अव विश्लेषणबाट संश्लेषणतिर लाग्ने कि ?

एकजना फकिरबाबा नितान्त एक्ला थिए । एकदिन उनले आफ्नो कल्पनाको भगवानलाई सपनामा भेटेछन् । उनले भगवानलाई पनि आफू जस्तै एक्लो देखेर अचम्भित हुदै सोधेछन् – ‘हे ईंश्वर, हजुरका संसारभरि यति धेरै अनुयायी र भक्तहरु छन् । तथापि हजुरलाई पनि म जस्तै एक्लो देखें । हजूरको पनि यस्तो एक्लो अवस्था कसरी हुन गयो ?’ फकिरबाबाको जिज्ञाशा समाधान गर्दै सपनामै भगवानले भनेछन् –‘संसारको नितान्त एक्लो भनेको म मात्रै हुँ । तिमी लगायत अरु त एक्लो भएजस्तो लाग्दैन मलाई । धेरै भयो, मेरा अनुयायी र भक्तहरु मसँग छैनन् आजभोलि । कोही रामसँग छन् । कोही कृष्णसँग छन् । कोही मुहम्मदसँग छन् । कोही जिसससँग छन् । कोही महाबीरसँग छन् । मसँग त कोही छैनन् । दुनियाँको सृष्टि हुँदा मसँग सबै साथमा भएपनि आजभोलि म नितान्त एक्लो छु ।’
माथिको दृष्टान्तबाट यो वियोग र विघटनको दुनियाँमा साँच्ची अव सबै आस्तिक मनहरुका आस्थाका धरोहर मानिने ईश्वर पनि विघटन र विभाजित भएको छ । जसले इश्वरप्रति विश्वास गर्दैन उसको बारेमा भन्नु पर्ने केही छैन । तर जसले इश्वरप्रति विश्वास गछनर्् स्वयम् तिनीहरुबाटै ईश्वरको ठूलो अपमान भइरहेको छ । यससम्बन्धमा ओशो रजनीश भन्छन् – ‘नास्तिकहरु जो धर्मप्रति त्यति धेरै विश्वास गर्दैनन् पापकर्मप्रति पनि त्यति जिम्मेवार छैनन् । नास्तिकहरुले न त मन्दिर, मस्जिद र चर्चहरु नै जलाए न त धर्मको नाममा कसैको हत्या नै गरे । जो मानिसहरु आपूmलाई धार्मिक अर्थात आस्तिक सम्झिन्छन्, उनीहरुले नै मानिसमानिसको बीचमा धर्म, शास्त्र र सिद्धान्तका पर्खालहरु खडा गरेर एकअर्कालाई दुश्मन बनाइदिएका छन् । धर्मको नाममा ईश्वरका वास्तविक सन्तानहरुको हत्या गरिरहेका छन् । सृष्टिको दिव्यआलोकबाट मानिसहरुलाई टाढा बनाएर साना–साना दियोको मलिन उज्यालोमा मानिसहरुलाई कैद गर्ने प्रयास गरिरहेका छन् ।’
ओशोले भने जस्तै आज मानिस र पशुप्राणीहरुको जति हत्या भएको छ त्यसको प्रमुख कारण धर्मसँग जोडिएको छ । मानव सभ्यताका तीनहजार वर्षको बीचमा पन्ध्रहजार नरसंहारकारी युद्धहरु भएका छन् । यी मध्ये अधिकांश युद्धहरु धर्मको नाममा भएका छन् । मानव कल्याणको दुहाई दिने र ईश्वरको नजीक छुु भनेर दावी गर्नेहरुबाट नै यस्ता नरसंहारहरु भएका छन् । यो कार्य रोकिएको छैन बरु झन्झन् बढ्दो छ ।
धार्मिक भनिने मानिसहरुबाटै अधर्म र धार्मिक विभाजनका कामहरु बढि भएजस्तै हामी विद्वान भनिएकाहरु मध्येबाटै मानिसहरुलाई विभिन्न नाममा विभाजन गर्ने काम पनि तीव्र रुपमा भइरहेका छन् । धर्म, राजनीति, भूगोल, जातजाति, भाषाभाषी आदिआदि धेरै नाममा हामीले विभाजन गरिरहेका छौं । हामी विद्वानहरु विश्लेषण गर्न अति खप्पिस छौं । अनुसन्धानमा आधारित विश्लेषण गर्दछौं । मानिसहरुका रौंचिरा विश्लेषण गर्दछौं । अनि अनुसन्धान र विश्लेषणबाट पत्ता लगाउछौं कि यिनीहरुका बीचमा यी–यी भिन्नताहरु रहेछन् । कसैका नाक कसैको भन्दा थेप्चो रहेछ । कसैका आँखा कसैभन्दा चिम्सा रहेछन् । कोही पहाडको रहेछ । कोही तराइको रहेछ । कोही कालो रहेछ । कोही गोरो रहेछ । कोही अग्लो रहेछ । कोही पुड्को रहेछ । कोही अत्रीका सन्तान रहेछन् । कोही भारद्वाजका सन्तान रहेछन् । विश्लेषणबाट यस्तै यस्तै धेरै कुरा पत्ता लगाए हाम्रा विद्वानहरुले ।
विद्वानहरुको विश्लेषणबाट आ–आफ्नो पहिचान कायम गर्नुपर्ने निष्कर्ष निस्कियो । पहिचानका लागि आफूले राम्रो गर्ने होइन कि अरुको विरोध गर्ने प्रणालीको अवलम्बन गरियो । विरोधका लागि मिल्ने–मिल्नेहरुको बीचमा एकता गरियो । एकताका लागि संगठन निर्माण गरियो । त्यसैको परिणामस्वरुप आज सबैतिर संगठनहरुको जालो देख्न पाइन्छ । संगठनका मानिसहरु देख्न पाइन्छ । आज मानिसहरु मानिसको रुपमा आफ्नो पहिचान बनाउनु भन्दा संगठनको हिसावले आफ्नो पहिचान बनाउने दौडधूपमा देखिन्छन् । आफूलाई विशुद्ध मानिस भन्ने मानिसहरु भेट्न गाह्रो छ । कोही आफूलाई धर्मको हिसावले चिनाउछन् । कोही जातको हिसावले चिनाउछन् । त्यस्तै कोही पेशाको हिसावले चिनाउछन् त कोही आस्थाको हिसावले आफूलाई चिनाउछन् । यसरी एकअर्कालाई फरक किसिमले चिनाउने उनीहरुका यस्ता थुप्रै आधार र संगठनहरु छन् । आफूलाई चिनाउने क्रममा जति धेरै अरुबाट पृथक देखाउन सक्यो त्यति धेरै आफ्नो पहिचान अग्लो र अस्पष्ट हुने उनीहरुको दावी छ ।
यो पहिचान र अस्तित्वको दुनियामा अव मानिस पहिले जस्तो कसैले मादल बजाएको सुन्दैमा नाच्ने गर्दैन । यो मादल कसले बजाएको हो ? उसको पार्टी के हो ? जात के हो ? कहाँको हो ? आदि सबै जानकारी भएपछि मात्रै सबै कुरा मिल्ने रहेछ भने नाच्ने निर्णय गर्दछ । यसले गर्दा मानिसका मनहरुको बीचमा दरारहरु बढेका छन् । मानिसका सोचाइहरुको बीचमा पर्खालहरु चुलिएका छन् । मानिसका सम्बन्ध र भावनाको बीचमा दूरी बढेको छ । यस्तो लाग्छ केही मानिसहरु एउटा घरको सानो कोठामा बसेर त्यही घरको अर्को कोठामा बस्ने मानिसहरुको विरुद्ध बमबर्षा गरिरहेका छन् । हामी नदीका दुइ किनारा, हाम्रो मिलन असम्भव छ भने झै मानिसहरुले अर्को कोठामा बस्ने पनि मानिस हो र त्यो पनि हामीलाई चाहिन्छ भन्ने कुरा सम्झन सकिरहेका छैनन । हाम्रा विद्वानहरुको विश्लेषणले मानिसहरुलाई त्यही किसिमबाट निर्माण गरिरहेको छ ।
अवको आवश्यकता भनेको विश्लेषणको भन्दा संश्लेषणको हो । मानिसहरुका फाटेका मनहरुको बीचमा पूलको निर्माण गर्नु हो । विभिन्नताहरुको बीचमा पनि एकता र समानताहरुको खोजी गर्नु हो । एउटै घरको एउटा कोठामा बस्नेले अर्को कोठामा बस्नेका विरुद्ध बमबर्षा गर्दा त्यसको असरले आफू बसिरहेको कोठा पनि भत्किन्छ भन्ने कुराको सन्देश दिनु हो । मुटुको विशेषज्ञले मुटु स्वस्थ राख्नका लागि मुटुको मात्र कुरा नगरी किड्नी र फोक्सोलगायत शरीरका सम्पूर्ण अवयवहरुलाई पनि स्वस्थ राख्नु आवश्यक छ भन्ने कुरा सिकाउनु पर्ने भएको छ । विभिन्न संगठनहरुमा आवद्ध मानिसहरुलाई सर्वप्रथम हामी सबै मानिस हौं र मानिसको हिसावले सम्बन्धको खोजी गर्नुपर्छ भनेर सिकाउनु पर्ने भएको छ । एउटाको अस्तित्वलाई नामेट गरेर अर्कोको अस्त्वित्व रहन सक्दैन भनेर संसारको इकोसिस्टमबाट पाठ सिकेर हरेकले आफूलाई परिवर्तन गर्नु पर्ने भएको छ ।
विश्लेषणको आफ्नो ठाउँमा महत्व छ । तथापि यो विश्लेषणलाई जीवन्त र अर्थपूर्ण बनाउनका लागि संश्लेषणको आवश्यक छ । मुटु, फोक्सो, किड्नी, मष्तिष्क आदिको आ–आफ्नो महत्व र पहिचान छ भनेर यिनीहरुलाई अलगअलग गरेर राख्न थालियो र यिनीहरुको बीचको सम्बन्धलाई विच्छेद गरियों भने साँच्ची यिनीहरुको अवस्था कस्तो होला ? अनि यिनीहरुकै भरमा जीवन पाएको मानिसको अवस्था कस्तो होला ? यससम्बन्धमा परिकल्पनासम्म पनि गर्न सकिदैन । तथापि भइरहेको छ त्यस्तै । सम्बन्ध खोज्दै जाने हो भने मुटु र फोक्सोको बीचमा सम्बन्ध भएजस्तै पहाडी र मधेसीको बीचमा पनि सम्बन्ध देख्न सकिन्छ । विभिन्न आस्था र विचारहरुको बीचमा सम्बन्ध देख्न सकिन्छ । विभिन्न जातजाति र भाषाभाषी मानिसहरुको बीचमा सम्बन्ध देख्न सकिन्छ । यी सबैले एकअर्काको बीचमा एकअर्काको भलो हुने काम गरेमा आफूलाई पनि भलो हुन्छ भन्ने बारेमा सोच्नु आवश्यक छ ।
यो कुरा धेरैलाई थाहा छ कि बाघले घाँस खाँदैन । तथापि बाघले पनि आफ्नो भलाइको लागि घाँसको संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक छ । किनकि बाघले घाँस नखाए पनि बाघको आहाराको रुपमा रहेको मृगलाई घाँस नभएर हुदैन । यसरी नै मानिसले आफ्नो अस्तित्वको लागि अरुको अस्तित्वलाई पनि स्वीकार गर्न सक्नुपर्दछ । यसका लागि मानिसहरुले आफ्नो पहिचानको खोजी गर्ने क्रममा अरुहरु बीचको समग्र सम्बन्धलाई विर्सनुहुदैन । यदि यस्ता कुराहरुलाई ध्यान दिनुको सट्टा यसरी नै विर्सदै जाने हो भने सन्ततीहरुले ठूलो भएपछि बाबुआमालाई विर्सेजस्तै हुन्छ होला । भक्तहरुले आफ्ना कुटीका देवताका पछि लागेर आफ्ना आस्थाका धरोहर समग्र सृष्टिकर्तालाई नै भूले जस्तै हुन्छ होला । समग्रमा भन्नु पर्दा मानिसले मानिससँगको सम्बन्धलाई महत्व नदिएर मिल्काइ दिएजस्तो हुन्छ होला । मावन इतिहासमा अहिलेसम्म जेजस्तो भएपनि आशा गरौं कि भविष्यमा त्यस्तो अनिष्टको बादल अव छिटै क्षितिजबाट क्रमशः हट्दै जाने छ ।
