भेरीगंगालाई जोखिममा नपार्न उपप्रमुख आचार्यको आग्रह, सम्बन्धित पालिकालाई नागरिक लैजान अनुरोध
सुर्खेत, ५ जेठ ।
कर्णाली प्रदेशको प्रवेशद्धार भेरीगंगा नगरपालिकामा भारतका विभिन्न शहरबाट आएका नौ जना नागरिक अलपत्र परेका छन् । नगरपालिकाका उपप्रमुख रेणु आचार्यका अनुसार पचास जना आज विहान छिन्चुमा आएका थिए भने ती मध्ये ९ जनालाई घर पठाउन सकिएको छैन । ‘सुर्खेतका ३७ जना, दैलेखका ८ जना, रुकुम पश्चिमका तीन जना सल्यान र कालिकोटका एक एक जना गरी पचास जना आज विहान यहाँ आएका थिए । ति मध्ये ४१ जनालाई सम्वन्धित पालिकाले उद्धार गरि लगेको छ ।’ लोकान्तरसँग उनले भनिन्, ‘अहिले दैलेखको डुंगेश्वर गाउँपालिकाका दुइ जना, दुल्लु नगरपालिका दैलेखका एक जना, नारायण नगरपालिका दैलेखका दुइ जना, नौमुले गाउँपालिका दैलेखका तीन जना र कालिकोटका एक जना नागरिक छिन्चुमा अलपत्र परेका छन् ।’ उनले कोरोना संक्रमणको जोखिममा भेरीगंगा नगरपालिकालाई नपार्न आग्रह गरेकी छिन् ।

‘हामीलाई हाम्रै नगरपालिकाका नागरिकलाई व्यवस्थापन गर्न चुनौती थपिइरहेको छ ।’ उनले भनिन्, ‘अन्य जिल्लाका पालिकाका नागरिक यहि रहिरहे हामीलाई कोरोनाको जोखिम न्यूनिकरण गर्न समस्या हुने देखिएको छ । सबै पालिकाले आफ्ना नागरिकलाई लैजान अनुरोध गर्दछु ।’
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकि छिन्, ‘आज भारतबाट आएका नागरिक सुर्खेत बिनपा, चौकुने, बराहताल, बन्गाड कुभिन्डे नगरपालिका सल्यान, रुकुमका नागरिक सम्बन्धित पालिकाले लानु भयो तर दैलेख, दुल्लु नगरपालिका, नौमुले नगरपालिका, डुङ्गेस्वर नगरपालिका तथा कालिकोटका जनता अलपत्र परेका छन् सम्बन्धित नगरपालिकाको फोन उठेन । तुरुन्तै गाडी पठाइ आफ्ना नागरिक लैजान अनुरोध गरिन्छ । भेरिगङ्गा नगरपालिकाका नगरबासिलाई कोरोनाको जोखिममा नपारौ ।’
