कर्णालीको विकासकालागि नीजि क्षेत्रको भूमिका अनिवार्यः मुख्यमन्त्री शाही
सुर्खेत, ५ जेठ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकास र समृद्धिका लागि नीजि क्षेत्रको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् । लकडाउनको कारण उद्योग व्यवसायमा परेको असरका विषयमा जानकारी गराउन सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका उद्योग वाणिज्य संघ सुर्खेतका प्रतिनिधिहरुसँग कुरा गर्दै मुख्यमन्त्री शाहीले कोरोना संकटले विश्व अर्थतन्त्रलाई नै तहस नहस पारेको बताउँदै त्यसबाट कर्णाली पनि अछुतो नरहेको बताए ।
‘कोरोनका कारण हामी अहिले थप समस्यामा परेका छौं । विगत देखिन नै आर्थिक रुपमा पछि परेको यो प्रदेश यो संकटका कारण थप पछि पर्ने सम्भावना देखिएको छ ।’ मुख्यमन्त्री शाहीले भने, ‘यो संकटबाट माथि उठनका लागि, कर्णालीलाई माथि उठाउनका लागि नीजि तथा सरकारी क्षेत्र सहकार्य गरेर जानुको विकल्प छैन । यसकालागि आवश्यक सहयोग के गर्न सकिन्छ हामी तयार छौं ।’ उनले कर्णालीको विकासका लागि नीजि क्षेत्रको सहभागिता अनिवार्य रहेको भन्दै विकास र समृद्धिको अभियानमा नीजि क्षेत्रलाई पनि संगै लिईने बताए । उनले कोरोनाबाट जोगिन सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताए ।
‘अत्यावश्यक सामाग्रीको आपुर्ति वाहेकका अन्य व्यापार व्यवसाय तत्कालका लागि सञ्चालन गर्न सकिने अवस्था छैन ।’ उनले भने, ‘तत्काल नागरिकको जीवन सुरक्षा नै सरकारको प्राथमिक दायित्व हो । अहिले हामीले निकै नै संकटपूर्ण अवस्था भोगिरहेका छौं, संकट व्यवस्थापनका लागि सरकारले गरेका निर्णय कार्यान्वयन गर्नु सवै नागरिकको कर्तव्य हो ।’
मुख्यमन्त्री शाहीले प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम र वजेटको तयारी गरिरहेको वताउदै अहिलेको अवस्थामा सरकारले लिने नीतिका सम्वन्धमा नीजि क्षेत्रको सुझाव दिन आग्रह गरे । ‘कर्णालीको वस्तुगत अवस्थामा टेकेर पारदर्शी रुपमा आगामी नीति कार्यक्रम र वजेट निर्माण गर्ने सरकार सोच छ ।’ उद्योग वाणिज्य संघका प्रतिनिधिसंग मुख्यमन्त्री शाहीले भने, ‘अहिलेको संकटले नीजि क्षेत्रलाई पारेको असर सम्वोधन कसरी गर्न सकिन्छ ? तपाईहरुको सुझाव सरकारलाई चाहिएको छ ।’
