सुर्खेतमा कोरोना परिक्षण सुरु,पहिलो टेस्ट नेगेटिभ
सुर्खेत, २० चैत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालमा कोरोना रोगका शंकास्पद विरामीको थ्रोव स्वाव टेस्ट गर्न सुरु भएको छ । बुधबार विहान साढे दश बजे संघीय सरकारले हेलिकप्टरबाट पठाएको आरटि–पिसिआर मेसिन बुधबार साँझ साढे दश बजे फिट गरिएको थियो । विहीबार सवा १२ बजे एक जनाको स्याम्पल जाँच गरिएको थियो भने उक्त जाँच नेगेटिभ आएको स्वास्थ्य सेवा निर्देशक रिता भण्डारी जोशीले जानकारी दिईन । ‘पहिलो टेस्ट हामीले गरेका छौं । अन्य टेस्टहरु पनि भइरहेका छन् । पहिलो टेस्ट भारतबाट आएका एक जनाको गरिएको हो । उक्त टेस्ट नेगेटिभ आएको छ ।’ उनले भनिन, ‘हामीले हरेक दिन बेलुका पाँच बजे परिक्षणको नतिजा सार्वजनिक गर्ने भएका छौं ।’
यता, उक्त मेसिन प्रदेश अस्पतालमा रहेको टिभी कल्चर ल्यावमा जडान गरिएको स्वास्थ्य सेवा निर्देशनालयका ल्याव युनिट इन्चार्ज ओम आचार्यले विहीबार विहान क्वारेन्टाईनमा बसेका चार जनाको स्याम्पल ल्याइएको र ती स्याम्पलको जाँच भइरहेको जानकारी दिए । स्याम्पल जाँच गर्नका लागि प्रयोगशाला विज्ञको रुपमा काठमाडौंबाट रामकृष्ण श्रेष्ठको नेतृत्वमा एक टोली आएको र उक्त टोलीले यहाँका ल्याव टेक्निसियनहरुलाई सिकाइरहेको उनको भनाई छ ।
‘अहिले उहाँहरुले हामीहरुलाई तालिम दिइरहनु भएको छ । ६ जनाले प्रयोगशालामा सिकिरहेका छौं । चैत २४ गते उहाँहरु फर्किनुहुन्छ । त्यसपछि हामी आफैं परिक्षण गर्छौं ।’ उनले भने, ‘एक घण्टामा एक रिर्पोट निकाल्न सकिने रहेछ । हामी १८ घण्टा काम गरेर भएपनि १५ वटा जाँच गर्ने लक्ष्यसहित अघि बढिरहेका छौं ।’ हाल पाँच सय टेष्टकालागि सामान उपलब्ध भएको उनको भनाई छ ।
‘प्रयोगशालामा अहिले पनि पूवाृधार अभाव भएको छ । काठमाडौंबाट आवश्यक सामानहरु ल्याउन लकडाउनका कारण चुनौती छ ।’ उनले भने, ‘चाहिनेजति भौतिक पूर्वाधार, एअरप्रुफ हुने स्थान आवश्यक छ ।’ हाल ल्याव टेस्ट गर्ने जनशक्तिकालागि २० सेट जति पिपिई रहेको उनले जानकारी दिए । ‘हाल २० सेट जति ए लेभलको पिपिई हामीसँग छ । आवश्यक परेको खण्डमा स्वास्थ्य सेवा निर्देशनालयले उपलब्ध गराउला ।’ उनले भने, ‘यसका अलावा हामीसँग जनशक्ति पनि अभाव छ । जनशक्तिको वयवस्थापन गर्न आवश्यक छ ।’
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले प्रदेश अस्पतालमा ल्याव सुरु गरि जाँच कार्य सञ्चालन गरिएको बताउँदै कर्णाली प्रदेश भरि कम्तिमा ४५ जनाको् दैनिक रुपमा जाँच गर्न सके राम्रो हुने बताए । ‘अहिले हामीसँग अन्य भौतिक पूर्वाधार निर्माण भइसकेको छैन । जुम्लामा रहेको कर्णाली स्वास्थ्य प्रतिष्ठानमा एक वटा र प्रदेश अस्पतालमा अर्को एक ल्याव सथापना गर्न सकेको खण्डमा कर्णालीमा भारतबाट आएका नागरिकहरुको समेत स्वाव जाँच गर्न सकिन्थ्यो ।’ उनले हाललाई भारत बाहेक अन्य देशबाट आएका शंकास्पद व्यक्तिहरुको टेस्ट अनिवार्य गर्न निर्देशन दिएको बताए ।
‘हाल विदेशबाट आएकाहरुको जाँच गर्ने काम सुरु भएको छ । त्यसपछि भारतबाट फर्किएका नेपालीको जाँच गरिनेछ ।’ उनले भने, ‘सकेसम्म कर्णालीमा कोरोना नदेखियोस भन्ने तिर हामी केन्द्रीत छौं । कथंकदाचित देखिहालेपनि त्यसलाई रोक्न अहोरात्र खटिरहेका छौं ।’
