दैलेख सिडियोले रोके १७ वटा बस, यात्रुको विवरण नल्याएसम्म बस दैलेख प्रवेश गर्न नदिने
सुर्खेत।
जिल्ला प्रशासन कार्यालय दैलेखले आफ्नो सिमानामा आएका बसहरुलाई रोकेको छ । आइतबार विहान देखि गुराँस गाउँपालिकाको रातानांग्लामा १७ वटा बसहरु दैलेख प्रवेश गर्न नदिएर प्रशासनले रोकेको हो । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले दैलेखमा जथाभावी जो कोहीलाई प्रवेश गर्न नदिइने बताए ।
‘उहाँहरु कहाँबाट आउनु भएको हो । कता जाँदै हुनुहुन्छ ? कति जना हुनुहुन्छ, को को हुनुहुन्छ भन्ने पूर्ण विवरण नभएपछि मैले जिल्ला प्रवेशमा रोक लगाएको हुँ ।’ उनले भने, ‘कोरोना संक्रमण दैलेखमा नहोस भन्ने उदेश्यका साथ कडाई गरेको हो । भोली कसैमा कोरोना संक्रमण देखिएका खण्डमा उनीहरुलाई ट्रेसिंग गर्न सजिलो भएका कारण रोकेका हौं । पूर्ण विवरण हामीले पाएको खण्डमा गाडी जान दिन्छौं ।’
उनले विवरण आएसँगै दैलेखको सिमानामा नबस्ने वा नझर्ने शर्तमा गाउँ जान दिइने बताए ।
