२०८३, १७ असार बुधबार

भेरीगंगाको क्वारेन्टाईनमा बसेका नौ जनालाई विना आरडिटी जाँच घर पठाइयो

सुर्खेत, २० बैशाख ।
छिमेकी जिल्ला बाँकेमा कोरोना संक्रमण भएको भन्ने खबर आइरहँदा भेरीगंगा नगरपालिका छिन्चुमा १४ दिन क्वारेन्टाईन बसेकालाई आरडिटी जाँच नगरिकनै घर पठाइएको छ । बैशाख ६ गते सिन्धुपाल्चोक, गोरा, कोहलपुर भएर आएका ती नौ जनामा एक जनाको मात्रै जाँच गरिएको र अन्यको जाँच नै नगरी घर पठाइएको हो ।
‘कम्तिमा क्वारेन्टाईनमा बसेकालाई आर डि टी जाँच गरेर घर पठाउनु पर्नेमा त्यस्तो गरिएन ।’ श्रोतले भन्यो, ‘उनीहरु १४ दिन क्वारेन्टाईनमा बसेपछि घर पठाइएका हुन । यसरी जाँ विनै गाउँ पठाउनु झन जोखिम हुने देखियो ।’
भेरी गंगा नगरपालिकाका स्वास्थ्य संयोजक राजेश बुढाले किट अभाव भएका कारण एक जनाको जाँच गरेर नौ जनालाई घर पठाइएको बताए । ‘२२२ जना अहिले क्वारेन्टाईनमा बसिरहेका छन् । नौ जना आज छोडेका छौं । बाँकी २१३ जनालाई बैशाख ३०गतेसम्म छोडने तयारी छ । छिन्चु, लादे र झिग्नेमा अहिले क्वारेन्टाईन निर्माण गरिएको छ ।’ उनले भने, ‘हामीलाई ५४ वटा मात्रै आरडीटि जाँ किट दिइएको थियो । सबैलाई जाँच्न यसले सम्भव नै भएन ।’ आफूले जिल्ला स्वास्थ्य कार्यालय, प्रदेशको सामाजिक विकास मन्त्रालयमा पर्याप्त किट दिन माग गरेपनि नपाइएका कारण उनीहरुलाई जाँच विनै पठाइएको बताए । उनले प्रदेश बाहिरबाट किट मगाउन खोजेपनि सम्भव नभएको बताए ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले सुर्खेतमा १४८८ जना क्वारेन्टाईनमा रहेको बताउँदै उनीहरुमध्ये केहि व्यक्तिको मात्रै आरडिटी जाँच गरिदै आएको बताए । ‘अहिले हामीसँग तीन सय जति मात्र किट छ । काठमाडौंमा पनि किट अभाव भएको अवस्था छ ।’ उनले भने, ‘जोखिम लेखाजोखा गर्दा समेत उहाँहरुमा कुनै पनि लक्षण नदेखिएको, रुघा ज्वरो नदेखिएको ले उहाँहरुलाई घर पठाइएको हो । शंकास्पद भएको खण्डमा पिसिआर नै जाँच गर्ने भनेका छौं । उनले भारतबाट आएका वा अन्य देशबाट आएका नागरिकको आरडीटि जाँच गरिसकेको बताउादै शंका लागेको खण्डमा मात्रै जाँच गर्ने गरिएको बताए ।