२०८३, १७ असार बुधबार

छाउगोठ भत्काइयो, मन कसरी भत्काउने ?

सुर्खेत ।

कर्णाली प्रदेशका अधिकांश जिल्लामा यतिबेला जिल्ला प्रशासन कार्यालयको अगुवाइमा घर भन्दा पर बनाइएका साना छाउगोठ भत्काउने अभियानले तीव्रता पाइरहेको छ । दैलेख र सुर्खेतमा हालसम्म पाँच सयभन्दा बढी छाउगोठहरु भत्काइसकिएको जिल्ला प्रशासन कार्यालयले दाबी गरेको छ ।

तर जिल्ला प्रशासन कार्यालयले दाबी गरेअनुसार सबै ठाउँमा छाउका लागि भनेर अलग्गै संरचना निर्माण भएका छैनन् ।

‘हाम्रो घरमा छाउगोठ भनेर अलग्गै संरचना निर्माण भएको छैन,’ आठबीस नगरपालिकाकी सुष्मिता सिजापतीले भनिन्, ‘तर हामी गोठमा बस्दै आइरहेका छौं ।’

उनका अनुसार गाउँमा बस्ने अधिकांशले छाउ बार्ने गरेका छन् । ‘यहाँ छाउ बार्ने र नबार्ने भन्ने प्रसंग नै उठदैन । सबैले घरको तल्लो तलामा बस्दै आइरहेका छन् । पाँच दिनमा मात्रै घरमा जाने गर्छन,’ उनले भनिन, ‘यस्तो परम्परालाई कसरी भत्काउने होला ?’

उनले विगतमा विभिन्न संघसंस्थाले छाउगोठ भत्काउने अभियान सुरु गरेपनि मानसिक रुपमा छाउ प्रथा भने भत्काउन नसकिएको बताइन ।

बराहताल सुर्खेतकी रिता शाही उमेरले ४५ वर्षकी भइन् । ‘मैले पहिलोपटक छाउ भएदेखि अहिलेसम्म छाउ बार्ने गरेकी छु,’ उनले भनिन्, ‘विभिन्न धर्म र आस्थाले परिवारलाई तहस नहस गराइदिने, घरपरिवारमा अनर्थ हुने भन्ने पुरानो प्रचलनका कारण म घर बस्न सकिरहेकी छैन ।’

उनको श्रीमानले भने बारम्बार उनलाई घर बस्न आग्रह नगरेका होइनन् तर उनी आफैं घर जान मान्दिनन् । ‘सानैदेखि मष्तिस्कमा एकखालको छाप परेको थियो । बीचमा एक दुइ पटक घरमै बसेकी पनि हौं तर घरमा भैंसी विरामी भएका कारण कतै आफू घरमै बसेका कारण देवता रिसाएकी भन्ठानेर फेरि गोठमै बस्ने निर्णय गरें,’ उनले भनिन् ।’

उनी जस्ता गाउँमा धेरै महिला छन्, जो पुरानो प्रचलन सहि हो भन्ने अझै ठान्छन् । ‘पहिलेदेखि चलिआएको प्रचलन अनुसार अघि बढीरहेका छौं,’ नाम नबताउने शर्तमा वीरेन्द्रनगर ६ मा बस्ने एक युवतीले भनिन्, ‘यहाँका पक्की घरमा पनि छाउ बार्नुपर्ने अवस्था छ । हजुरबुबा, हजुरआमाले अहिलेपनि भान्सामा जान दिनुहुँदैन ।’

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा शिक्षा शास्त्रमा स्नातक गरिरहेकी ती युवतीले भनिन, ‘हामीले चाहेर पनि घरपरिवारको सोचमा परिवर्तन ल्याउन सकिरहेका छैनौं । वीरेन्द्रनगरमा छाउगोठ नभएपनि अधिकांशको घरमा छाउ बार्ने प्रचलन कायमै छ । के शिक्षित के राजनीतिज्ञ सबैको घरमा छाउ बार्ने गरिन्छ ।’

उनले छाउगोठ भत्काएर मात्रै समस्याको समाधान नहुने बताउँदै स्थानीय सरकारको पहलमा व्यापक जनचेतनाको आवश्यकता रहेको बताइन् ।

‘बाहिरी संरचना भत्काएपनि घरको तल्लो तलामा गाइ वस्तुसँगै महिलाहरु बस्नुपर्ने अवस्था कायम नै छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा हेर्दा गोठ नदेखिने र परम्परा कायमै रहिरहने खतरा मैले देखेको छु । गोठ भत्काएपनि अब छाउ प्रथाको निर्मुलका लागि मानसिक रुपमा कसरी छाउगोठ संस्कार भत्काउने होला त्यतातिर सोच्न जरुरी छ ।’

दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सुर्यबहादुर शाहीले मानिस सबैभन्दा चेतनशील प्राणी भएको बताउँदै जनचेतना अभिवृद्धि गरे मन भित्रको छाउगोठ पनि भत्काउन सकिने बताए ।

‘हामी जनचेतना मूलक काम गर्छौं, गोठमा राख्ने जनतालाई चेतना फैलाउँछौं,’ उनले भने, ‘विगतमा कपडा फेरेर भात खाने प्रचलन पनि थियो नि हैन र अहिले त्यो अन्त्य भएको छ । यो प्रथा पनि विस्तारै न्यून भएर जानेछ । एकाध वर्षमा नै हामी मानसिक तथा संरचनागत रुपमा नै छाउप्रथा उन्मुलन गर्ने गरि अघि बढिरहेका छौं । यो महाअभियानमा यहाँहरुको सबैभन्दा ठूलो साथ, सहयोग र भूमिका मैले देखेको छु ।’