कोरोना त्रासका बेला जुम्ल्याहा जन्मेका बच्चाको नाम कोरोना र भाइरस राखियो
सुर्खेत, १ बैशाख ।
कर्णाली प्रदेशको हुम्ला जिल्ला सिमिकोटमा जन्मिएका जुम्ल्याहा बच्चाको नाम कोरोना र भाइरस राखिएको छ ।
सिमकोट गाँउपालिका–८ स्थित ८ याङ्गकी बिरमता शाहीले कोरोना त्रासका बेला जुम्ल्याहा छोरा र छोरी जन्माएपछि उनीहरुको नाम कोरोना र भाइरस रखिएका प्रसुति गृहकी सिनियर अनमी सरिता बोहराले जानकारी दिईन ।
‘पहिले जन्मेकी छोरीको नाम कोरोना राखिएको छ भने पछि जन्मेका छोराको नाम भाइरस राखिएको छ ।’ उनले भनिन्, ‘ जुम्ल्याहा बच्चाको आमा बिरमति शाही र बुबा हस्तबहादुर शाहीले नै सहमति दिएपछि अस्पातलको पुर्जामै सो नाम राखि दिएका हौं ।’
स्वास्थ्य सेवा कार्यालय हुम्लाकी सिनियर अनमी बोहराका अनुसार जन्मिदा कोरोनाको तौल दुई किलाे पाँच सय ग्राम र भाइरसको तौल एक हजार सात सय ग्राम भएको बताइन् । जिल्ला स्वास्थ्य कार्यालयको प्रसुति गृहमा आमा र बच्चा रहेका छन् उनीहरुको स्वास्थ्य सामान्य रहेको अनमी बोहराको भनाई छ ।
