२०८१, ३ बैशाख सोमबार

दैलेख: पर्यटनको उत्कृष्ट गन्तव्य

डा. मधुसुदन गिरी

यो देशमा गरेर र भजाएर खान सकिने कुराहरु धेरै छन्, यो देशको जुठिनै लागेको अनुपम प्राकृतिक सौन्दर्य, जैविक विविधता, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, मूर्त, अमूर्त सम्पदाजन्य वैभव र आज आएर प्रायः दूरदराज दुर्गम गाउँवस्ती र त्यहाँका बासिन्दाको रुग्ण गरिबी, अनि गाउँवस्ती अनि केही दशक यता नेपाली समाजमा घटित द्वन्द्वसहित ।

जव हामी खेतवारी वा उद्योगत, कलकारखाना कतै पनि कर्मशील भएर बाँच्न सक्दैनौँ अनि हामी घाउनै नलगोको अंगमा पनि सेतो कपडाको पट्टी बाँधेर रातो झोलले रंग्याउँछौ र हात थाप्न बाँध्य हुन्छौँ । नत्र बैधानिक, अवैधानिक चोरी, डकैती हुँदैनथियो । तिनका तुलनामा पर्यटन आर्जनशील अवश्यै हो । उत्पादनशील व्यवसाय नै नभएपनि विमर्शक विषय तर आजको विश्व अर्धव्यवस्था कृषि र उत्पादनमुखी उद्योगमा मात्रै उभिएको देखिदैन । अतः विश्वको यो प्रतिस्पर्धामा नजानु भनेको आफै पछि पर्नुजस्तै भएको छ आज । आज पर्यटन पनि अर्थोपार्जनको एउटा महत्वपूर्ण पाटो बनेको छ । अझ कतिपय मुलुक त चेली, श्रीमती अर्थात् नारीको शरीर बेचेर पनि पर्यटन उद्योग(सेक्स टुरिज्म) चलाइरहेका छन् । हाम्रोमा प्राकृतिक सौन्दर्य नै प्रयाप्त छ र पनि अझ बढि पैसा कमाउन पर्यटनको राजधानी नै भन्न सकिने शहर रहेको प्रदेशका मुख्यमन्त्रीको विकास सम्बन्धी दृष्टिकोण त्यस्तो पनि आउँछ । पर्यटनका विविध पक्षहरुमध्ये धार्मिक पर्यटन पनि आजको प्रमुख बनेको छ । हाम्रो देशमा पनि प्राकृतिक सौन्दर्यसँगै धार्मिक पर्यटन पनि त्यतिकै महत्वपूर्ण रहेको छ ।

ऐतिहासिक, पुरातात्विक सम्पदाका दृष्टिले मात्र होइन धार्मिक दृष्टिले पनि काठमाडौँ र लुम्बिनीपछि तेस्रो स्थानमा आजको कर्णाली प्रदेश रहेको छ । अझ विशेषतः दैलेखको दुल्लु वरिपरिका अखण्ड प्राकृतिक ज्वाला र तिनसँगै सम्बन्धित ज्वाला पञ्चकोशी तीर्थ रहेको छ । भौतिक विकासलाई मात्र विकास मान्ने आजको परम्परा एकांगी छ । आजको पहिचानको युगमा नेपाली भाषा, संस्कृति र जातिको पहिचानको मूलभूमि कर्णाली प्रदेश नै रहेको छ ।

नेपाली भाषाको उद्गम एवम् विकासका दृष्टिले हामी त्यसै आएनौँ, बलिराजा (जुम्लाका राजा बलिराज शाही) ले पठाकोबाट उठान गरिने देउसी, भैलो आदि नेपाली संस्कृतिको जन्म र प्रसारभूमि पनि कर्णाली प्रदेश हो । पोखरेलहरुको पोखरा, रिजालहरुको रिजु, वडालहरुको वड, लम्जेलहरुको लम्जी, नेपालहरुको नेपा, दुलालहरुको दुल्लु, दाहालहरुको दह, कट्टेलहरुको कट्टी, भूर्तेलहरुको भुर्ती, खशलहरुको खार, रास्कोटीहरुको रास्कोट, फुँयालहरुको फुइँगाउँ आदि थुप्रै जातथरको आदिभूमि÷पैतृकभूमि पनि रहेको यो प्रदेश यस प्रकार अधिकांश नेपालीहरुको पहिचानको मूलथलो रहेको छ ।

यसै क्रममा स्कन्ध पुराण हिमवतखण्ड वैश्वानर पुरणामा पञ्चकोशी तीर्थका शिरस्था, नाभिस्थान र पादुकाको ज्वालाको धार्मिक महत्वको चर्चा गरिएको पाइनाले यहाँका ज्वाला हजारौँ वर्षदेखि अखण्ड रुपमा बल्दै आएका प्रमाणित हुन्छन् । यहाँका वैश्वानर ज्वाला र पञ्चकोशी तीर्थको धार्मिक महत्वका सम्बन्धमा वैश्वानर पुराणमा यसरी उल्लेख गरिएको छ ः
वाराणाश्याः प्रयागाच्च मायापुर्या विशेषतः ।
इदं क्षेत्रं महापुण्यं कलौ कल्मषनाशनम् ।

यसरी वाराणसी अर्थात् काशी, प्रयाग र मायापुरीभन्दा पनि पुण्यदायक र पापनाशक भनिएका ज्वाला पञ्चकोशी तीर्थमध्ये शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र तल्लो डुँगेश्वर पर्दछन्, जुन कुरा योगी नरहरिनाथको इतिहास प्रकाश वैश्वानर पुराण(२०१३) को अवतरणिका तथा दैलेखको नेपामा जन्मेका ज्ञानमणि नेपालसँग रहेको ताम्रपत्र एवम् यी पाँच पञ्चकोशीलाई प्रदान गरिएका गुठी, विर्ता, लाहरमोहरादि लिखतले प्रमाणित गर्दछन् । यी पाँच पञ्चकोशीबाहेक वैश्वानर पुराणमा कोटिला, स्वामीकार्तिक आदि पञ्चकोशी तीर्थसँगै जोडिएका तीर्थको धार्मिक महत्वको चर्चा पनि पञ्चकोशी सरह नै गरिएको छ ।

पञ्चकोशी मध्य पादुका, शिरस्थान र नाभिस्थानमा हजारौँ वर्षदेखि बलिरहेका ज्वाला र त्यहाँका खोलामा टाँडो लागेर बगिरहेको तेल एवम् धुलेश्वरमा केही दशक पूर्वसम्म त्यहाँको एउटा मन्दिरभित्रको कुण्डभित्रबाट फुस्फुस गरेर निस्कने खरानी तथा वालुवा भौगर्भिक दृष्टिले हेर्दा भने अगिल्ला तीन खनिज इन्धनका भण्डार र चौथो अर्थात् धुलेश्वर नेपालकै एकमात्र मृत ज्वालामुखीको चिह्नका रुपमा देखिन्छ ।
प्रस्तुत खनिज भण्डारको आजभन्दा पाँच दशक अघि जस्तो नै सम्भाव्यता अध्ययन भएपनि त्यो प्रकाशमा आएन भने हाल पुनः भैरहेको छ । यसरी हेर्दा इन्धन उत्खनन हुन सकेपनि यसबाट राष्ट्रलाई लाभ हुने देखिन्छ । केही गर्न नसके यसलाई धार्मिक पर्यटनका रुपमा विकसित गर्न सके मूलतः नेपाल र भारतका धार्मिक पर्यटकहरुलाई यस क्षेत्रतर्फ आकर्षित गर्न सकिने देखिन्छ र यहाँका थुप्रै तीर्थस्थलमा विधिपूर्वक पुजन र दर्शन गराउँदा एक हप्ता यहाँ बसाउन सकिने देखिन्छ ।

पर्यटनको क्षेत्रमा बाँकेको वागेश्वरी, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, सुर्खेतको काक्रेविहार, देउतीबज्यै तथा दुल्लु र दैलेखका थुप्रै देवदेवीका मन्दिर, खम्बा, देवल जुम्लाको चन्दननाथ हुँदै रारा र मानसरोवरसम्म जोडेर प्याकेज बनाउन सके आजको कर्णाली प्रदेशमा पर्यटनको विकास र विस्तार गर्न सकिने देखिन्छ । यसका निमित्त पूर्वाधार विकासका साथै प्रचारप्रसारको पनि त्यतिकै आवश्यकता छ ।

आज शिरस्थान, पादुका र नाभिस्थानका पुराना ठाउँमा मात्र नभएर अनेक नयाँ नयाँ ठाउँमा पनि ज्वालाका लप्का बलेका देखिन्छन् । सम्भवतः करोडौँ बर्षपूर्व टेथिस सागरको विलुप्तीर सोही स्थानमा चुरे र महाभारतको सिर्जनासँगै वा त्यसपछिका भौगर्भिक उथलपुथलकै क्रममा धुलेश्वरको ज्वालामुखी र ततपश्चातका यहाँका ज्वालाको भौगर्भिक अध्ययन, अनुसन्धान पनि अत्यन्त आवश्यक छ । यसैका कारण यहाँ मानवलगायत अन्य जीवका जीवनको आदिम अस्तित्वको पनि सम्भावना छ, जसको प्रमाण केही स्थानका पत्थारादीका मानव, गाई आदिका पादचिह्न विशेषले दिन्छन् ।

समग्रमा यहाँका प्राकृतिक सौन्दर्यले भरिपूर्ण विभिन्न पर्यटकीय स्थलको विकास तथा मुक्तिनाथभन्दा दर्जनौँ गुणा बढि मात्रामा रहेका दुल्लु वरिपरिका ज्वाला आदिको प्रचारप्रसार गरी जडीवुटी, खनिज एवम् जलसम्पदा, कृषि, पशुपालन र तिनसँग सम्बन्धित उद्योगादिको स्थापनासँगै यहाँका प्रकृति, संस्कृति, इतिहासादि सम्पदालाइ जीवन र जीवनवृतिसँग जोडेर देश र देशवासीलाई समुन्नत र सुखी बनाउन सकिने निश्चित छ ।