२०८३, १७ असार बुधबार

लकडाउनका बेला खाद्यान्नले बनायो ‘तीन जना’ बेपत्ता !

सुर्खेत, ३ जेठ ।
लकडाउनको समयमा खाद्यान्न अभाव भएपछि खाद्यान्न खरिद गर्न चौकुने आई कैलाली र्फिकएका तीन जना डुंगा पल्टिदा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रबार साँझ ४ बजे चौकुने गाउँपालिकाको वडा नं. २ धुम्म बजारमा कैलालीबाट सामान लिन आइ खरिद गरि फर्किएका एक महिला सहित तीन जना बेपत्ता भएका हुन ।
बेपत्ता हुनेमा चौकुने गाउँपालिका–२ धमु डम्मर विकका १० वर्षिय छोरा हिरु विक, मोहन्याल गाउँपालिका– २ कोलतडीकी २५ वर्षिय मानकुमारी विक र उनका ४ वर्षिय छोरा धन बहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए । उनका अनुसार लकडाउनका कारण सुर्खेततिरबाटका पुल, डुङ्गाहरु सबै बन्द भएपछि कैलालीबाटै उनीहरु डुङ्गा चढेर खाद्यान्न लिन आएको र खाद्यान्न लिएर फर्कने बेलामा डुंगा पल्टिएको हो ।
‘चौकुने–२ धमुमा माइत आएको बेला पारी कैलालीबाट डुङ्गा ल्याई लुकीछिपी जाँदा शुक्रबार साँझ साढे ४ बजे घटना घटेको जानकारी आयो,’ उनले भने, ‘कैलालि तिरको घटना भएका कारण हामीले कैलाली प्रहरीलाई खबर गरि दिएका छौं । अन्य छानविन उहाँहरुले नै गर्नुहुन्छ ।’


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शम्सेर राणाले तीन जना वेपत्ता भएको बताए । ‘इलाका प्रहरी कार्यालय पाण्डौंनबाट टोली खटाएका छौं । खाद्यान्न खरिद गरि फर्केको भन्ने कुरा सुन्नमा आएको छ । त्यहि समयमा डुंगा दुर्घटना भएको खबर हामीले पनि पाएका हौं ।’ एसपी राणाले भने, ‘घटनास्थलबाट नजिकको बजार सुख्खड आउन चार पाँच घण्टाको दुरी छ । सुख्खड आउन चार पाँच घण्टा लाग्छ । पाण्डौनबाट तीन घण्टामा घटनास्थल पुगिन्छ ।’ डुंगा चालकलाई प्रहरलिे खोजिरहेको बताउँदै उनले के कारणले पल्टिएको हो भन्ने कुरा केहि समयपछि थाहा हुने बताए । डुंगा सुर्खेतको चौकुने गाउँपालिका–२ को धमुबाट कैलालीको मोहोन्याल गाउँपालिका–२ कोलतडी गइरहेको समयमा पल्टिएको हो ।
यसैबीच, रुखबाट खस्दा सुर्खेतमा एक जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सुखेृतले जनाएको छ । ‘शनिबार विहान वीरेन्द्रनगर १६ मेहलीका ३८ वर्षका सुरबहादुर खड्का रुखमा घाँस काटिरहेको बेला खसेका थिए ।’ प्रहरी निरीक्षक रायमाझीले भने, ‘उहाँलाई उपचार गर्न प्रदेश अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यू भएको हो । उनको पोस्टमार्टम हुन बाँकी छ ।’