कर्णालीमा उम्मेदवारी मनोनयन खार्पुनाथमा नेकपा र काँग्रेसको चुनावी भीडन्त हुँदै
सुर्खेत ।
कर्णाली प्रदेशको हुम्ला र सल्यान जिल्लामा चुनावी माहौल तातेको छ । बाजा गाजासहित नेकपा र नेपाली काँग्रेसका उम्मेदवारहरुले बुधबार मतदान अधिकृतको कार्यालयमा मनोनयन गराएका हुन । मंसिर १४ गते हुने उपनिर्वाचन हुम्लाको खार्पुनाथमा उपाध्यक्षका लागि र सल्यानको कुमाख गाउँपालिका–५ का वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।
त्यसैका लागि सल्यानमा पाँच जनाले उम्मेदवारी दिएका छन् । कुमाख गाउँपालिकाका अध्यक्ष दिलमाया बुढा मगरका अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट वडाअध्यक्षमा धर्मे बुढाथोकी ‘ज्वाला’, नेपाली काँग्रेसबाट खड्क बोहोरा, राप्रपाबाट गोपाल शाह, स्वतन्त्रबाट चित्र गिरी र बलविर बस्नेतले उम्मेदवारी दिएका हुन ।
हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकामा रिक्त उपाध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी मनोनयन गराएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए । उनका अनुसार नेपाली काँग्रेसबाट ताराकुमारी शाही, नेकपाबाट रुपा शाही र राप्रपाबाट दिपबहादुर शाहीले मनोनयन दर्ता गरेका हुन ।
दाबी आफ्नै
हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली काँग्ेसले जीत सुनिश्चित भइसकेको दाबी गरेको छ । नेपाली काँग्रेसका हुम्ला जिल्ला सभापती जयपति रोकायले स्थानीय तहको निर्वाचनमा साविक एमाले र माओवादी मिलेर लडेका भएपनि आफ्नो पार्टीले जित निकालेको बताउँदै त्यहाँ आफैंले जित्ने दाबी गरे ।
यता, नेकपा सल्यानका अध्यक्ष गोविन्द पुनःले वडाअध्यक्षमा आफूहरुको जीत सुनिश्चित भएको बताए । ‘पहिलो माओवादी दोश्रोमा एमाले र तेश्रो स्थानमा नेपाली काँग्रेस थियो ।’ उनले भने, ‘अहिले हामी एक भएको अवस्थामा सोझै जित निकाल्छौं । हामीलाई काँग्रेसले रोक्नै सक्दैन ।’