खुला चौरमा पाल हाल्दै महावु, चर्को घाम र हावहुरीले समस्या ल्याउने भय
सुर्खेत, १४ जेठ ।
दैलेखको महावु गाउँपालिकामा क्वारेन्टाईन बनाउने भवनको अभाव भएको छ । पालिकाका सबै विद्यालयलाई क्वारेन्टाईन निर्माण गरि राख्दा पनि भारतबाट आएका नागरिकलाई अटाउन नसकेपछि गाउँपालिका खुला चौरमा प्लाष्टिकको पाल टाँगेर क्वारेन्टाईन निर्माण गर्न बाध्य भएको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए । उनका अनुसार हालसम्म पालिकामा १५ सय जना युवाहरु गाउँ आइसकेका छन् । उनीहरुलाई भवन नहुँदा बसाल्न समस्या भएको हो । ‘महाबुमा रहेका सबै बिध्यालय भरिभराउ भएका छन् । क्वारेन्टाइन बनाउने ठाउ नहुदा खालि चउरहरुमा टेन्ट निर्माण गर्दै क्वारेन्टाइनमा जनता राख्ने व्यवस्थामा हामी खटेका छौं ।’ अध्यक्ष शाहीले भने, ‘हालसम्म १५०० जना क्वारेन्टाइनमा राखिसकेका छौं ।’
उनले आएका नागरिकको पीसिआर जाँच गरिदिन सरोकारवाला निकायसँग माग गरेपनि वेवास्ता गरिएको आरोप लगाए । ‘पटक पटक प्रदेश सरकार, जिल्ला दैबि प्रकोप उद्धार समितिलाई सम्पर्क गर्दा पनि चेक जाँच अघि बढाइएन ।’ उनले भने, ‘समयमै जाँचको व्यवस्थापन गर्न नसक्दा कोराना भन्दा अन्य महामारी फैलन सक्ने सम्भाबना देखिएको छ । छिटो भन्दा छिटो पिसिआर चेककालागि संघिय सरकार, प्रदेश सरकार र जिल्ला स्वास्थ्य कार्यालय दैलेख लाइ पुनः आग्रह गर्दछु ।’ पालमा उनीहरुलाई राखेपनि हावा हुरी आउन सक्ने र त्यसले थप जोखिम ल्याउन सक्ने उनको भय छ । ‘एकातिर चर्को गर्मी छ, अर्कोतिर हावा हुरी चल्ने समय छ ।’ उनले भने, ‘समयमै ध्यान दिन सकिएन भने ठूलो समस्या पैदा हुने देखेको छु । स्थानीय तहले मात्रै चाहेर सबै काम गर्न सकिने अवस्था देखिएको छैन ।’
