२०८३, १७ असार बुधबार

कर्णालीमा प्रहरीको नयाँ अभ्यास: बालविवाह रोक्न पुरोहितलाई प्रशिक्षण

सुर्खेत ।
कर्णाली प्रदेशमा बालविवाहले भयावह अवस्था सिर्जना गरिरहेको बताउँदै प्रदेश प्रहरी कार्यालयले नयाँ अभ्यास सुर गरेको छ । प्रहरीले बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले कर्णालीका १० वटै जिल्लामा पुरोहितहरुलाई बुधबार कानूनी प्रशिक्षण दिएको हो । प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले पुरोहितलाई कानूनी रुपमा सचेत गराए बालविवाह न्यूनीकरणमा ठूलो मद्दत पुग्ने बताए ।

उनले विवाह गराउने मुख्य जिम्मेवारी पुरोहितहरुकै भन्दै अभिभावक र बालबालिका तयार भएपनि पुरोहितले कानूनी व्यवस्थालाई देखाएर विवाह गर्न इन्कार गरे त्यो विवाह नै हुन नसक्ने उनको भनाई छ । प्रदेश प्रहरी कार्यालय, सुर्खेतले चालू आर्थिक वर्ष २०७६÷७७ मा सल्यानमा बालविवाहका तीन मुद्दा दर्ता भएको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा सुर्खेत र दैलेखमा ७÷७, सल्यानमा ३ र जुम्लामा २ गरी १९ मुद्दा दर्ता भएका थिए ।

त्यस्तै, प्रहरीले चालू आर्थिक वर्षको हालसम्मको अवधीमा बालविवाह गर्ने १७ जोडीलाई अभिभावकको जिम्मा लगाएको छ । अघिल्लो वर्ष प्रहरीले ५९ जोडीको उद्दार गरेको थियो ।
प्रदेश प्रहरी प्रमुख जोशीले झण्डै पाँच सय जना हिन्दु, बौद्ध, मुस्लिम र इसाईका धर्मगुरुलाई बोलाएर कानूनी प्रशिक्षण दिएको जानकारी दिए । प्रशिक्षणमा सुर्खेतमा १ सय, दैलेखमा ३९, कालिकोटमा ४१, जुम्लामा ५३, मुुगुमा २५, हुम्लामा २३, डोल्पामा ५१,सल्यानमा ९२, जाजरकोटमा ३२ र रुकुम पश्चिममा २३ जना पुरोहित सहभागी थिए । सुर्खेतका अगुवा पुरोहित तिलकप्रसाद रिजालले बालविवाह, जातीय विभेद लगायतका कुरीतिको पक्षमा आफूहरु नरहेको बताउँदै कानूनी व्यवस्थाको पालना गर्न गराउन आफूहरु प्रतिबद्ध रहेको बताए ।
कानूनले बालविवाहलाई अपराधको रुपमा परिभाषित गरेको छ । मुलुकी फौजदारी संहिता, २०७४ मा बालविवाह गर्ने, गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु. तीस हजारसम्म जरिवाना हुने व्यवस्था छ । प्रहरीले पुरोहितहरुलाई यही व्यवस्थाबारे जानकारी गराउन जिल्ला–जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।