२०८३, १७ असार बुधबार

३१ घण्टा वित्दा पनि संक्रमितलाई राखिएन आइसोलेसन

सुर्खेत, ६ जेठ ।
कर्णाली प्रदेश सरकारले कोरोना संक्रमण भएको ३१ घण्टा वित्दा पनि संक्रमित व्यक्तिलाई क्वारेन्टाईनबाट अलग गराएको छैन । आठबीस नगरपालिका वडा नं. एक दैलेखका ३५ वर्षका एक युवामा प्रदेश अस्पताल प्रयोग शाला सुर्खेतमा सोमबार विहान तीन बजे कोरोना संक्रमण भएको पीसिआर जाँचबाट पत्ता लागेको थियो । प्रदेश सरकारले उक्त स्वाव पुनः परिक्षण गर्ने बताउँदै भेरी अञ्चल अस्पतालमा स्वाव पठाएको थियो । त्यहाँ स्वाव पठाए पश्चात स्वास्थ्य मन्त्रालयले सोमबार राती सवा दश बजे कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।
‘३९ जनाको स्वावको जाँच सोमबार विहान तीन बजे सकिएको थियो । हामीले पोजेटिभ आइसकेपछि नै लाईन म्यानलाई जानकारी दिएका थियौं । त्यसपछि अन्यत्र खबर गएको हो ।’ प्रदेश अस्पताल कालागाउँ श्रोतले लोकान्तरसँग भन्यो, ‘पोजेटिभ देखिएपछि मात्रै रि कन्फर्म गर्नको लागि स्वाव नेपालगञ्ज पठाइएको हो । हामीले यहाँ पोजेटिभ छ भनेर भनिसकेका थियौं ।’
उता, सोमबार विहान तीन बजे कोरोना संक्रमित भएको थाहा भएपनि स्थानीय तहका प्रतिनिधिलाई अहिलेसम्म कसलाई कोरोना संक्रमण भएको हो भन्ने जानकारी दिइएको छैन । ‘अहिलेसम्म न कोही टोली आएको छ न कसैले हामीलाई नाम बताएका छन् ।’ आठबीस नगरपालिका वडा नं. एकका अध्यक्ष पर्वसिंह विश्वकर्माले भने, ‘अहिले जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसिरहेको सुनेको छु । अहिलेसम्म कोही पनि संक्रमित व्यक्ति लिनकालागि यहाँ आएका छैनन् ।’ क्वारेन्टाईनमा अहिलेपनि संक्रमितसँगै अन्य ३८ जना सँगै बसिरहेको उनको भनाई छ । नगरपालिकामा सम्पर्क गर्दा केहि समयपछि आउने बताइएको उनको भनाई थियो ।