बाढीपिडित बस्तीमा निमोनिया त्रास, धमाधम बालबालिका विरामी पर्दै
सुर्खेत ।
कमला परियार सुर्खेतमा आएको विक्रम संवत २०७१ ले घरबार विहीन बनाएकी पीडिता हुन । उनका तीन छोरा र एक श्रीमानसहित पाँच जनाके परिवार पालमुनि बस्न थालेको साढे पाँच वर्ष भन्दा बढि भयो ।
अहिले उनका दुइ छोरालाई टाइफाईड भएको छ । वीरेन्द्रनगरमा राती ८ डिग्री भन्दा कम तापक्रम छ । विहान ९ बजेसम्म बाक्लो हुस्सु लाग्ने गरेको छ । ‘तलमाथिबाट आउने चिसोले मेरा दुइ छोरा गणेश र सन्नी टाइफाइडबाट ग्रसित भएका छन् ।
उपचारमा अहिलेसम्म ३५ सय रुपैंया खर्च भइसक्यो । दुवै छोरा अहिलेपनि विद्यालय जान सकेका छैनन । श्रीमानको ज्यालादारीबाट बचाएको केहि पैसा ऋण खोजेर भएपनि उपचार गरायौं ।’ उनी भन्छिन्, ‘पालमाथिबाट राती खस्ने शीत तथा भूईको चिसोले हामीलाई बस्नै गाह्रो भयो । आफ्नो जग्गा भएको भए ऋण कर्ज गरेर भएपनि एक तले घर बनाउँथ्यौं । त्यहि जहान बच्चा हुर्काउने थियौं । सरकारले दिने भनेको घर कहिले दिने हो अत्तो पत्तो छैन ।’ उनले चुनावताका भोट माग्न आउने, हामीलाई विश्वास दिलाउने तर जितिसकेपछि फर्केर पनि नहेर्ने गरेको गुनासो गरिन । ‘हाम्रो जिन्दगी पालमा नै बसेरजाला जस्तो भयो । चुनाव जितेकाहरु पनि यहाँ कोही आउँदैनन । अब अर्को पाली त भोट पनि म हाल्दिन ।’
२०७३ सालमा दुवै खुट्टा गुमाएका नरबहादुर रोकायाको पनि कम्ता गुनासो छैन सरकारबाट । ‘२०७१ सालमा हामीलेपाएको भनेको पचास हजार मात्र हो । त्यो बाहेक घरजग्गाका लागि एक रुपैंया पनि कहिँकतैबाट पाउन सकेनौं ।’ वीरेन्द्रनगरको महिला विकास केन्द्रमा बस्दै आइरहेका उनले भने, ‘प्रदेश सरकारले हामीलाई जग्गा दिन्छौं । नभए घर बनाइदिन्छौं भन्दै तथ्यांक लगेको एक वर्ष पुग्न लागेको छ । खोइ किन हो अहिलेसम्म हामीलाई यहि पालमा नै बस्नुपर्ने बाध्यता कायम छ ।’ करिब ५३ जना बालबालिका मध्ये आधा जसो चिसोका बारण विरामी परिसकेको उनको भनाई थियो ।
सोही बस्तीमा बस्दै आइरहेका दिपक शाहीको पनि पीडा कम छैन । गतवर्षको फागुनमा साथीको अटोमा चढेर फर्कदैं गर्दा उनी दुर्घटनामा परे । हाल उनको दुवै खुट्टामा फलामको रड राखिएको छ । ‘रड राखिएका कारण मैले ज्याला मजदुरी गर्न सकिरहेको छैन । ६० वर्ष माथिका बुवा कालिबहादुर शाहीकै भरमा पालिनुपर्दा कम समस्या भएको छैन ।’ उनी भन्छन्, ‘छोरा निर्मल दुइ हप्ता देखि विरामी भएको छ । तीन वर्षको उसलाई खोकी लागिरहेको छ । उपचार गराउन खोज्दा पैसा छैन । हामी जस्ता पीडितकालागि कसले सहयोग गर्ने ?’
सुर्खेतमा आएको उक्त बाढीबाट साढे नौ सय घरबार बगाएको थियो । अहिलेपनि सुर्खेतको बराहतालको गिरीघाट, पञ्चपुरी लगायतका स्थानमा बस्दै आइरहेका छन् । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ती बाढीपीडितहरुको समस्या समधान गर्ने भन्दै २०७६ बैशाख १७ गते ठूलो तामझामका साथ बाढी पीडित आवास निर्माण विशेष अभियान शुभारम्भ भएको थियो । नयाँ वर्षमा नयाँ सरकारले आफुहरुको मुहारमा खुशी ल्याउने बाढीपिडितहरुको सपना सपना नै भयो ।
केन्द्मा सरकारका व्यक्तिहरुले घर बनाइदिने आश्वासन दिएको राम कुमारी खत्री सम्झिनिछन् । ‘पुस महिना जान लागिसकेको छ । हरेक रात सरकारले बनाउने भनेको घरमा सुतिरहेको सपना पर्छन ।’ उनी भन्छिन्, ‘तर त्यो सपना कोल्टे फेर्दैमा सकिन्छ ।’ हाल केन्द्रमा १६ घर पालमुनि बसिरहेका छन् ।
यता, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले चालु आर्थिक वर्षको बजेट खर्च गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयले रोकेका कारण समस्या भएको बताए । ‘हामीले बाढीपिडतको आवासका लागि भन्दै पाँच करोड ९० लाख रुपैंया विनियोजन गरेका थियौं । उक्त बजेट अहिलेसम्म आर्थिक मामिला मन्त्रालयले रोकेको छ । उक्त बजेट खर्च गर्ने बाटो खुलेको छैन ।’ मन्त्री भण्डारीले भने, ‘अर्थ मन्त्रालयले बजेट रोकेको छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा ६१४ जनालाई घर निर्माणका लागि प्रति परिवार एक लाख पचास हजारका दरले हामीले उपलब्ध गराइ सकेका छौ । उहाँहरुले घर निर्माण गरिरहनु भएको छ ।’ मन्त्री भण्डारीले जमिन नहुनेका लागि २ लाख र घर बनाउन तीन लाख गरि प्रति परिवार पाँच लाख दिइने तथा जमिन हुने तर घर नहुनेका लागि प्रति परिवार तीन लाख दिने गरि परिष्कृत कार्यविधि पारित गरिसकेको बताए । उनले बाढीपिडितको समस्या समाधानकालागि अर्थ मन्त्रालयले बजेट खुला गरेको खण्डमा तत्काल काम सुचारु गर्ने उनको भनाई थियो ।
