कर्णालीको पहिलो कोरोना संक्रमित भेटिएको गाउँ, न सुरक्षा न सील !
सुर्खेत ।
कर्णाली प्रदेशको पहिलो कोरोना संक्रमित गाउँ आठबीस नगरपालिका वडा नं. एक सात्ताला सील गर्ने भनिएपनि नागरिकहरू ओहोर दोहोर गर्ने क्रम निरन्तर रहिरहेको स्थानीय वीरबहादुर नेपालीले बताएका छन् ।
‘यहाँ गाउँमा कसलाई कोरोना संक्रमण भएको छ भन्ने कुरा केहि पनि जानकारी नै छैन । सुरक्षा व्यवस्था शून्य छ । क्वारेन्टाईनमा बसेकाहरू खेल खेल्दै छन्,, सामाजिक दुरी कायम गर्न उनीहरू चाहिरहेका छैनन्,’ उनले भने, ‘क्वारेन्टाईनमा बसेकाहरू घर जाने गर्दथे । उनीहरूको घरपरिवार पनि जोखिममा छन् । उनीहरूमाफृत पुरै गाउँमा कोरोना संक्रमण भयो कि भन्ने त्रास यत्रतत्र छ ।’
कोरोना पत्ता लागिसकेपछि वडा नै सील गर्ने भन्ने निर्णय नगरपालिकाले गरेपनि नाकामा ओहोरदोहोर गर्ने काम बन्द नभएको उनको गुनासो छ ।
‘अहिले नाकामा केहि पनि कडाई भएको छैन । विगतमा जस्तो थियो अवस्था त्यस्तै छ ।’ उनले भने, ‘हामीले सरोकारवाला निकायसँग बारम्बार वडा सील गर्न र कोरोनाको पिसिआरमार्फत नागरिकको जाँच गर्न माग गरेपनि सुनुवाई भएको छैन,’ उनले भने, ‘यसले यो क्षेत्रलाई राज्यले गर्दै आएको विभेद प्रष्ट भएको छ ।’
कोरोना संक्रमण पत्ता लागेको ३८ घण्टापछि मात्रै कोरोना संक्रमित युवालाई आइसोलेसन वार्डमा राख्न दैलेख लगिनु यसको प्रमुख प्रमाण भएको उनको भनाइ छ ।
वडा नं. एकका अध्यक्ष पर्वसिंह विश्वकर्माले वडा सील गर्ने निर्णय भएपनि कार्यान्वयन गर्न नसकेको स्वीकार गरेका छन् । ‘हामीले वडा सील गर्ने भनेर निर्णय गरिसकेका छौं । तर त्यसलाई कार्यान्वयन गर्न वडा अध्यक्षले मात्रै सक्दो रहेनछ,’ उनले भने, ‘न यहाँ सुरक्षा निकायको उपस्थिति देखिएको छ न त स्वास्थ्यकर्मी आएका छन् । न त यहाँ अन्य कुनै जनचेतना अभिवृद्धि गर्नेहरूको उपस्थिति भएको छ । क्वारेन्टाईनमा नै बसेकाहरू राती भागेर कोठामा जाने गरेका छन् । उनीहरूलाई नै नियन्त्रण गर्न सक्ने हामीसँग सामथ्र्य रहेन ।’
अध्यक्ष विश्वकर्माले वडा नै संवेदनशील भएको अवस्थामा राज्यबाट असहयोग भएको बताए । ‘प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्दा जनता प्रहरी बनेर खट्नु पर्छ भन्छन्, तर यहाँ हामीले भनेको कोही पनि टेर्दैनन्,’ उनले गुनासो पोखे, ‘कोरोना पुष्टि भएको लामो समय भइसकेपछि बल्ल बल्ल संक्रमित युवालाई दैलेख लगिएको र दैलेख लगेर अस्पतालमा राख्नुको साटो सरस्वती माध्यमिक विद्यालयमा राखिएको छ । संक्रमित व्यक्ति दलित समूदायको भएका कारण यस्तो हेला गरिएको हो वा विकट स्थानको नागरिक भएका कारण यस्तो गरिएको हो बुझ्न गाह्रो भएको छ ।’
कोरोना फैलाउन उद्यत सरकार, ३१ घण्टा वित्दा पनि संक्रमितलाई राखिएन आइसोलेसन
कर्णाली प्रदेश सरकारले कोरोना संक्रमण भएको ३१ घण्टा वित्दा पनि संक्रमित व्यक्तिलाई क्वारेन्टाईनबाट अलग गराएको छैन ।
आठबीस नगरपालिका वडा नं. एक दैलेखका ३५ वर्षका एक युवामा प्रदेश अस्पताल प्रयोग शाला सुर्खेतमा सोमबार विहान तीन बजे कोरोना संक्रमण भएको पीसिआर जाँचबाट पत्ता लागेको थियो । प्रदेश सरकारले उक्त स्वाव पुनः परिक्षण गर्ने बताउँदै भेरी अञ्चल अस्पतालमा स्वाव पठाएको थियो । त्यहाँ स्वाव पठाए पश्चात स्वास्थ्य मन्त्रालयले सोमबार राती सवा दश बजे कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।
‘३९ जनाको स्वावको जाँच सोमबार विहान तीन बजे सकिएको थियो । हामीले पोजेटिभ आइसकेपछि नै लाईन म्यानलाई जानकारी दिएका थियौं । त्यसपछि अन्यत्र खबर गएको हो,’ प्रदेश अस्पताल कालागाउँ श्रोतले लोकान्तरसँग भन्यो, ‘पोजेटिभ देखिएपछि मात्रै रि कन्फर्म गर्नको लागि स्वाव नेपालगञ्ज पठाइएको हो । हामीले यहाँ पोजेटिभ छ भनेर भनिसकेका थियौं ।’
उता, सोमबार विहान तीन बजे कोरोना संक्रमित भएको थाहा भएपनि स्थानीय तहका प्रतिनिधिलाई अहिलेसम्म कसलाई कोरोना संक्रमण भएको हो भन्ने जानकारी दिइएको छैन । ‘अहिलेसम्म न कोही टोली आएको छ न कसैले हामीलाई नाम बताएका छन्,’ आठबीस नगरपालिका वडा नं. एकका अध्यक्ष पर्वसिंह विश्वकर्माले भने, ‘अहिले जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसिरहेको सुनेको छु । अहिलेसम्म कोही पनि संक्रमित व्यक्ति लिनकालागि यहाँ आएका छैनन् ।’
क्वारेन्टाईनमा अहिलेपनि संक्रमितसँगै अन्य ३८ जना सँगै बसिरहेको उनको भनाइ छ । नगरपालिकामा सम्पर्क गर्दा केहि समयपछि आउने बताइएको उनको भनाइ थियो ।
जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले वडा नै सील नगरिएको बताएका छन् । ‘पालिकाले कसरी सील गर्यो । उसको अधिकार क्षेत्र भित्र पर्छ कि पर्दैन उसैले थाहा पाउने कुरा हो । हामीले वडा सील गरेका छैनौं । उनीहरू महेन्द्रनगरबाट आइ क्वारेन्टाईनमा राखेका कारण वडा सील नगरिएको हो,’ उनले भने, ‘सशस्त्र प्रहरी हामीले खटाएका छौं । केहि जनपद प्रहरी पनि खटाएका छौं ।’
कोरोनाबाट जोगिन सबै नागरिक सचेत बन्नु पर्ने बताउँदै उनले सामाजिक दुरी कायम गर्नुपर्ने बताए । ‘हामीले जानकारी दिएका छौं । खबर गरेका छौं । चेतना हरेक नागरिकले बढाउनु पर्छ,’ उनले भने, ‘१४ दिनपछि हामी बाँकी ३८ जनाको स्वाव जाँच गर्छौं । संक्रमित व्यक्तिलाई हामीले दैलेखमा ल्याई उपचार शुरू गरिसकेका छौं ।’ कन्ट्याक्ट ट्रेसिंगको काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीको भनाइ छ ।

