मुख्यमन्त्री शाहीको चर्काे आलोचना
गत साउनमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलको बैठक ६ महिनापछि शनिवार बिहान ९ बजेदेखि शुरू भएको छ ।
जताततै सरकारको आलोचना हुन थालेको, प्रदेशसभा सदस्य तथा सरकारका मन्त्रीले मनलाग्दी बोल्ने गरेको गुनासो सर्वत्र फैलिएपछि नेकपाले संसदीय दलको बैठक बोलाएको हो ।
माघ २४ गते प्रदेश सभाको पाँचौ अधिवेशनमा नेकपाका शक्तिशाली नेता यामलाल कँडेलले सरकारले सदन र संसदीय दललाई विश्वासमा लिन नसकेको भन्दै कडा आलोचना गरेका थिए । कँडेलबाहेक अन्य प्रदेशसभा सदस्यले सञ्चारमाध्यम तथा सार्वजनिक कार्यक्रममार्फत भएपनि सरकारको आलोचना गर्दै आइरहेका थिए ।
सार्वजनिक आलोचना बढेपछि नेकपा संसदीय दलको बैठक बोलाउन मुख्यमन्त्री तथा दलका नेता महेन्द्रबहादुर शाही बाध्य भएका एक प्रदेशसभा सदस्यले दाबी गरे ।
लामो समयसम्म संसदीय दलको बैठक नबोलाएको र सरकार सञ्चालनमा सांसदसँग समन्वय नगरेको भन्दै आलोचनाको केन्द्रमा मुख्यमन्त्री शाही रहेका छन् । छलफलमा भाग लिएका अर्का सदस्यले सरकारले सोचे अनुसारको काम गर्न नसकेको कुरा छलफलमा उठेको बताए ।
‘सरकारले कर्मचारी भर्ना गरेको छ । हरेक जिल्लामा कार्यालय स्थापना पनि गरेको छ । के कारणले पूँजीगत खर्च गर्न सरकारले सकेन ? हामीलाई चित्त बुझ्दो जवाफ चाहियो,’ बैठकमा कडा रुपमा बैठकमा प्रस्तुत भएका प्रदेश सभा सदस्यले भने, ‘हामी हाम्रो सरकारले यसो गरेको छ, उसो गरेको छ भनेर बाहिर प्रचार गर्ने तर सरकार हामीलाई नै बाइपास गरेर अघि बढ्न खोज्ने ? यो कस्तो चलन हो ? यसरी कति दिन चल्छ ? हामीले जनतालाई के जवाफ दिने ?’
नेकपा संसदीय दलका सचेतक सीता नेपालीले सरकारको कामको समीक्षा भइरहेको लोकान्तरलाई बताइन् । ‘नेकपाको सरकार भएको र हाम्रै साथीहरू सरकारमा भएका कारण सरकारको काम कारवाहीको समीक्षा भइरहेको छ,’ उनले भनिन्, ‘सरकारका मन्त्रीले आफूले गरेको काम कारवाहीको प्रगति विवरण राखिसक्नुभएको छ । प्रदेशसभा सदस्यले राख्ने क्रम जारी छ ।’
