ट्राफिक प्रहरीको कर्णालीमै नयाँ अभ्यासः मापसे गरी सवारी चलाउने २५ जनाले लिए कक्षा
सुर्खेत । कर्णाली प्रदेशमा सवारी दुर्घटनाको संख्या एकदमै धेरै छ । पछिल्लो समय पनि कर्णालीमा सवारी साधन दुर्घटना बढिरहेको छ । दुर्घटनाका कारण धेरैले ज्यान पनि गुमाएका छन् ।
धरैको संख्यामा घाइते पनि भइरहेका छन् । सवारी साधनको दुर्घटनाको मुख्य एउटा कारणको रूपमा सवारी चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाउनु रहेको ट्राफिक प्रहरीले बताउँदै आएको छ । तर, जिल्ला ट्राफिक प्रहरी कार्यालयले एउटा फरक र कर्णालीमै नयाँ कार्यको थालनी गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मादक पदार्थ सेवन गरी सवारी चलाइरहेको पाइएका सवारी चालकहरूका लागि एक घण्टाको उत्प्रेरणात्मक कक्षा सञ्चालन गरेको हो ।
कुनै पनि सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएमा उसको कागजात जफत गरी कागजात लिन कक्षा अनिवार्य गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ‘मादक पदार्थको सेवन गरेर सवारी चलाइरहेको पाएमा हामीले उनीहरूलाई एक हजार जरिवानासहित प्रमाणपत्र पनि जफत गर्छाैं’, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक निरीक्षक हरिभक्त रोकायाले भने, ‘हामीले प्रमाणपत्र जफत गरिएका सवारी चालकलाई प्रमाणपत्र लिन उत्प्रेरणात्मक कक्षामा बोलाउँछौँ । कक्षा लिन नआए थप कारबाही गर्छौं ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार यस्तो अभ्यास कर्णाली प्रदेशमै पहिलो हो । भने नेपालमा यसभन्दा अघि काठमाडौंमा मात्र यस्तो अभ्यास भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले यस्तो अभ्यास महिनामा दुईपटक शनिबार गर्ने जनाएको छ । गएको १४ मंसिरमा १५ जनालाई कक्षा दिएको प्रहरीले गएको शनिबार १० जनालाई यस्तो कक्षामा सहभागी गराएको हो । ‘पहिलोपटक १४ गते शनिबार १५ जनालाई कक्षा दियौँ, गएको शनिवार १० जनालाई दिएका थियौँ ।’ महिनामा दुई वटा शनिबार यस्तो अभ्यास गर्ने योजना छ’, प्रहरी सहायक निरीक्षक रोकायाले भने ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार कक्षामा मादक पदार्थ सेवन नगरी सवारी साधन चलउन उत्प्रेरणा दिने खालका भिडियो र मादक पदार्थ सेवनका कारण भएका दुर्घटनाका भिडियो देखाएर उनीहरूलाई मादक पदार्थ सेवन नगरी सवारी साधन चलाउन उत्प्रेरणा दिइएको हो ।
कक्षामा सहभागीले एक घण्टाको ट्राफिक प्रहरीको कक्षाले आफ्नो ठूलो लापरबाहीलाई स्पष्ट पारेको बताए । कक्षा लिइसकेपछि उनीहरूले अबदेखि कहिल्यै मादक पदार्थ सेवन गरेर सवारी नचलाउने प्रतिवद्धता पनि गरेका छन् । कर्णाली प्रदेशमा सवारी दुर्घटनाको अधिकांश मुख्य कारण मादक पदार्थ सेवन गरेर सवारी चलाउनु भइरहेको वेला सुर्खेतमा गरिएको यस्तो अभ्यास कर्णालीका सबै जिल्लामा गर्नुपर्ने देखिन्छ ।
