दैलेख सिडियोको उत्कृष्ट काम, पालिकासँग समन्वय गर्दै नागरिकको उद्धार

सुर्खेत, ८ बैशाख ।
जिल्ला प्रशासन कार्यालय दैलेखले आफ्नो सीमानामा कोही पनि नागरिक अलपत्र पर्न नदिने र सम्भव भएसम्म दैलेखका नागरिक अन्यत्र अलपत्र नदिने रणनीति तय गरेको छ । ‘हामीले दैलेखका कोही पनि नागरिक बाटोमा अलपत्र नपरुन भन्ने हिसाबले योजना बनाई सम्वन्धित पालिकामा नै पठाउने व्यवस्था मिलाएका छौं । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भने, ‘शनिबार तीस जना, आइतबार तीस जना र सोमबार तीस जना नागरिकको बबई देखि उद्धार गरेका छौं । उहाँहरुलाई गाउँ पठाइरहेका छौं ।’ उनका अनुसार दैलेख जिल्लाका कुनैपनि स्थानीय तहका नागरिक कर्णालीको सिमामा अलपत्र परेको खण्डमा गुराँस गाउँपालिकाले उद्धार गर्ने, उनीहरुलाई खाना खुवाउने र आएका नागरिकको आरडिटी जाँच गर्ने गरिएको छ । आरडीटि परीक्षण पश्चात जिल्ला प्रशासन कार्यालयको समन्वयमा सम्वन्धित स्थानीय तहले आफ्ना नागरिकलाई लैजाने व्यवस्था मिलाएको उनको भनाई छ ।
दैलेख जिल्ला भएर आएका बर्दियाका नागरिकलाई खाना खुवाउने काम गरेको जिल्ला प्रशासन कार्यालय दैलेखले आफ्ना नागरिकलाई आवश्यक पर्ने पासकालागि कार्यालय धाउनुपर्ने व्यवस्थाको अन्त्य गरेको छ । ‘हामीसँग पास लिनको लागि यहाँ आउनै पर्दैन । जिल्ला प्रशासन कार्यालयको मेलमा वा भाइबरमार्फत निवेदन दिएको खण्डमा इमेलमार्फत वा भाइबरमार्फत भएपनि पास पठाउने गरिएको छ ।’ उनले भने, ‘यसबाट प्रविधिको उच्च प्रयोग गर्दै आम नागरिकलाई राहत होस भन्ने उदेश्यले यो काम सुरु गरेका हौं ।’
जिल्ला प्रशासन कार्यालय दैलेखले आफ्ना नागरिकलाई घरसम्म पुर्याउन महत्वपूर्ण सहयोग गरेको आफूले पाएको आठबीस नगरपालिका ९ का दानसिंह सिजापतीले जानकारी दिए ।
दैलेख जिल्लामा एघार वटा स्थानीय तह रहेका छन् ।
