मुख्यमन्त्री प्रधानमन्त्रीबीच भिडियो कन्फ्रेन्स, भारत तथा अन्य देशका नागरिकको उद्धार गर्न माग

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रधानमन्त्री केपि शर्मा ओलीबीच शनिबार भिडियो कन्फ्रेन्समार्फत कुराकानी भएको छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम, नियनत्रण तथा उपचारका लागि संघ, प्रदेश र स्थानीय सरकारले गरिरहेका कामकारवाही र आगामी योजनाका सन्दर्भमा प्रधानमन्त्री केपि शर्मा ओलीद्वारा आयोजना गरिएको सात वटै प्रदेशका मुख्यमन्त्रीसंगको भिडियो कन्फ्रेन्समा कर्णाली प्रदेशको अवस्थाका बारेमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिएका हुन् ।
‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले गरेका कामहरूको जानकारी गराएको हो ।’ मुख्यमन्त्री शाहीले भने, ‘प्रदेशमा आवश्यक स्वास्थ्य सामाग्रीको आपुर्ती व्यवस्था, तिव्रगतिमा कोरोना परिक्षण भइरहेको बारेमा प्रधानमन्त्री ज्यूलाई मैले जानकारी दिएँ ।’ कोरोनको उच्च जोखिममा भएपनि कर्णालमिा कोरोना संक्रमित भएको प्रमाणित नहुनु खुशीको कुरा भएको बताउँदै मुख्यमन्त्री शाहीले कर्णालीका नागरिकहरुको व्यवस्थापन तथा उद्वार कार्यमा सहयोग गरिदिन आग्रह गरेका छन् । ‘कर्णालीका हजारौं युवाहरु अहिले भारतका विभिन्न शहरमा अलपत्र परिरहेको खबर आइरहेको छ । उनीहरुको रोजगारी कोरोनाले खोसेको छ । ठाउँ ठाउँमा अलपत्र परेको खबर आइरहेको छ ।’ मुख्यमन्त्री शाहीले भने, ‘संघीय सरकारले भारतसरकारसँग कुराकानी गरेर भएपनि ती नागरिकलाई त्यहि बस्ने व्यवस्था गरोस वा कर्णाली फर्काउन पहल गरिदिन आग्रह गर्दछु ।’ उनले कोरोनालाई नियन्त्रण गर्न लकडाउनको अवधि बढाउन सरकारलाई आग्रहसमेत गरेका छन् ।
