२०८१, १ कार्तिक बिहीबार

आधारविनाको प्राविधिक धार, एक चर्चा

बाँकेको ज्ञानदीप माध्यमिक विद्यालय, डलैपूर्वाको प्रधानाध्यापक टेकबहादुर सुनारले आफ्नो ब्यथा यसरी पोख्नु भयो – म प्रधानाध्यापक भएको विद्यालय कक्षा ९ देखि इलेक्ट्रीकल इन्जिनियरिङको पठनपाठन सञ्चालन हुने गरी अनुमति पाएको प्राविधिक धार सञ्चालित विद्यालय हो । मेरो विद्यालयमा कक्षा ६ देखि माथि एउटा पनि स्वीकृत दरबन्दी छैन । विज्ञान र गणित शिक्षक पनिछैनन् । इलेक्ट्रिकल इञ्जिनियरिङ पढाउने शिक्षकलाई नै सवै जिम्मा दिएका छौं । प्राविधिक धार सञ्चालनका लागि नेपाल सरकारबाट स्थानीय तह हुदै आउने शसर्त अनुदान माग गर्न जाँदा स्थानीय सरकारलाई यस बारेमा बुझाउनै सकिएको छैन ।

सवैभन्दा विडम्बना त, इलेक्ट्रिकल इञ्जिनियरिङ पठपाठन हुने मेरो विद्यालयमा विजुलीको लाइन नै पुगेको छैन । प्रधानाध्यापकका कुरा सुनेपछि गोष्ठीका धेरै साथीहरु हाँसे । मलाई भने मनमा अर्को चिसो पस्यो, हामीले केही गर्छ कि भन्ने अपेक्षा गरिएको प्राविधिक शिक्षाको पनि हरिविजोग बनाउदै रहेछौं । हामीले विद्यालय तहमा आरम्भ गरेको प्राविधिक शिक्षाभित्र यस्ता हसिमजाक र पिडाका विषयवस्तुहरु धेरै रहेछन् ।

 

प्राविधिक धार सञ्चालित विद्यालयका प्रधानाध्यापक र संयोजकहरु सहभागी भएको एकदिने गोष्ठीमा पुरैसमय दिएर बसेपछि यो कुराको बोध भयो ।

कक्षा ९ देखि पठनपाठन शुरु भइरहेको प्राविधिक धारको शिक्षा अन्तर्गत पाँच वटा क्षेत्रहरुमा कार्यक्रमहरु सञ्चालन गरिएको छ, जसमा सिभिल इञ्जिनियरिङ, कम्प्यूटर इञ्जिनियरिङ, इलेक्ट्रीकल इञ्जिनियरिङ, बाली विज्ञान र पशु विज्ञान पर्दछन् ।यसका लागि कोर्स डिजाइन गर्दा कक्षा ११ र कक्षा १२ सम्म विज्ञान संकायमा अध्ययन गरिने गणित बाहेक सवै विषयहरु समेटिएको छ । त्यसको अतिरिक्त विद्यार्थीहरुले एसइइको परीक्षा पछि तीन महिना, कक्षा ११ को परीक्षा पछि तीन महिना र कक्षा १२ को परीक्षा पछि ६ महिनाको प्रयोगात्मक क्रियाकलाप (ओजेटी) गरी जम्मा १ वर्षको ओजेटीको कोर्स पूरा गर्नुपर्ने हुन्छ ।

सरकारी विद्यालयहरुले सञ्चालन गरिरहेको यो प्राविधिक धारमा अध्ययन गर्ने चाहना भएका विद्यार्थीहरुले कक्षा ९ देखि नै उक्त धार छनौट गरी अध्ययन गर्नुपर्दछ । एसइइ पछि छनौट गरेर अध्ययन गर्न पाउने सुविधा विद्यार्थीहरुलाई छैन । यसरी प्राविधिक धारको पठनपाठन सञ्चालन गर्दै जाँदा केही गम्भीर चुनौति देखिएका छन् जसलाई समयमै समाधान गर्ने तर्फ पहल गरिएन भने हाम्रो प्राविधिक धारको शिक्षा नै धरापमा पर्ने देखिन्छ ।

सामुदायिक विद्यालयहरुमा सञ्चालन भइरहेको प्राविधिक धारको शिक्षाको पहिलो चुनौति भनेको यसको गुणस्तरको हो । हामीले कोर्स डिजाइन गर्दा जटिलताको हिसावले विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले अध्ययन गर्ने तहको बनाएछौं । विद्यार्थी भने तल्ला ग्रेडका भर्ना गरेछौं । यसले गर्दा कक्षा १२ को उपलब्धिको स्तर निराशाजनक देखिएको छ । यतिसम्म कि २५ प्रतिसत भन्दा पनि माथि उठ्न सकेको देखिदैन । अर्कोतिर विषयवस्तुको कठिनाइकै कारण कतिपय विद्यार्थीहरुले एसइइ पछि कक्षा ९ देखि अध्ययन गरिरहेको धारलाई छोडेर अर्को कुनै सजिलो धारमा भर्ना भइ अध्ययन गरिरहेको अवस्था छ । यसले गर्दा प्राविधिक धार सञ्चालनको आरम्भमै विद्यार्थी र शैक्षिक उपलब्धि दुवै घट्दै जानेगरी डिजाइन गरिएको प्राविधिक धारको शिक्षाको भविष्य उज्यालो देखिएन ।

यस बारेमा बालीविज्ञानमा विद्याबारिधी गरेका प्राविधिक शिक्षाका विज्ञ प्राध्यापक विष्णुप्रसाद भट्टराइसँग जिज्ञाशा राख्दा वहाँको भनाई थियो– ‘पाठ्यक्रम र कोर्स डिजाइन गर्ने मामलामा परोक्ष–अपरोक्ष किसिमले मेरो पनि भूमिका त छ । तथापि अन्तीममा सुझाव दिने क्रममा यो पाठ्यक्रम र कोर्सको कठिनाइ र शैद्धान्तिक पाटोलाई घटाइ प्रयोगात्मक विज्ञान ९ब्उउष्भिम क्अष्भलअभ० को डिजाइनबाट लैजानुपर्छ भनेर डा.टंकनाथ शर्मा सहितको टिमले सुझाव दिएका थियौं, तथापि कार्यान्वयन भएन ।’ वहाँको कुरा सुनेपछि मलाई झनै ताजुव लाग्यो– ‘यो देशका प्राविधिक शिक्षाको क्षेत्रमा विज्ञताको पहिचान बनाएका विद्वानहरुको विचारको कदर हुदैन भने कसको इशारामा पाठ्यक्रम र कोर्सको डिजाइन गरिन्छ त ?’ प्राध्यापक भट्टराईलाई पनि मलाई जस्तै ताजुव लागेर होला, भन्दै हुनुहुन्थ्यो – ‘भगवान जानून् ।’

कहिलेकाही त मलाई पनि भन्न मन लाग्छ, हाम्रो देशमा सम्बन्धित क्षेत्रका विज्ञहरुले काम नपाएर बस्ने र काम भने सत्ताका वरिपरिकाहरुले विज्ञता नभए पनि सम्पादन गर्ने प्रबृत्तिले देशका सवै क्षेत्र आक्रान्त देखिन्छन् । त्यस्तै प्रबृत्तिबाट जन्म भएको विज्ञताबाट डिजाइन गरिएको पाठ्यक्रम र कोर्सको सिकार भएकै कारण हाम्रो देशको विद्यालय तहको प्राविधिक शिक्षाको धार पनि जवान नहुदै मसानघाट पुग्ने शंका बढ्दैछ । कोर्सको डिजाइन गर्र्दा अब्बल दर्जाका विद्यार्थीहरुका निम्ति गर्ने, विद्यार्थी भर्ना गर्दा भने कतै भर्ना हुन नपाएका विद्यार्थीहरुलाई पनि अध्ययनको अवसर दिने गरी अध्ययन गराउन थालेपछि शैक्षिक उपलब्धि माथि उठोस पनि कसरी ? यही पारा हो भने केही दशक हाम्रो देशका लागि घोकाउने शिक्षा घाँडो भयो भने अव फेरि गरिखाने भनी ल्याइएको शिक्षा पनि केही दशकसम्म देशको लागि घाँडो हुने कुरामा सहजै रुपमा अनुमान गर्न सकिन्छ ।

एसइइ परीक्षा पछि गरिने तीन महिने ओजेटीलाई सर्टिफिकेटमा कतै पनि समावेश गर्न सकिएको छैन, जसले गर्दा त्यसको औचित्यतामाथि नै प्रश्न तेर्सिएको अवस्था छ । ओजेटी नसकिदै एसइइको नतीजा प्रकाशन भइसकेको हुन्छ । मलाई त लाग्छ, ओजेटीको मूल्याङकन गरी सर्टिफिकेटमा समावेश गरिनुपर्दछ र त्यसको उपयुक्त तरिकाले ग्रेडिङ पनि गरिनुपर्छ । बरु हालको कक्षा १० र कक्षा ११ मा भएको ३÷३ महिनाको ओजेटीको सट्टा कक्षा ९, कक्षा १० र कक्षा ११ मा हरेक कक्षामा २÷२ महिनाको ओजेटी राख्दा निकास निस्कने देखिन्छ । २ महिनाको ओजेटी गरियो भने एकातिर एसइइको नतीजा प्रकाशन नहुदै ओजेटी सम्पन्न गरेर ग्रेडसीटमा ओजेटीको गे्रड पनि समावेश गर्न सकिन्छ भने अर्कोतिर कक्षा १२ को पठनपाठन सुरु भइसक्दा पनि कक्षा ११ का विद्यार्थीहरु ओजेटीका लागि फिल्डमै हुने विडम्बनाको पनि अन्त गर्न सकिन्छ । यसो गर्न नसकिने हो भने प्राविधिक धारको नतिजा प्रकाशनको मितिलाई अलि पछाडि धकेल्नु पर्ने हुन्छ ।

एसइइमा अव्बल ग्रेड ल्याएको विद्यार्थी भएपनि कक्षा ११ बाट प्राविधिक धारमा प्रवेश गर्न नपाउने र कक्षा ९ बाट प्राविधिक धार पढ्दै आएकोले कमसल ग्रेड ल्याएपनि एसइइ पछिको प्राविधिक धारमा अध्ययन गर्न पाउने प्रावधान नै हाम्रो शैक्षिक उपलब्धि न्यून हुने कुरामा प्रमुख रुपमा बरदान भएको देखिन्छ । सरकारी विद्यालयमा सञ्चालन गरिएको प्राविधिक धारको अध्ययन गर्नुगराउनुको मर्म बुझ्दा यो तह माथिल्लो तहको प्राज्ञिक अध्ययन गर्नका लागि नभइ त्यही तहबाटै रोजगारी खोजेर जीवकोपार्जन गर्न चाहने विशेषगरी विपन्न बर्गका विद्यार्थीहरुका लागि हो भन्ने कुरा पनि यदाकदा उठ्छ । कुरा त्यसो हो भने त्यत्ति गाह्रो कोर्स किन डिजाइन गरिएको हो त ? प्राविधिक धारको विज्ञ विष्णु भट्टराइले भने जस्तै प्रायोगिक विज्ञानको ढाँचामा कोर्स निर्माण किन नगरिएको त ? कुरा कोटयाउदै जाँदा जवाफ उही ‘भगवान जानून्’ भन्दा अर्को आउने सम्भावना देखिदैन ।
अहिले देखि त प्राविधिक शिक्षा विस्तार गर्ने नाउमा कसैले दिएको निवेदनका भरका सम्भाव्यता अध्ययन नै नगरी अनुमति दिने काम भएको देखिन्छ । अनुमति हातमा लिएर विद्यार्थी भर्नाका लागि धेरै विद्यालयहरुले विज्ञापन गरेका छन् तथापि विद्यार्थीहरु न्यूनतम संख्यामा पनि नपाएको अवस्था छ । एउटा कुरा त अनुमति माग्नेले पनि अनुमति पाइयो भने सञ्चालनको लागि सम्भव छ कि छैन भनेर स्वाभिमानका साथ घोत्लिनु जरुरी छ । अर्को कुरा अनुमति दिनुपूव अनुमति दिने पनि कस्तो विद्यालयलाई केका लागि अनुमति दिदैछौं ? पूर्वाधारको अवस्था के छ ? सम्भाव्यता के छ ? आदि विषयमा न्यूनतम आधार बनाएर मात्र अनुमति दिनु पर्ने होइन र ? पछि होला भनेर विद्युत लाइन नपुगेकै विद्यालयमा पनि इलेक्ट्रीकल इञ्जीनियरिङको लागि अनुमति दिनु हास्यास्पद भएन र ? जुन विद्यालयले कक्षा ६ देखि माथि एउटा कुनै शिक्षक दरबन्दी विना नै विद्यालयको पठनपाठन जवर्जस्त किसिमबाट धकेलिरहेको छ, त्यस्तो विद्यालयलाई प्राविधिक धारको अनुमति दिंदा अवस्था के होला ?त्यस्ता विद्यालयहरुलाई मनग्गे अनुदान आवश्यक पर्ला कि नपर्ला ?स्थानीय तहले विना कुनै सम्भाव्यता अध्ययन कक्षा ११ र कक्षा १२ को अनुमति बाँडिरहेको भन्दा प्राविधिक धारको अनुमति बाँड्ने तरिकामा कुनै फरक देखिदैन ।

प्राविधिक धारतिर नियुक्त हुने शिक्षकलाई टिकाउन पनि त्यत्तिकै चुनौति देखिएको छ । सायद एउटा इञ्जिनियर विद्यालयमा गएर अध्यापन गर्छु भन्ने ध्येयले इञ्जिनियरिङ विषय अध्ययन गर्दैन होला । एउटा भेटनरी डाक्टर र कृषि विशेषज्ञको अवस्था पनि ठीक त्यही हो । त्यसैले पनि होला, प्राविधिक तिर लगातार २ वर्ष एउटै विद्यालयमा अध्यापन गरेको प्राविधिक तर्फको शिक्षक भेटाउन गाह्रो रहेछ । आउने र जानेको आवृत्ति उच्च रहेछ, जुन गतिलो विद्यालयको लक्षण होइन । यस्तो अवस्थामा उनिहरुको जीवनको उद्देश्य र शोख नै परिवर्तन गर्नका लागि सेवासुविधाको बढोत्तरी गर्नु पनि त्यत्तिकै जरुरी देखिन्छ ।तालिम र पेशागत विकासको प्रत्याभूति दिन सक्नुपर्दछ । विद्यालयको वातावरणलाई प्रविधिमैत्री बनाउनु पनि त्यत्तिकै आवश्यक छ । विद्यालयहरुका धार अनुसारका प्रयोगशाला र पुस्तकालय हुनु पनि झन अति जरुरी छ । यहाँ त एउटा कुखुरा सम्म पनि पाल्न नसकेकोलाई पनि पशु विज्ञानका सञ्चालनका लागि अनुमति दिएको देखिन्छ । एक कट्ठा जमीन नभएकोलाई पनि बालीविज्ञान सञ्चालनका लागि अनुमति दिएको देखिन्छ । बजेट विनियोजन, शशर्त अनुदानको रकम समयमै निकासा लगायत अनुमति दिने सवालमा समेत स्थानीय सरकारलाई बढि भन्दा बढि प्रशिक्षित र जिम्मेवार बनाउन पनि त्यत्तिकै जरुरी छ ।
सरकारी विद्यालयतिरको मात्र होइन सिटीइभिटीतिरबाट सञ्चालन भएका अठार महिने र तीन वर्षे प्राविधिक शिक्षाको अवस्था पनि राम्रो छैन । विद्यार्थीहरुले आर्जन गर्नुपर्ने दक्षता र सीप आर्जन गर्न नसकेको अवस्था छ । परीक्षा हल गएर अनुगमन गर्दा यो जनशक्ति स्वदेशमा काम गर्नका लागि भन्दा विदेशका जान लालायित भए झै महसुस हुन्छ । नेपालीपन देखिदैन उनीहरुमा ।मलाई त लाग्छ, उनिहरुभित्र देशप्रेम, भाषाप्रेम, मानवप्रेम, मानव मूल्यप्रतिको आस्था र आफ्नो कला र संस्कृतिप्रतिको प्रेम जस्ता सफ्ट स्किलका कुराहरु पनि फ्यूजन गरेर सिकाउनु पर्ने देखिन्छ । मलाई त लाग्छ, सफ्टस्किल भनेको प्राण हो र हार्डस्किल भनेको अस्थिपञ्जर हो । प्राण विनाको अस्थिपञ्जरको परिकल्पना गर्न थाल्यौ भने मसानघाटमा पल्टिएको मुर्दा जस्तै हुन्छ कि ? त्यस्तै परिकल्पना गरेर नै हाम्रो प्राविधिक शिक्षा घोडा बनाउने भन्दाभन्दै ऊट हुन थालेको हो कि ? यो बारेमा गम्भिर भएर समयमै सोच्नु आवश्यक छ । अन्यथा लगनपछिको पोतेका खासै अर्थ हुदैन । सवैलाई चेतना भया ।