२०८३, १७ असार बुधबार

वीरेन्द्रनगरका अधिकांश मासु पसल मापदण्ड विपरित

सुर्खेत ।
वीरेन्द्रनगरका अधिकांश मासु पसल मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ । वीरेन्द्रनगर नगरपालिकाको नेतृत्वमा गरिएको संयुक्त बजार अनुगमनमा विहीबार र्खोकेलाईन, समावेशीचोक जुम्ला रोड, गण्डकीलाईन र हटिया क्षेत्रमा सञ्चालित अधिकांस मासु पसल नियम विपरित सञ्चालनमा रहेको पाईएको हो । कर्णाली मासु पसल वीनपा–६ खोर्केलाईन, मास्की मासु पसल वीनपा–४ समावेशी टोल जुम्लारोड, भ्याली स्वच्छ मासु पसल वीनपा ३ गण्डकीलाईन, भेरी बंगुर तथा राँगा मासु पसल हटियालाईनलगायतमा अनुगमन गर्दा मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ । अधिकांश मासु पसल दर्ता बिना नै सञ्चालनमा रहेको, दर्ता भएकाहरु पनि नवीकरण नगरेको, अधिकांश मासु पसल फोहर र दुर्गन्धित रहेको, ढक तराजू व्यवस्थित नगरेको, कुहिएको मासु विक्रीमा राखेको, मूल्यसूची नराखेको पाइएको वीरेन्द्रनगर नगरपालिकाका योजना तथा वातावरण शाखाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताए । उनले अनुगमनका क्रममा अधिकांश मासु पसल मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएकाले केहीलाई तीन भित्र व्यवसायिक प्रमाणपत्रसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको जनाए । अनुगमन टोलीमा वीरेन्द्रनगर नगरपालिकाका योजना तथा वातावरण शाखाका वरिष्ठ अधिकृत पौडेल, खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख भेषबहादुर थापा, जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा यामबहादुर अधिकारी, वीनपाका नगर पशु विकास अधिकृत यग्ज्ञ पाण्डे, नगर निरीक्षक टंक आचार्य, नगर प्रहरी ईन्चार्ज मिनबहादुर विष्ट, सुर्खेत उद्योग वाणिज्य संघका प्रतिनिधि जनकबहादुर थापा तथा राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।