२०८३, १७ असार बुधबार

बैक खाता छोरीका लागि कार्यक्रमको लागि गयो बजेट मन्त्रालयले पठायो झण्डै चार करोड बजेट

सुर्खेत।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बैंक खाता छोरीको, सुरक्षा जीवन भरिको कार्यक्रमका लागि कर्णालीका ७९ स्थानीय तहमा तीन करोड चौरासी लाख (झण्डै चार करोड) बजेट पठाएको छ । ‘कर्णालीमा बढिरहेको बालविवाह तथा भ्रुण हत्यालाई रोक्नका लागि सरकारले यो कार्यक्रम ल्याएको हो ।’ मन्त्री दल रावलले भने, ‘कर्णालीमा गत साउन एक गतेदेखि जन्मेका सबै छोरीकालागि खाता खोल्नबजेट अभाव नहोस भनेर कार्यक्रम सञ्चालन कार्यविधि २०७६ निर्माण गरि स्थानीय तहको खातामा पैसा पठाएका हौं ।’ उनका अनुसार कुनै स्थानीय तहलाई आठ लाख कसैलाई ६ लाख तथा कसैलाई त्यो भन्दा पनि कम बजेट पठाइएको छ । गाउँ तथा नगरपालिकामा छोरीको जन्मेको तथ्यांकलाई आधार मान्दै बजेट पठाइएको मन्त्री रावलको भनाइ थियो । ७९ वटा स्थानीय तहका लागि सरकारले तीन करोड चौरासी लाख पठाएको हो । सुर्खेत, दैलेख, सल्यान, रुकुमपश्चिम लगायतका जिल्लाका स्थानीय तहका लागि ६ लाख देखि आठ लाख रुपैंया पठाइएको हो भने अन्य दुर्गम जिल्लाका लागि तीन लाखका दरले रुपैंया पठाइएको मन्त्री रावलको भनाई छ ।
कुन स्थानीय तहमा कति गयो बजेट ?
सुर्खेतका नौ वटा स्थानीय तहले मन्त्रालयबाट आठ लाख रुपैंयाका दरले ७२ लाख रुपैंया पठाएको हो । वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नपा, गुर्भाकोट नपा, पञ्चपुरी नपा, लेकबेसी नपा, चौकुने गाउँपालिका, बराहताल गापा, चिंगाड गापा र सिम्ता गाउँपालिकाले आठ लाखको दरमा पैसा प्राप्त गरेका हुन ।
सल्यानका स्थानीय तहले ६ लाखको दरमा रुपैंया प्राप्त गरेका छन् । जिल्लाका शारदा नपा, बाघचौर नपा, बनगाड कुपिण्डे नपा, कालिमाटी गापा, त्रिवेणी गापा, कपुरकोट गापा, छत्रेश्वरी गापा, ढोरचौर गापा, कुमाख गापा र दार्मा गाउँपालिकाले ६ लाखको दरले ६० लाख रुपैंया पाएका हुन ।
यस्तै, रुकुम पश्चिमका ६ ओटा स्थानीय तहले पनि ६ लाखको दरले पैसा पाएका छन् । जिल्लामा ३६ लाख रुपैंया गएको छ । मुसिकोट नपा, चौरजहारी नपा, आठबीसकोट नपा, वाफीकोट गापा, त्रिवेणी गापा र सानीभेरी गाउँपालिकाले उक्त रकम पाएका हुन ।
दैलेखका ११ स्थानीय तहले पनि ६ लाखको दरले रकम पाउँदा जिल्लामा ६६ लाख रुपैंया गएको छ । नारायण नपा, दुल्लु नपा, चामुण्डाविन्द्रासैनी नपा, आठबीस नपाले पनि ६ लाखका दरमा पैसा पाएका हुन । यस्तै भगवतीमाई गापा, गुराँस गापा, डुंगेश्वर गापा, नौमुले गापा, महावु गापा, भैरवी गापा र ठाँटीकाँध गाउँपालिकाले पनि सोही दरमा बजेट पाएका हुन । जाजरकोट जिल्लाका सात स्थानीय तहमा पनि ६ लाखको दरले बजेट गएको छ ।भेरी नपा, छेडागाड नपा, त्रिवेणीगाड नपा, कुशे गापा, बारेकोट गापा र शिवालय गाउँपालिकाले उक्त रकम प्राप्त गरेका छन् ।
डोल्पा जिल्लाका स्थानीय तहले तीन लाखका दरले बजेट प्राप्त गरेका छन् । जिल्लाका ठूलीभेरी नपा, त्रिपुरासुन्दरी नपा, डोल्पोबुद्ध गापा, सेफोक्सुण्डो गापा, जगदुल्ला गापा, मुडकेचुला गापा, काइके गापा र छार्का ताङासोंग गापाले सो बजेट प्राप्त गरेका हुन ।
जुम्लाका चन्दनाथ नपा, कनका सुन्दरी गापा, सिंजा गापा, हिमा गापा, तिला गापा, गुठीचौर गापा, तातोपानी गापा, पातारासी गापाले तीन लाखको दरले बजेट पाएका हुन । यस्तै, कालिकोट जिल्लाका खाँडाचक्र नपा, रास्कोट नपा, तिलागुफा नपा, पचालझरना गापा, सान्नी त्रिवेणी, नरहरीनाथ, कालिका, महावै र पलाताँ गाउँपालिकाले तीन लाखको दरमा बजेट पाएका हुन । मुगुका छायानाथ रारा नपा, मुगु कार्मारौं गापा, सोरु गापा, खत्याडा गाउँपालिकाले पनि तीन लाखको दरले पैसा पाएका हुन ।
हुम्लाका सिमकोट, नाम्खा, खार्पुनाथ, सर्केगाड, चंखेली, अदानचुली, ताजाकोट गाउँपालिकाले तीन लाखको दरमा बजेट पाएका हुन ।
कति हुनेछ जम्मा छोरीको खातामा
खातामा सुरुमा १ हजार रुपैयाँ जम्मा गरिने छ । उक्त खातामा खातावाला २० वर्ष नपुग्ने बेलासम्म झिक्न नमिल्ने गरी मासिक ५०० रुपैयाँका दरले रकम जम्मा गरिनेछ । खाता खोलिएका छोरीहरु २० वर्ष पुग्दासम्म उनको खातामा प्रतिव्यक्ति एक लाख २१ हजार रुपैयाँ जम्मा हुन्छ । ब्याजसहित भने खातामा करिब दुई लाख रुपैयाँ जम्मा हुनेछ । यद्यपी आवश्यकता र परिस्थितिका आधारमा यो रकमलाई हेरफेर गर्न मिल्ने कार्यविधिमा उल्लेख छ । चालु आर्थिक वर्षभित्रै कम्तिमा ११ हजार छोरी जन्मिने अनुमान प्रदेश सरकारको छ ।