२०८१, २८ फाल्गुन बुधबार

विकासको गति व्रेक थ्रो हुन सकेन : मन्त्री ज्वाला

आथिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशको विकासको गति व्रेक थ्रो गर्न नसकिएको बताएका छन् । उनले कर्णालीको भौगोलिक बनोट तथा विविध कारणले गर्दा सोचे अनुरुपको विकास गर्न नसकिएको बताए। आर्थिक पत्रकार महासंघले बिहीवार वीरेन्द्रनगरमा आयोजना गरेको सार्वजनिक वित्त व्यवस्थापन कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन्।

‘पुरानै सोचाई कायम हुँदा सोचेअनुरुप विकास हुन सकेन’ उनले भने, ‘जसले गर्दा विकास बजेट उत्साहजनक खर्च गर्न सकेका छैनौ ।’ कतिपय अवस्थामा काम भएतापनि प्रगति देखाउन नसकिएको मन्त्री ज्वालाको भनाई छ ।
उनले कर्णाली प्रदेश राजश्व संकलनमा सुधार हुँँदै गइरहेको जानकारी दिए । मन्त्री ज्वालाले संघीय सरकारसंग समन्वय गरेर जडिबुटिमा लगानी गर्न सके राजश्वको परिमाण अझ बढाउन सक्ने बताए ।
उनले श्रोतका हिसावले कर्णाली प्रदेश श्रोत साधन, सम्पदा, खनिज र जलस्रोतले सम्पन्न भएपनि उपयोगमा नआएको बताए । कर्णालीमा रहेका श्रोतसाधनलाई सदुपयोग गर्न सके यहाँको आर्थिक अवस्था छिट्टै माथि उठ्न सक्ने उनको भनाई थियो । त्यस्तै, मन्त्री ज्वालाले पत्रकारहरुलाई विज्ञता सहित आर्थिक क्षेत्रमा रिपोटिङ गर्न पनि सुझाव दिए ।
कार्यक्रममा नेपाल आर्थिक पत्रकार महासंघका अध्यक्ष भिम गौतमले राज्यका हरेक ठाउँमा सहि तरिकाले बजेट उपयोग गर्नुपर्ने भन्दै यसको लागि पत्रकारले खोजमुलक समाचारका माध्यमबाट झक्झक्याउनुपर्ने बताए । कार्यक्रममा प्रदेश लेखा नियन्त्रक मानबहादुर बम लगायतले आर्थिक विटमा पत्रकारले कसरी र कस्ता कुरामा रिपोटिङ गर्ने भन्ने बारेमा जानकारी दिए ।