूलो योगदान रह्यो । कयौं पल तनावमा भएको बेला उनले दिने प्रेरणाले काम गर्ने थप हौसला प्राप्त भइरह्यो । जसले मलाई थप काम गर्नमा ऊर्जा मिलिरहेको छ ।’
उनले निर्माण व्यवसाय त गर्दै आइरहेका छन नै । अन्य क्षेत्रमा पनि लगानी गरिरहेका छन् । ‘२०६४ सालमा बुवाको सम्झानामा वीरेन्द्रनगरको तातापानीमा भ्याली मेरिडियन एकेडेमी स्थापना गरेँ । जिन्दगीको दौडाहमा मैले कयौं बालबालिकाहरु अभिभावक गुमाएपछि पढ्नबाट बञ्चित भएको देखेको र भेटेको छु । त्यस्ता बालबालिकाहरुलाई विशेष छुट दिएर आवासिय शिक्षा दिने हेतुले नै स्कुल स्थापना गरेको हुँ ।’
उनी भन्छन्, ‘हाल १० कक्षासम्म पढाइ हुने स्कुलमा १५ जना बालकालिकालाई निःशुल्क पढाइरहेको छु । छात्रवृत्ति दिने कुरा त अलग नै भइहाल्यो ।’ निर्माण व्यवसायबाट पहिचान बनाए पनि बुवाको सम्झनामा स्थापना गरेको विद्यालयलाई व्यवस्थित गरेर आवासियसहित अशक्त, गरीब र अनाथ बालबालिकाहरुलाई पढाउने योजनामा उनी छन् ।
जिन्दगी
सानैदेखी खेलकुदमा रुची राख्ने खड्का फुटबल खेलमा शौखिन थिए । ऊ बेला जिल्लास्तरीय प्रतियोगितामा नेपालगञ्जसम्म सहभागी भएको त्यो पल अझै ताजा छ । कतिपटक त उनले मोजाको बल बनाएर पनि खेले । आर्थिक अवस्था त्यति कमजोर नभएका कारण फुटबल पाउन उनलाई समस्या भने हुन्थेन तर फुटबल खेलिरहेका समयमा बल फुटदा मोजाको बल नै भएर साथीहरुसँग खेलेको अनुभव उनीसँग छ । २०५६ सालदेखी क्रिकेट संघ सुर्खेतको संस्थापक अध्यक्ष बनेका उनी होराइजन बोर्डिङ्ग स्कूलका संस्थापक सदस्य तथा सुर्खेत बहुउद्देश्यीय सहकारीका संस्थापक सदस्यसमेत छन् ।
उनले सामाजिक संघसंस्थालाई सहयोग पनि गर्दै आइरहेका छन् । ‘विरेन्द्रनगरमा रहेको प्रशान्ति वृद्धाश्रममा पाँच लाख, गुम्बा निर्माणमा ५० हजार, बड्डीचौरमा मन्दीर निर्माणमा एक लाख सहयोग गरिसकेको छु ।’ उनी भन्छन्, ‘सानातिना सहयोगको कुरा गर्नु आवश्यक देख्दिन । कमाउनु मात्रै ठूलो हैन कमाएको केही रकम सामाजिक क्षेत्रमा खर्च गर्दा आत्मसन्तुष्टि प्राप्त गर्छु ।’
हाल उनी हेभी इक्युपमेन्टको राष्ट्रिय उपाध्यक्ष तथा निर्माण व्यवसायी एकता समाज सुर्खेतको बरिष्ठ उपाध्यक्ष छन् । दैलेखको साइगाउँमा रहेको कर्णाली तथा सुर्खेतको बुलबुले आयल स्टोर्समा १२ जना, जेभीमा एक सय ६० जना र विद्यालयमा ४२ जनालाई रोजगारी दिएका छन् । ‘यी प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका व्यक्ति हुन । अन्य पार्ट टाईम काम गर्नेहरुको संख्या धेरै छ । संरचना निर्माणका बेलामा पाउने रोजगारीको कुरा अलग नै हो । हजारौंले काम पाइरहेका छन्, त्यतिलाई काम गर्न दिन पाउँदा आफूलाई कहिलेकाहि खुशी लागेर आउँछ ।’ उनी भन्छन् ।
‘जीन्दगी जे सोचिन्छ त्यो बन्दैन् तर त्यसलाई कुशलतापूर्वक निर्वाह गर्नमा आफूमा लगाव र इमान्दारिता भने हुन जरुरी हुँदो रहेछ । विगतमा राम्ररी चलेको जिन्दगीमा २०६३ सालको त्यो परिस्थितिले एक घेरामा बाँधिदियो । सुखसयलमै वितेका ति दिनहरु एक्कासी जिम्मेवारी टाउकोमा बज्रिदा मात्रै मैले खास जिन्दगी बुझैँ । किनकी बाल्यकाल, युवावस्था र विवाहपछिसम्म पनि खास अभाव झेल्नु परेन् । बुवाको अवसानपछि दाजु नै मेरो मार्गदर्शक हुनुहुन्थ्यो । आज जहाँ छु, उहाँले जिम्मेवारी वहन गर्नुभएको त्यतिबेलादेखी निर्माण व्यवसायको ज्ञानले यो स्थानसम्म पु¥याएको हो ।’ उनी भन्छन्, ‘‘जब भोगिन्छ, तब मात्रै जिन्दगीबारे मानवले बुझ्छ । जति गरिरहेको छु, गर्दै जाँदा जिन्दगीको शाब्दिक अर्थ पहिल्याउँदै अघि बढिरहेको छु । हालसम्म मैले जति भोगँे त्यहीँ नै मेरो जिन्दगीको सिकाइ बनिरहेको छ, जुन अझै पूर्ण भएको छैन’ खड्काले थपे, ‘जिन्दगीले कहाँबाट कहाँ पु¥याइदिन्छ तर त्यो बेला विचलित नभएर मार्गपथमा मात्रै लागि रहने हो भने खास जिन्दगी बुझिन्छ ।’
उनी निर्माण व्यवसायीप्रति राज्यले गर्ने व्यवहारका कारण आफ्नो व्यवसायबाट सन्तुष्ट भने छैनन । काम गर्ने वातावरण राज्यले बनाउने हो तर यहाँ एक जनाले गल्ती गरे सबैलाई एकै ठाउँमा राखेर हेर्ने नियती राज्यको छ । जुन गलत हो, उनी भन्छन् ।
‘ठेक्का सम्झौता गरेर मात्रै हुँदैन् त्यसलाई कुशलतापूर्वक सम्पन्न गर्नमा राज्यले वातावरण सिजर्ना गर्ने हो, जुन यहाँ छैन् । निर्माण व्यवसायी सबै एउटै छैनन, त्यो म स्वीकार गर्छु । यहाँ कतिपय क्षमताभन्दा बढी ठेक्का लिने तर अलपत्र छाड्दा उनीहरुकै दर्जामा हामीहरुलाई पनि वर्गीकरणमा राख्दा काम गर्ने वातावरण छैन् ।’ वीरेन्द्रनगरमा बनेको फोरलेन सडक म्याद अगाडी नै सम्पन्न गर्ने निर्माण व्यवसायीको रुपमा चिनिएका खड्काले हाल पाँच वटा पुल निर्माण गरिरहेका छन्, फोरलेन सडकमा । ‘लकडाउन नभएको भए हालसम्म पाँच वटै पुल निर्माण भइसक्थ्यो ।’ उनी भन्छन्, ‘तरपनि हाल केहि मात्रामा मात्रै काम गरिरहेको छु । जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको खण्डमा थप कामहरु अघि बढाउन सकिन्थ्यो ।’
