२०८३, १७ असार बुधबार

सेना प्रहरीको यातनाका भुक्तभोगि भण्डारी कर्णालीमा सेना प्रहरीकै कमाण्डर !

सुर्खेत, ४ जेठ ।
कर्णालीका एक चम्किला साहित्यकार, एक जोशलाग्दा र आशलाग्दा राजनीतिज्ञ अनि जनताप्रति सर्मपित व्यक्तिको नाम हो नरेश भण्डारी । सकेसम्म अरुकालागि काम गर्नुपर्ने मानसिकता बोकेका भण्डारी हाल कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रीका रुपमा कार्यरत छन् । जुम्ला जिल्लाको गुठीचौर गापा– ५, कुम्डी गाँउमा २०३५ असार ०१ गते जन्मेका मन्त्री भण्डारीले एम ए, राजनीतिशास्त्रमा गरेका छन् । हाल उनी नेपाल कम्युनिष्ठ पार्टी(नेकपा) केन्द्रीय सदस्यका रुपमा पनि कार्यरत रहेका छन् ।


१७ वर्षको कलिलो उमेरमा उनले आफ्नी आमा काशीकला गुमाउँदा उनलाई असहैय पीडा भयो । यो उनको लागि सबैभन्दा दुःखको क्षण हो । यो जस्तै उनले आफ्नो ९ वर्षको छोरा विधान भण्डारी पनि गुमाए । स्थानीय तहको दुइ दिन अघि मात्रै छोरा गुमाउनुको पीडा कस्तो हुन्छ भन्ने कुरा उनलाई थाहा छ । चुनाव प्रचारमा खट्ने कि काज क्रिया गर्ने कि उनलाई धेरै दुःख महसुस भयो । धेरै तनाव भयो । यद्यपी उनको बुबा नै चुनावमा अध्यक्षमा उठेका बेलामा छोराको निधनको शोकलाई बलिदानीको बलमा रुपान्तरण गरेर चुनावमा होमिए । उनका बुवा हरिबहादुर भण्डारी अहिले गुठिचौर गाउँपालिकाका अध्यक्षको रुपमा काम गरिरहेका छन् ।
उनको बुवा नेकपा मोटो मशालको प्रमूख संस्थापक भएका कारण उनी राजनीतिमा होमिएका हुन । उनको बुवा नै राजनीतिक यात्राको प्रेरणाको श्रोत हुन । ‘प्रचण्ड नेतृत्वको मोटो मशालको स्थापना बुवाले गर्नु भयो प्रमुख संस्थापक भएर । जुम्लामा । बुवाको गिरफ्तारी, भाइको गिरफ्तारी संकटकालमा भयो ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक ०६४ मा सभासद हुदा संविधानसभामा दर्ता गराए उनले । उक्त विधेयक पारित भयो । फलत स् विश्वविद्यालय स्तरको प्रतिष्ठान जुम्लामा स्थापना भएको छ ।
नेपालको संसदिय इतिहासमा सांसदले दर्ता गरेर पारित भएका गैर सरकारी तीन विधेयक मध्ये यो एक हो।उनी साहित्यकार पनि हुन । कविता कोर्नमा उनी माहिर छन भने साहत्यिमा उनले चाँदीको घेरा नामक कृतिको रचना पनि गरेका छन् । सर्यौं लेखहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । साहित्यले मानिसलाई स्वप्नील बनाउछ । यसले समाजको सेवा गर्छ । स्वप्नद्रष्टाहरुले मात्र समाजको अगुवााई गर्न सक्छन् भन्ने मान्यतामा प्रतिबद्ध छु । समाजसेवालाई लक्ष्य बनाएर हिडेका राजनीतिकर्मीले साहित्यप्रति रुची राख्नु पर्दछ । मेरोपनि रुची छ उनी भन्छन् ।
उनी २०५१ सालमा काठमाण्डौंमा रहेको इन्जिनियरिंग कलेज अध्यययन गर्दा गर्दै अखिल क्रान्तिकारीमा आवद्ध भए । त्यहाँ आवद्ध भइसकेपछि उनी अर्ध भूमिगत नै भए । २०५४मा उनी होलटाइमर कार्यकर्ता भइसकेपछि हनुमानढोकामा प्रहरीले उनलाई पार्टी प्रचार गर्दैगर्दा पक्राउ गर्यो । उतिबेला उनी ललितपुर अखिल क्रान्तिकारीको जिल्ला कमिटि सदस्य थिए । प्रहरीले निर्मम यातना दियो । उनी १७ दिन त्यहाँ बसालिए । हरेक दिन चर्को यातना खेप्न उनी पुगे ।
२०५९ सालमा जुम्लाकै गिटीखोलामा उनी सेनाको घेरामा परे । झ्ण्डै दश मिटर नजिकबाट सेनाले गोलि चलाईरहेको थियो । उनले उतिबेला गोली लाग्छ र मेरो आज नै अन्तिम दिन हो भन्दै भागेर बाँचेको बताए । यस्तै २०६० सालमा बर्दिया सदरमुकाममा पनि उनले पार्टी विस्तार अभियानका क्रममा सेनाको गोलीबाट धन्न ज्यान गुमाउनु परेको थियो । ‘यस्ता आक्रमणमा कति पटक परियो यादै छैन ।’ उनले भने ।
उनी तत्कालिन माओवादी निकट राष्ट्रिय बुद्धिजीवि परिषदका केन्द्रीय अध्यक्ष थिए । हाल नेकपाको केन्द्रीय सदस्य छन् । विगतमा सेना प्रहरीबाट निर्मम यातना पाएका तिनै व्यक्ति अहिले उनीहरुलाई नै चलाउने अवस्थामा छन् ।
साहित्यकार मन्त्रीलाई अहिले निर्मम बन्ने राज्यको कानून कार्यान्वयन गर्ने जिम्मा प्रदेश सरकारले दिएको छ । प्रदेश प्रहरी गठन नभएका कारण उनलाई कानून कार्यान्वयनमा समन्वयकारी भूमिका भएपनि केहि समयपछि प्रदेश प्रहरी गठन हुनेछ । अनि उनलाई कानून कार्यान्वयनमा कम्ता चुनौती आउनेछैन । राजनीतिक कार्यकर्ता देखि कर्मचारीका दबाब अनि प्रभाव पनि पर्नेछ । नियुक्तिका कुरा पनि हुनेछन । ‘म कसैसित आग्रह पूर्वाग्रह नगरी कानून कार्यान्वयनमा लाग्नेछु ।’ उनी भन्छन्, ‘प्रहरीले ज्यादती गर्नु भएन । जनमैत्री हुनुपर्छ । देश र जनतालाई केन्द्रविन्दुमा राख्दै आफ्नो ड्रयुटी प्रति प्रतिबद्ध प्रहरी निर्माणमा तल्लिन हुन्छु । कुनै बैरभाव छैन । त्यो हिजोको कुनै कालखण्ड थियो आजको अवस्था भिन्नै छ ।’
अहिले देशै कोरोनाको आतंकको चपेटामा छ तर भाग्यवश भनौं कर्णालीमा एकजनामा पनि कोरोना संत्रमण देखिएको छैन । कोरोना(कोभिड–१९) को त्रासदीबाट सिंगो विश्व आक्रान्त छ । ‘महामारीकारुपमा विस्तार भएको यो विश्वब्यापी समस्याका विरुद्ध जुध्नु मानवजातीकै प्रमुख अभिभारा हो । हाम्रो देश र कर्णाली प्रदेश स्पष्ट रणनीतिकासाथ भाइरसका विरुद्ध जुधिरहेको छ । यसलाई परास्त गर्ने प्रमुख हतियार लक डाउन हो । लक डाउनको सामना होइन, प्रभावकारी कार्यान्वयन गरिरहेका छौं । सुरक्षा संयोजन रविपद् व्यवस्थापन कार्यकारी समितिको संयोजकको जिम्मेवारीपनि मैले सम्हालेको हुदा कोरोना विरुद्धको लडाइँमा सक्रिय भुमिका निर्वाह गर्नै पर्दथ्यो ।’ उनी भन्छन्, ‘जनताको सेवा गर्ने अवसर पनि हो । लक डाउन निर्मम विकल्पपनि हो । कहिलेकाही भावनात्मक पक्षलेपनि प्रभाव पार्न खोज्थ्यो तापनि लक डाउनको प्रभावकारी कार्यान्वयन ग¥यौं । यो प्राणघातक रोगलाई परास्त गर्नुको विकल्प छैन् । कोरोनामाथि विजय हाँसिल गर्न कर्णाली प्रदेश सरकार स्पष्ट रणनीतिका साथ अगाडि बढिरहेको छ । यो भाइरसका विरुद्धको युद्ध आंशिक होइन समग्र युद्ध हो । तसर्थ रणनीति आबश्यक थियो, रणनीति बनायौं, रणनीतिको पथपर्दशनमा योजना र कार्यक्रम तय ग¥यौं, कार्यान्वयनका लागि हामीलाई अधिकार सम्पन्न संरचना आबश्यक हुन्थ्यो, क्याविनेट मन्त्रीहरुको नेतृत्वमा विभिन्न समितिहरु निर्माण ग¥र्यौ, रकम विनाको संरचना को अर्थ हुदैनथ्यो । रु ५० करोडको कोष खडा ग¥र्यौ । यो कठिन लडाईमा विजय हासिल गर्न एकल प्रयत्नबाट सम्भव हुदैनथ्यो । सरकारी, गैर सरकारी निकायविच समन्वय स्थापित ग¥यौं । जनतालाई कोरोना भाइसरका विरुद्ध सचेत पा¥यौं । प्रदेशब्यापी क्वारेन्टाइन निर्माणकालागि पहलकदमी अगाडी बढायौं । प्रदेशमा ३ वटा पीसिआर मेसिन जडान गर्नुकासाथै स्वास्थ्यकर्मीहरुको परिचालन ग¥यौं । हालसम्म कर्णाली प्रदेश कोरोनाबाट सुरक्षित प्रदेश बन्न सफल भएको छ ।’
जथाभावी नागरिकहरु ओसारेको आरोप पनि यी मन्त्रीलाई लकडाउनको अवधिमा लागेको थियो । भोक र कोरोना भाइरसको एकसाथ चपेटामा परेका नागकिहरुको पीडाबोध सरकारले गर्नै पथ्र्यो, सरकार भएको आभास दिलाउनै पर्ने महसुस भएको उनको भनाई छ । ‘घातक रोगसँग मात्र होइन, भोकसँग जुधिरहेका थिए । भुटानले आफ्ना केवल दुइजना नागरिकलाई आफ्नो देश लिन काठमाडौंमा जहाज पठायो । घर जान दुधे बालक बोकेर भोकै, प्यासै टन्टलापुर घाममा पैदल हिडिरहेको दृष्य सरकारले टुलुटुलु हेरिरहन सक्दैनथ्यो ? हेरेन । अलपत्र परेका आफ्ना नागरिकहरुको उद्धार गर्नु सरकारी दायित्व हो । मानवीय कर्तब्यपनि हो । उद्धार ग¥यौं । जथाभावी मानिस ओसारेको भन्दै प्रधानमन्त्रीले मलाई हप्काएको भनेर मिडियामा समाचार हेरेँ । त्यसमा सत्यता थिएन ।’ उनले भने ।
उनले मानवजातीको मुक्ति, समृद्ध नेपाल, सुखी नेपाली, समृद्ध कर्णाली र सुखारी कर्णालीबासीको संकल्प सार्थक तुल्याउने बाटो अबलम्बन गरिहेको र यसैलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।
‘कर्णाली रोग, भोक र अभावको पर्याय होइन। सम्पन्नता र समृद्धिको अर्को नाम हो कर्णाली । खस भाषा, सभ्यता र संस्कृतिको उद्गमस्थल सिंजा, अनवरत जलेर, बगेर खेर गइरहेको ग्यास भण्डार दैलेख ज्वाला क्षेत्र, प्रकृतिको उपहार रारा कर्णालीमा पर्दछन् । सुनजतीकै मुल्यवान यार्चागुम्बाजस्ता जडीबुटी कर्णाली प्रदेशका सम्पति हुन् । यो प्रचुर सम्भावनायुक्त प्रदेश हो ।’ उनी भन्छन्, ‘म त समृद्धिको साँचो कर्णालीमा छ भन्छु । कर्णालीमा लागेको गरिबीको भोटे ताल्चा खोल्ने हो भने सिंगो मुलुककको समृद्धिको ढोका खुल्छ । मेरो देखाई, भोगाई र बुझाइको कर्णाली यही हो ।’
जीवनका विभिन्न परिभाषाहरु छन् । उनको बुझाई र भोगाइमा जीवन एक संघर्ष हो । प्रकृतिको एक अतुल्य उपहार हो ।