एअर सस्पेन्सन बसमा पर्यटकीय स्थलका स्टिकर, पर्यटक बढने अपेक्षा
सुर्खेत।
काँक्रेविहार यातायात प्रालिले सुर्खेत काठमाडौं रुटमा चल्ने एअर सस्पेन्सन बसमा कर्णालीका चर्चित पर्यटकीय स्थलको स्टिकर टाँसेको छ । नेपाल सरकारद्वारा जारी भ्रमण वर्षको लोगो र कर्णाली प्रदेश सरकारद्वारा जारी ‘यसपाली घुमौँ कर्णाली’ लेखिएको लोगो सहित कर्णालीको रारा ताल, देउती बज्यै मन्दिर, बुलबुले उद्यान, जाजरकोट दरवार, त्रिपुरासुन्दरी मन्दिर, छत्रेश्वरी मन्दिर छाँया क्षेत्र, से–फोक्सुन्डो ताललगायतका पर्यटकीय स्थलहरु समावेश गरी स्टिकर निर्माण गरिएको हो ।
नेपाल सरकारद्वारा घोषित भ्रमण वर्ष २०२० लाई सघाउ पु¥याउँदै काँक्रेविहार यातायात प्रालिद्वारा सञ्चालित सवारी साधनहरुमा कर्णालीका पर्यटकीय स्थलहरुवारे सूचना समावेश भएका स्टिकरहरु टासिएका छन् ।
बिहिबार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गर्दै प्रालिले आफ्ना सवारीसाधनहरुमा कर्णालीका पर्यटकीय स्थलवारे सूचना बोकेका स्टिकरहरु टासेको हो ।
प्रालिद्वारा सुर्खेत–काठमाण्डौ र जाजरकोट–काठमाण्डौका लागि नयाँ ल्याइएका आठवटा ‘एयर सस्पेन्सन’ बस र कर्णालीका सबै स्थानमा चल्नेगरी ल्याइएका साना २० वटा बसहरुमा स्टिकरहरु टासिँएका छन् । प्रालिले नाँै ९ करोड रुपैया लगानीमा यि बसहरु सञ्चालनमा ल्याएको हो ।
यात्राका समयमा गाडीमा झोला हराउने तथा छुट्ने समस्यालाई न्युनिकरण गर्न सुर्खेत काँक्रेविहार यातायात प्रालिले ‘लगेज स्टिकर सिष्टम’ ल्याउने भएको छ । यात्रुका सामाग्री सुरक्षाका लागि हवाई सेवामा मात्र प्रयोग गरिदै आइएको यो पद्वति–प्रक्रिया अव सडक यातायातहरुमा समेत प्रयोग गरिन थालिएको हो ।
गाडीमा यात्रा गर्नेहरुका लागि काँक्रेविहार यातायातले चालु महिना भित्रै लगेज स्टिकर पद्वती सुरु गर्ने तयारी अन्तिम चरणमा पु¥याएको हो । बसको ‘डिग्गी’ वा बसभित्र अन्यन्त्र स्थानमा राखिएका झोलाहरु साटिने तथा हराउने घटना न्युनिकरण गर्दै सामाग्रीको पुर्ण सुरक्षाका लागि यात्रुको टिकट र झोलामा उस्तै नम्वर भएका टिकट टास्ने प्रालिको योजना छ ।
‘यात्रुहरुले पनि आफ्नो टिकटमा उल्लेख भएको नम्वर अनुरुप नै झोला लिनेछन्’, काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले भने, ‘लगेज स्टिकर सिष्टमले यात्रुहरुको झोला तथा अन्य सामाग्रीको सुरक्षा गर्नेछ ।’
सुर्खेतमा पहिलोपटक उक्त सेवा सुरुवात गरेको बताउदै अध्यक्ष सापकोटाले भने, ‘भुलवस् यात्रुको झोला गाडीमै छुटेपनि सजिलै यात्रुको पहिचान तथा यात्रुलाई सम्पर्क गर्न सकिनेछ । यसका साथै अन्य कसैसँग झोला साटफेर भएमा पनि सजिलै त्यसको जानकारी पाउँन सकिन्छ ।’
