२०८१, २७ फाल्गुन मंगलवार

कोरोना विरुद्ध रक्षा पंक्ति तयार हुनुपर्नेमा जोड, कपुरकोटमा हेल्थ डेस्क स्थापना

शंकर के सी,

सल्यान, ३० फागुन ।

विश्वलाई नै त्रसित बनाईरहेको कोरोना भाईरस (कोभिड १९) को सम्भावित जोखिमबाट बच्न कर्णाली प्रदेशको नाका सल्यान कपुरकोटमा स्वास्थ्य सहायकता कक्ष (हेल्थ डेस्क) स्थापना भएको छ । शुक्रबार कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारी सहितको टोलि कपुरकोट आएर हेल्थ डेस्क स्थापना गरेको हो ।

शुक्रबार कपुरकोट स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितीका अध्यक्ष मिन बहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक भण्डारीले हाललाई स्थानीय तहका स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गरि हेल्थ डेस्क संचालन गरिने बताइन् । कपुरकोट स्वास्थ्य चौकीका ईन्चार्ज देवेन्द्र कुमार सेनले शनिबार विहानैबाट हेल्थ डेस्कमा ३ जना कर्मचारी खटिने जानकारि दिए । कपुरकोट स्थित प्रहरी चेक पोइन्ट नजिकै हेल्थ डेस्क स्थापना गरिएको छ । केहि दिनमै प्रदेशबाट थप जनशक्तिको व्यवस्थापन गरिने निर्देशक भण्डारीलेजानकारि गराइन् ।

कर्णाली प्रवेश गर्ने प्रमुख नाका बबई, हुम्लाको हिल्सा र सुर्खेत विमानस्थलमा हेल्थ डेस्क निर्माण भइसकेको छ । खास गरेर सार्वजनीक यातायातका साधनमा आउने यात्रुहरुलाई झारेर कपुरकोट स्थित हेल्थ डेस्कमा उनीहरुको ज्वरो जाँच गरिने छ । भण्डारीले भनिन्, ‘मुख्य तथा कोरोना भाइरसका प्रमुख लक्षणहरु १००.४ डिग्रि फरेनहाइट भन्दा माथी ज्वरो आउनु, सास फेर्न गाह्रो हुनु र रुघा खोकी लाग्नु भएकाले हेल्थ डेस्कमा नाकाबाट आउने यात्रुहरुको ज्वरो जाँच गर्छौँ र आवश्यक सल्लाह सुझाव प्रदान गर्छौँ ।’ भारतबाट आउने नेपालीहरुमा कोरोना भाइरस आउन सक्ने जोखिम देखिएकाले नाकामा हेल्थ डेस्क राखिएको उनले बताइन् । भाइरस विरुद्ध रक्षा पंक्ति तयार गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेकोमा जोड दिदै उनले स्वास्थ्यकर्मीबाट मात्रै सम्भव नभएकाले सामाजिक रुपमा लागेर कोरोना भाइरसको जोखिमलाई निम्तन दिन नहुने निर्देशक भण्डारीले बताइन् ।

हेल्थ डेस्कले एक सय दशमलव ४ डिग्री भन्दा माथि ज्वरो देखिए वा कोरना संक्रमित देशबाट आएका व्यक्तिलाई स्वास्थ उपचार पश्चात घरमै छुट्टै कोठामा राख्ने व्यवस्था गरिने, गम्भिर प्रकारका बिरामी भेटिएको अवस्थामा प्रदेश अस्पतालको नयाँ भवनमा कोरानाको लागि छुट्याइएको आइसोलेसन कक्षमा राखेर उपचार गर्ने उनको भनाई छ । साथै अन्य बिरामीहरूलाई छुट्टै वाडमा राखेर उपचारको व्यवस्था मिलाइएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक भण्डारीले जानकारी दिइन् ।

हेल्थ डेस्क स्थापना गरेपनि जनशक्ति र उपकरणको भने अभाव देखिएको छ । कपुरकोटमा हाल एउटा मात्रै ज्वरो नाप्ने यन्त्र ल्याइएको छ । मास्क, स्यानिटाइजर मेसिन, एप्रोन, ग्लोब्स जस्ता सामग्री देशभर अभाव रहेको र केहि दिनमै थप सामग्रीको ब्यवस्था गर्ने निर्देशक भण्डारीले जानकारी दिइन् ।

कार्यक्रममा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख वृष बहादुर शाही, स्वास्थय सेवा टेक्नीसियन सन्तमान श्रेष्ठ, जनस्वास्थ्य अधिकृत करुणा भण्डारी लगाएतले कोभिड १९ बाट कर्णालीमा त्रसित हुनुपर्ने अवस्था नरहेको तर सतर्क बन्नुपर्नेमा जोड दिएका थिए ।

नियमित रुपमा साबुन पानीले हात धुने, ज्वरो सहितको रुघाखोकीको लक्षण देखिएमा स्वास्थ्यकर्मीको परामर्स लिने, जंगली तथा घरपालुवा पशुपन्छीसंग असुरक्षित सम्पर्कबाट टाढा रहने, खोक्दा वा हाछ्युं गर्दा नाकमुख छोप्ने, माछामासु र अण्डा राम्रोसंग पकाएर मात्र खाने जस्ता कार्य गरेमा कोरोनाको जोखिमबाट वच्न सकिने उनीहरुले बताएका छन् ।

कर्णाली सरकारले गत शुक्रबार शुक्रबार बबई, हुम्लाको हिल्सा, सल्यानको कपुरकोट, पश्चिम सुर्खेतको जामुकुहिने र सुर्खेत विमानस्थल गरी पाँच स्थानमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको थियो । आवश्यकता अनुसार प्रदेशका डोल्पा, मुगु, दैलेख, कालिकोट लागायतका ठाउँबाट प्रदेशका अन्य स्थानमा समेत हेल्थ डेस्क राख्ने तयारी कर्णाली सरकारको छ ।