२०८३, १७ असार बुधबार

नवलपरासीदेखि पैदल कर्णाली सिमामा आएका मजदुरको उद्धार गर्दै कर्णाली सरकार

शेरबहादुर थापा

सुर्खेत, ६ बैशाख ।
गाउ मा रोजगारीको अवसर नभएको र कमाई अभावमा जीवन जीउन समस्या हुने भन्दै काम गर्न नवलपरासी गएका मजदुर कर्णाली प्रवेश गर्न नपाउँदा बर्दियाको बबईमा अलपत्र परेका छन् । गत फागुनमा सडक निर्माण गर्न भन्दै कालिकोटको खाँडाचक्र नगरपालिका र दैलेखको आठबीस नगरपालिकाबाट नवलपरासीको बौद्धकालि गाउँपालिका एक मचेडीमा गएका नागरिकहरु खान बस्न समस्या भएपछि पाँच दिनको लामो यात्रा तय गर्दै बबईमा आइपुगेका हुन । उनीहरु शुक्रबार राती ११ बजे कर्णाली प्रदेश र पाँच नम्बर प्रदेशको सिमा बबईमा पुगेका थिए ।
‘हाम्रो त्यहाँको बसाई पालमा थियो । रासनपानी सकियो । दाल भएको बेला चामल नपाईने, तरकारी भएको बेलामा दाल नपाईने, राशन भएको बेलामा पानी नपाईने अवस्था आयो । तीन चार रात हामी त्यहाँ भोकै सुत्ने अवस्था आएको थियो । गाउँमा पानि लिन जानुपर्ने तर स्थानीयले खानेपानी प्रयोग गर्न नदिएपछि हामीसँग अन्य कुनै विकल्प भएन । त्यहि भएका कारण हामी सबैजना गाउा फर्किएका हौं ।’ नवलपरासीबाट आएका आठबीस नगरपालिका वडा नं. ९ छेपाडिका ददिराम विश्वकर्माले भने, ‘त्यहाँ हामीले तीन वटा सर्प पनि मारेका थियौं । सर्पको विगविगि एकातिर अर्कोतिर खाना नै नपाउने अवस्था भएका कारण हामी पैदलै भएपनि फर्कन विवश भयौं ।’ खर्चपानी सबै सकिएको, त्यहाँ बसेको खण्डमा अन्यबाट सहयोग पाउने अवस्था नदेखेका कारण आफुहरु जोखिम मोलेरै भएपनि पैदल नै आएको विकको भनाई थियो ।
उनीसहित त्यहाँ मजदुरी गर्न गएका ३८ जनाको समूहलाई प्रहरीले गएराती एक बोत्तल पानी दिएको थियो भने एक चाउचाउ दिएको खाँडाचक्र २ का कलबहादुर खड्काले बताए । ‘हामीले पाँच दिनदेखि भात खान पाएका थिएनौं । पाँच दिनमध्ये तीन दिन हामी पैदल नै हिंड्यौं । कावासोती गाउँपालिकाका अध्यक्षले हामीलाई गाडीको व्यवस्था गरेर बुटवल पुर्याइदिए । बुटवलबाट त्यहाँका प्रहरीले हामीलाई बबईसम्म गाडीमा पठाइदिएका हुन् । अहिले हामी आफ्नो प्रदेशमा प्रवेश गर्न पाएनौं ।’ उनले भने, ‘आज विहान आफूले ल्याएको भाँडामा बबई नदिको किनारमा गई भात पकाई खाएका छौं । प्रदेश सरकारले हामीलाई उद्धार गर्छ कि भन्ने अपेक्षामा हामी बसेका छौं ।’ आफुहरु प्रदेशको सिमामा आइसकेको बताउँदै अबको रात कर्णालीमा नै बताउने आशा गरि पर्खिरहेको लोकान्तरलाई बताए ।
यता, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आजै उनीहरुको उद्धार गरि वीरेन्द्रनगर ल्याईने बताए । ‘हामी सीमामा कुनै पनि नागरिकलाई अलपत्र पर्न दिदैंनौं ।’ मन्त्री भण्डारीले भने, ‘आजै उहाँहरुलाई सीमाबाट उद्धार गरेर वीरेन्द्रनगर ल्याउँछौं । उहाँहरु सबैलाई क्वारेन्टाईनमा राख्ने तयारी गरेका छौं ।’