२०८१, १९ चैत्र बुधबार

भवन बन्दै र घर भत्किदै गर्दाको प्रसङ्ग

जितबहादुर शाह्

दुई दशक पुग्न दुई वर्ष मात्र बाँकी रहेछ हामीले तराईमा घर बनाएर बसेको । त्यतिबेला हाम्रो घर भएको टोलमा एकाध अरु घरहरु थिए । हाम्रो घर वरिपरि केही बाँझा र केही खेतीपाती गरिएका खुला चौरहरु थिए । घर बनाएर बसेको सुरुको वर्षको भाद्रमा एकराती ठूलो वर्षा भयो । बिहान वर्षा रोकिएपछि बाहिर निस्केर हेर्दा हाम्रो घर महासागरको बीचमा रहेको टापुमा भएजस्तो देखिन्थ्यो । आँगन लगायत वरिपरिको भू–भाग जलमग्न थियो । भर्खर घर बनाएर बसेको ।

छरछिमेक पनि खासै नभएको । एकछिन त उक्त परिवेशले अत्यायो पनि । कतै मानव समुदायबाट टाढा भएर बाँच्न बाध्य रविन्सन कुस्रोको जस्तो जिन्दगी त हुने होइन भन्ने पनि लाग्यो । तथापि त्यसो भने भएन । आधा दिन जस्तो उक्त समस्याको सामना गर्नुपरे पनि दिउसो घाम लाग्यो र मैले मेरो घर वरिपरि देखेको पानीको महासागर पनि महासागरतिरै हानियो र मेरो घर पहिलेकै अवस्थामा देखियो । अब भने त्यस्तो छैन । घरहरुले टोल भरिएको छ । केही बाँकी बचेखुचेको जमिनमा समेत वर्षेनी घर निर्माण गरेर सकिदैछन् खाली ठाउँहरु । मानिसहरुसँग परिचय पनि हुँदैन त्यत्ति । सबै आ–आफ्नो दुनियामा शयर गरिरहेका हुन्छन् ।

अनुहारहरु हेर्दा शयरभन्दा पनि सास्ती खेपिरहेका हुन् कि झै लाग्छ । मानिसहरु समीपमा भए पनि हार्दिकता र सामिप्यता देखिदैन । सायद घरहरु थपिएपछि मेरो बस्ती पनि सहर भएछ क्यारे । महाकवि देवकोटाले भनेझै अनुभूति हुन्छ – ‘सहर र गाउँमा जम्मा दुईटा फरक छन्, सहरमा घरहरु नजिक हुन्छन्, मन टाढा हुन्छन् । गाउँमा घर टाढा हुन्छन्, मन भने नजिक हुन्छन् ।’ मलाई पनि यस्तै अनुभूति हुने गर्दछ । बस्तीमा घरहरु बाक्लिए पनि मनहरु पातलिएका छन् । यत्ति सम्म कि मानिसहरु कसैलाई टोलछिमेकमा असजिलो भयो भने पग्लिने मन र अघि बढ्ने हातहरुको अभाव छ । बरु यस्तै–यस्तै बेला घरमा भएका गेटहरु बन्द गरिन्छ र सबैकुरा ध्यान दिएर सुनेको भए तापनि केही नसुनेको र केही बोध नभएको नाटक मञ्चन गरिन्छ ।

कतिपय मानिसहरुले भवन र घरलाई एउटै किसिमले बुझ्ने गर्दछन् । शब्दकोशहरुमा समेत भवन र घरलाई तात्विक भिन्नता हुने गरी अथ्र्याइएको पाईदैन । तथापि सारभूतरुपमा यी दुवै शब्दलाई फरक किसिमले बुझ्ने गरिन्छ । भवनलाई अङ्ग्रेजीमा हाउज ९ज्यगकभ० भन्ने गरिन्छ भने घरलाई अङ्ग्रेजीमा होम ९जयmभ० भन्ने गरिन्छ । भनिन्छ –‘भवन इट्टा र बीमले बनेको हुन्छ भने घर आशा र सपनाहरुले बनेको हुन्छ ।’ विद्वानहरुले भनेका छन्– ‘जहाँ हाम्रा कथाहरुको आरम्भ हुन्छ त्यो भनेको घर हो न कि भवन ।

अर्थात प्रेम, आशा र सपनाहरुको आरम्भ हुने थलोको नाउ भनेको घर हो ।’ यस सम्बन्धमा विलियम हेन्सले भनेका छन् – ‘हामीले यदि कतै वास्तविक स्वतन्त्रतालाई स्टोर गरेका छौ भने त्यो भनेको घर हो । किनभने घरमा हामी आफूलाई मन लागेका जे–जस्ता कुराको पनि अनुभूति र सम्पादन गर्ने अवसर पाउँछौँ ।’ यस सम्बन्धमा अष्ट्रेलियन कवियत्री रनता सुजुकीले भनेकी छन् – ‘भवन भनेको त्यो हो, जहाँ म श–शरीर बस्छु तर मेरो घर भनेको त तिम्रो आँखा हो ।’ यसरी नै कतिपय मानिसहरुले घर भनेको स्थान होइन, यो त एउटा अनुभूति हो भनेर पनि व्याख्या गरेका छन् । भवनको कुरा गर्दा दरबार, महल, बंगलालगायत कति ठूलो वा कति सानो संरचना भन्ने कुरालाई मध्यनजर राखी जिज्ञासाहरु जाग्दा रहेछन् । घरको कुरा उठ्दा भने कति खुशी वा कति दुःखी भन्ने कुराहरु उठ्दा रहेछन् ।

भनिन्छ – ‘घर त्यो हो जहाँ प्रेमले बास गर्छ, सम्झनाहरुको सिर्जना हुन्छ, मित्रहरुलाई सदैव स्वागत गरिन्छ र हासोखुशीले कहिल्यै साथ छोड्दैन ।’ अनिता बेकरको भनाइ छ – ‘तिमीले आफ्नो भाग्यको खोजीको लागि घर त त्याग्नु पर्छ नै । तर जब तिमी आफ्नो भाग्य भेट्नेछौ तिमी घर फर्किने छौ र आफ्नो भाग्य आफ्नो परिवारसँग शेयर गर्नेछौँ ।’ अनिता बेकरको यो भनाइले यतिबेला यो पङ्तिकारलाई गौतम बुद्धको सम्झना आइरहेको छ, जसले आफ्नो भाग्य अर्थात् ज्ञानको खोजीका लागि घर छोडेर हिँडे र उक्त ज्ञान वा भाग्य प्राप्त गरेपछि पुनः घरपरिवार र समाजमा फर्किएर त्यसैको आदान–प्रदान र प्रचार–प्रसार गरे । जसलाई हामी अहिले गौतम बुद्धको दर्शन भनेर अध्ययन र आत्मसात गरिरहेका छौँ । मैले देखिरहेको कटुसत्य भनेको हिजोआज मेरो बस्तीमा मात्र होइन, सहरका सबै बस्तीहरुमा भवनहरु धमाधम निर्माण भइरहेका छन् । कहाँबाट आउँछ भवन बनाउने ऊर्जा, स्रोत र सम्पत्ति ? थाहा छैन । तथापि करोडौं रकम खर्च गरेर महलहरु निर्माण भइरहेका छन् । मेरो बस्तीमा मात्रै एकैपटक बाह्र÷पन्ध्रवटा भवनहरु निर्माणाधीन अवस्थामा हुन्छन् सधैँ । अरु कुनै बस्ती र टोलमा गयो भने पनि त्यो टोल पहिले जस्तो हुँदैन । भवन थपिएकै कारणले आफन्त अर्थात् पहिले पुगेको घर पहिचान गर्न समेत मुश्किल–मुश्किल पर्छ । यसरी भवन थपिदै गर्दा पनि विद्वानहरुले व्याख्या गरेका घरहरु भने भत्किने क्रममा देखिन्छन् ।

मान्छेको खुशी र प्रेम उत्पादन गर्ने घरहरु, हार्दिकता र मानवताको जग भएका घरहरु र जिउने आशा, सपना र जीजिविषाका सिँढी भएका घरहरु अव बस्तीमा घट्ने क्रममा रहेको अनुभूति हुन्छ यो पङ्तिकारलाई । मिडिया, पत्रपत्रिका, सामाजिक सञ्जाल र युटुवहरुमा हिजोआज समाजमा भएका अनगिन्ती फेहेरिस्त हेर्न, पढ्न र सुन्न पाइन्छ । तिमध्ये मलाई लाग्छ, अधिकांश विषय र दृश्यहरु घर भत्किएका घटनाहरुसँग सम्बन्धित हुने गर्दछन् । प्रेम र हार्दिकताका घर भत्किएका घटनाहरु । आशा, सपना र समुन्नतिका घर उजाडिएका घटनाहरु । अनि घरभित्रै पनि विध्वंश, विनास र नरसंहारका कुकर्महरु झाँगिएका घटनाहरु । कतै छोराबुहारीहरु लागेर आफूलाई जन्म दिने एवम् आफू बसेको घरको जग बसाउने बाबुआमालाई नै घरबाट निकालेर बृद्धाश्रमतिर पठाएका सन्दर्भहरु सुन्न पाइन्छ । कतै जन्मदिने बाबुआमाले नै आफूले जन्म दिएका सन्ततिहरुलाई नै घाँटी थिचेर मारेका एवम् जिउँदै सडकमा बेवारिसे सडकमा छोडेका सन्दर्भहरु देख्न पाइन्छ । कतै पतिले पत्नीलाई र पत्नीले पतिलाई धोका मात्र होइन, ज्यानै लिएका घटनाहरु सुन्न पाइन्छ ।

प्रायः यी सबै अधिकांश प्रपञ्चहरु घरमै भइरहेका हुन्छन् । यस अर्थमा सिमेन्टले होइन कि माया, प्रेम र हार्दिकताले जडान गरिएका घरहरु भत्किरहेका छन् र सनातनदेखि घरभित्रै ठडिएका मानवताका यमनका पर्खालहरु ढलिरहेका छन् यतिबेला । घर भनेपछि भर मान्थे मानिसहरु र त्यो भर अहिले पनि मान्न छाडेका छैनन् । तथापि अहिले घरको भर मान्नेहरु द्विविधामा छन् र एउटा भिन्नै प्रकारका आशंका, सङ्कट र संशयको सामना गरिरहेका छन् । किनकी घरभित्रैबाट घरभित्रैको मानिसलाई सखाप पार्नका लागि आवश्यकता अनुसार घर बाहिरका मानिसहरुको समेत सहयोग लिएर घरभित्रकै मानिसले षड्यन्त्र गरिरहेका छन् । ‘ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गा’ भन्ने उखानलाई अघि सारेर कुनै जमानामा मानिसहरुले एउटाको भर अर्को ठानेर जिउने गर्थे । तर आज समय फेरिएको छ । आज हरेक मानिस अरु सबैलाई सोत्तर बनाएर आफूमात्रै हराभरा हुने चक्करमा छ ।

त्यसकारण उसले अरुका विरुद्ध षड्यन्त्र गर्दछ र उसक ा विरुद्ध पनि स्वाभाविकरुपमा अरुले षड्यन्त्र गर्दछन् । यस प्रकारका षड्यन्त्रहरु घरभित्रैबाट सुरु हुने गरेका छन् । त्यसकारण कुनै बेलामा माया, स्नेह र विश्वासको भरमा चलेका घरहरु अहिले भरविनाका भएका छन् । यसरी भर विनाका सहरका घरहरुमा माया, सहयोग र सद्भावको अभाव छ । त्यसैले भवनहरु निर्माणहरु भइरहँदा पनि हाम्रा भावनात्मक घरहरु भत्किने क्रममा छन् । अहिलेका मानिसहरु सोच्छन् कि धन भनेको सबै थोक हो । हरेक समस्याको समाधान धन अर्थात् रुपैयाँ पैसालाई ठान्दछन् । यतिसम्मकी पत्नीक ो माया पनि धन पैसामा देख्दछन् । हुन्छ पनि त्यस्तै । पत्नीले पतिलाई होइन कि पतिले कमाउने धनसम्पत्तिलाई प्राथमिकता दिन्छन् । यतिसम्मकी पतिलाई छोडेर पतिले कमाएको सम्पत्तिलाई मात्र बोकेर अर्कैलाई पति बनाएर हिँड्छन् । पति पनि त्यस्तै छन् । सिस्नोपानीका हाँस्य कलाकार अर्जुन पराजुलीले भनेझैँ आफ्नी पत्नीले भनेको मान्दैनन्, अरुकी पत्नीले भनेको भने रिठ्ठो नविराइ खुरुखुरु मान्दछन् ।

यो सबैको कारण यो पंक्तिकारले माथि उल्लेख गरेझैँ भौतिक विलासिता र धनसम्पत्तिको थुप्रोमा मानिस रमाउन चाहन्छ । सत्य भने त्यो होइन, जीवनमा सही आनन्द लिनका लागि आर्थिक स्थिति होइन कि मानसिक स्थिति राम्रो हुनु पर्दछ । दुःख र खुशी त हाम्रा मानसिक सन्तान हुन् । मानसिक स्थिति मात्रै राम्रो र सकारात्मक भइदियो भने धेरै मानिसहरुले आफूसँग उपलब्ध साधन र स्रोतहरुबाटै असीमित खुशी पाउन सक्छन् । आज कतै पनि चयन छैन । अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि खुशी र आनन्द छैन । चाइनाको सि जीङपिङलाई पनि खुशी र आनन्द छैन । आनन्द र खुशी सम्पत्तिका निम्ति रुनेकराउनेलाई होइन कि सम्पत्तिलाई उचित किसिमले सदुपयोग गर्नेलाई छ । खुशी सम्पत्तिलाई लक्ष्य एवम् मालिक बनाउनेलाई होइन कि सम्पत्तिलाई साधन अर्थात् दास बनाउनेहरुलाई छ । खुशी भनेको यति धेरै र उति धेरै भनेर जनाउने अङ्कसँग होइन की अनुभूतिसँग गाँसिएको हुन्छ ।

आज मानिस अङ्कको पछि दौडिएको छ । त्यसैले त खुसी विभाजित र विखण्डित भएको छ । त्यसैले त आज घरमा खुशी छैन । किनभने त्यो घर नै प्रेम र आशाका इट्टाहरुले बनेको हँुदैन । आज एउटै राजनीतिक दलभित्र पनि काटाकाटको स्थिति छ । आफ्नै दलको एउटा नेताले त्यही दलका े अर्क ो न ेतालाई सिध्याउनका लागि षड्यन्त्र तानाबाना बुन्छ र अन्ततः सिध्याउँछ पनि । मलाई त लाग्छ, हामी यदि शान्ति र समुन्नति चाहन्छौ भने प्रथमत ँ ः हाम्रो घरका पर्खाल र बीमहरु विश्वास र सद्भावले बनेका हुनुपर्दछ र त्यसको प्लाष्टर माया र स्नेहले गरिनुपर्दछ । घर भनेको घरमात्र होइन । टोल र गाउँ भनेको पनि घर हो । समाज र देश भनेको पनि घर हो । राजनीति दल त झन् आजकौ राजनैतिक पद्धतिमा एउटा ठूलो घर हो ।

त्यसैले यी सबै घरहरु भत्किनु हुँदैन, बरु समुन्नत हुँदै जानुपर्दछ । यसैमा हाम्रो शान्ति, सम्बृद्धि र समुन्नति निर्भर छ न की निर्माण भइरहेका इट्टा र सिमेन्टहरुका भवनहरुमा । सबैलाई चेतना भया ।