२०८१, २ जेष्ठ बुधबार

कर्णाली कचहरीः वीरेन्द्रनगरमा नगर यातायात र फोहोर व्यवस्थापन कहिले ?

सुर्खेत । कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकामा जनप्रतिनिधी निर्वाचित भएर आएको साढे दुई वर्षसम्म पनि नगरपालिकामा सहज यातायात व्यवस्थापन गर्न सकेका छैनन् । दैनिक यहाँको जनसंख्या बढिरहेको छ । प्रदेश राजधानीमा विभिन्न शिलशिलामा बसोबास गर्नेहरु पनि दैनिक बढिरहेका छन् । यातायातका सजिलो माध्यमको रुपमा रहेको अटो रिक्साले सर्वसाधारणबाट मनपरी भाडा असुलिरहेको गुनासो आइरहेको छ ।
स्थानिय तहको निर्वाचनको समयमा यहाँका विभिन्न राजनितिक दलहरुले वीरेन्द्रनगरमा नगर यातायातको व्यवस्थापन तथा फोहोर व्यवस्थापन मुख्य एजेण्डा बनाएका थिए । तर अझैसम्म नगर यातायातको व्यवस्थापन गर्न नसकेकोमा नागरिकहरुले गुनासो गरेका छन् । सोमबार तन्नेरी चासो सुर्खेतले संचालन गरेको कर्णाली कचहरीमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाललाई युवाहरुले प्रश्न गरे, “अटो रिक्साको मनपरी भाडा असुल्ने काम भइरहेको छ । नगरपालिकामा नगर यातायातको सुविधा कहिले हुन्छ उपप्रमुखज्यु ?”

वीरेन्द्रनगर १ का विनोद न्यौपानेले उपप्रमुख ढकाललाई प्रश्न गरे, “बांगेसिमलबाट करिब ३ किलोमिटर यात्रा गरेर बजार आउन अटोरिक्सामा कम्तिमा चालीस रुपैयाँ तिर्नुपर्छ, नगर बस कहिले संचालन हुन्छ र हामि सस्तो भाडामा आवतजावत गर्न पाउँछौ ?” अर्का युवा भरत गौतमले जनप्रतिनिधिहरुले आफ्नो एजेण्डामा राखेका मुद्धा फोहोर व्यवस्थापन गर्न नसक्दा सहर कुरुप जस्तै बनेको गुनासो गरे ।

“निर्वाचनकाे समयमा प्राय सबै राजनितिक दलको एजेण्डा फोहोर व्यवस्थापन र नगर यातायात बन्यो, तर अहिले केही चासो छैन् ।” अर्का युवा यज्ञ खत्रीले सरकारले अनुदान वा ऋण दिदा कृषिमा मात्रै नभई सुचना प्रविधिमा काम गर्न र सिप सिक्न चाहाने युवाहरुलाई ध्यान दिन आवश्यक रहेको बताए ।

नगर यातायातबारे सोचिरहेका छौंः उपप्रमुख ढकाल

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले विकास भनेको पुर्वाधार मात्रै नभई उद्यमशिलता र अन्य विकास पनि महत्वपुर्ण हो भन्नेमा समाजको विचार परिवर्तन हुन आवश्यक रहेको बताइन् । उनले नगर यातायातको बारेमा आफुहरुले योजना बनाइरहेको बताइन् । “अबको वजेट निर्माणमा हामिले यस्ता आवश्यकतालाई मध्यनजर अवश्य गर्ने छौं ।” उनले भनिन्, “हामिले अहिले वजेट तथा अनुदानलाई उत्पादनमुखी र सिपमुलक क्षेत्रमा खर्च गरिरहेका छौं ।”
आफुले फिलिपिन्सको विकासको अवधारणा अध्ययन गरेको बताउँदै  उपप्रमुख ढकालले सुचना प्रविधिकाे तालिम आवश्यक रहेको बताइन् । सुचना प्रविधिमा सक्षम भएछि आफै‌ँ सिप सिक्न इच्छुक हुने र स्वरोजगार हुने बताइन् ।
उनले स्थानिय तहमा वजेट फ्रिज हुने समस्या नभएको बताउँदै नगरपालिको अघिल्लो आर्थिक वर्षमा ९२ प्रतिशत वजेट खर्च भएको बताइन् । “वजेट खर्चका क्षेत्रहरु आर्थिक, सामाजिक, वातावरण, विपद् र संस्थागत सुधारको क्षेत्र सबैमा ध्यान दिनुपर्छ ।” उनले भनिन्, “ हामिले पनि ध्यान दिएका छौं । चालु आर्थिक वर्षमा नगरपालिकाले पेश्की वजेट दिएको छैन ।”