२०८३, १७ असार बुधबार

नयाँ वर्षको शुभकामना दिदैं मुख्यमन्त्री शाहीले भने, आशलाग्दा काम शुरु गर्न सफल भयौं

सुर्खेत, १ बैशाख ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नयाँ वर्षको अवसरमा शुभकामना दिएका छन् । सरकार बनेको छोटो अवधिमै अत्यावश्यक कानुन तर्जुमा, प्रदेश सरकारको संगठन संरचना तर्जुमा एवं आवश्यक कार्यालयहरुको स्थापना, आपतकालीन उद्धार तथा राहत वितरण, सबै कर्णालीवासीको विपद दुर्घटना विमाको व्यवस्था, ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम कार्यान्वयन, अर्गानिक प्रदेशको आधार तयारी, कृषकका लागि व्याज अनुदान जस्ता महत्वपूर्ण कामहरु भएको मुख्यमन्त्री शाहीले बताएका छन् ।
‘कर्णालीको समग्र विकासका लागि भौतिक पूर्वाधारको विकास पहिलो शर्त हो । यस दृष्टिकोणका साथ यो आर्थिक वर्षभित्रै सडक सञ्जालमार्फत् कर्णालीका सबै जिल्ला सदरमुकामहरूलाई प्रदेश राजधानीसँग जोड्ने लक्ष्यका साथ प्रदेश सरकार लागिरहेको छ । सुर्खेत उपत्यकाभित्रका सडकहरुको स्तरोन्नति, कृषि सडकहरुको निर्माण, सिंचाई–खानेपानी योजना लगायतका कामहरु पनि परिणाममुखी रुपमा अघि वढेका छन् ।’ मुख्यमन्त्री शाहीले आफ्नो सन्देशमा भनेका छन्, ‘यसको साथै कर्णाली प्रदेशको जीवनरेखाका रुपमा रहेको जमुनाहा–हिल्सा द्रुतमार्ग निर्माणका लागि चिनियाँ सहयोगमा सम्भाव्यता अध्ययन कार्य पूरा गरी निर्माण कार्यको पहल, सुर्खेत उपत्यका चक्रपथको विस्तृत परियोजना प्रतिवेदन तयारी लगायतका आशलाग्दा कामहरुको शुरुवात गर्न पनि प्रदेश सरकार सफल भएको छ ।’
विकास र समृद्धिको अभियानमा अगाडि बढ्दै गर्दा अप्रत्यासित रुपमा कोरोना भाइरस (कोभिड–१९)ले निम्त्याएको संकट आइपुगेको मुख्यमन्त्री शाहीको भनाइृ छ । ‘विश्व मानवजातिका विरुद्ध खडा भएको यो संकटले हामीलाई विकास र समृद्धिको अभियानबाट विचलित वनाउने छैन बरु यो संकटको सामना गर्न हामी सक्षम हुनेछौं ।’ उनले भने, ‘प्रदेश सरकार सम्पूर्ण साधनश्रोत तथा संयन्त्रको परिचालनसहित अप्रत्यासित रुपमा आइपरेको यो संकट निवारण गर्न लागिपरेकोले कोही पनि नागरिक त्रसित एवं निराश नहुन आग्रह गर्दछु । बरु यस महामारीको सम्भावित जोखिम रोकथामका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेका प्रयासलाई सबै नागरिकहरुले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुहुने विश्वास लिएको छु । सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र स्वास्थ्य सावधानी अपनाउन अनुरोध गर्दछु ।’
उनले आइपरेका सबै बाधा, अवरोध र चुनौतीहरुलाई पन्छाउँदै विकास र समृद्धिको अभियान सफल बनाई समतामुलक समृद्ध समाजवादी देश निर्माणमा सफल हुने विश्वाससहित नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना दिए ।